"/>
काठमाडौं – “कतिन्जेलसम्म तपाईँहरूले आँखामा पट्टी बाँधिरहनु हुन्छ हो?” युएसएआइडीले ब्लु डायमन्ड सोसाइटीलाई दिएको बाँकी ८ करोड रुपैयाँको विषयमा स्वयं दातृ संस्थाका प्रतिनिधिको मुखबाट आएको भनाइ हो।
“हामीले त ८ करोडको पारदर्शिता मात्रै मागेका थियौँ, धन्यवाद पत्र त खोजेका थिएनौँ”, हाल काठमाडौँमा बसेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको अभियानमा क्रियाशील ‘लिड नेपाल’ झापा दमककी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला)ले भन्दै थिइन्,”अरूलाई थाहा छैन होला, तर मलाई थाहा भएपछि मैले उठाइरहेको छु यो आवाज।”
तर, त्यसको सट्टा ब्लु डायमन्ड सोसाइटीले पारदर्शिता सुनिश्चित गर्ने साटो युएसएआइडीलाई धन्यवाद दिने पत्र सार्वजनिक गर्यो। सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले (नागरिकतामा नाम अर्कै) जवाफ दिन चाहिनन्। उनले प्रकाश निरौलालाइ देखाइन। जब नुमा लिम्बुले “प्रकाश जिको कुरा होइन” भनिन्, त्यहीबेला भूमिका श्रेष्ठ एक्कासि उठिन् र भनिन्,”म एउटा प्रस्ताव राख्छु मायाको पहिचानलाई। सुन्नुहोस् है, प्रस्ताव राख्छु,” भन्दै होहल्ला गर्दै भनिन्,”मायाको पहिचान र ब्लु डायमन्ड मिलेर यो पहिचान मिडियालाई कारबाही गरौँ।”
जबकि, त्यहाँ मिडियाको विषयमा कुनै छलफल नै भइरहेको थिएन। विषय थियो, ब्लु डायमन्ड सोसाइटीभित्रकै अनियमितता, गुपचुप साधारणसभा, र समुदायबाट समुदायकै शोषण। त्यो पनि समुदायकै जुलुससहितको उपस्थिति र प्रहरी सुरक्षा व्यवस्थाबीच।
सन्ध्या लामाले पनि भनिन्,”नयाँ नयाँ पुस्तालाई समेटेर अब एजीएम गर्नुपर्छ।” तर भूमिका रोकिइनन्। उनले मिडिया विरुद्धको प्रस्तावलाई जोड दिइरहिन्।
अनि प्रश्न उठ्छ,युएसएआइडीको ८ करोडको हिसाब माग्दा मिडियामाथि आक्रमणको प्रस्ताव किन? उत्तर स्पष्ट छ,पहिचान मिडियाले एचआइभी परियोजनाका लागि छुट्टाइएको उक्त रकम गायब भएको विषयमा समाचार सार्वजनिक गरेको थियो।
यदि समुदायको नाममा व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्य थिएन भने ८ करोडको जवाफ दिन किन नसकिने? “मेन्टल हेल्थ”को नाममा सुकुटीबीचमा माइन्ड फ्रेस गरेको फोटो सोसाइटीको पेजमा सार्वजनिक गर्न सकिन्छ, तर ८ करोडको हिसाब मुखले पनि भन्न नसकिने?
जसरी व्यक्तिगत रमाइलोका तस्बिरहरू सार्वजनिक गरिएका छन्, त्यसरी नै युएसएआइडीको रकमसम्बन्धी पारदर्शिता देखाउनु, नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि काम गर्ने गैरसरकारी संस्था ब्लु डायमन्ड सोसाइटीको दायित्व होइन र?
पारदर्शिता खोज्दा मिडियामाथि आक्रमण किन?
पहिचान मिडियाले विगत १३ वर्षदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूका हरेक गतिविधिहरू निरन्तर रूपमा प्रकाशन गर्दै आएको छ। यो मिडिया सन् २०१२ मा स्थापना भएको हो। तर, भूमिका श्रेष्ठले “२०१२ भन्दा अगाडि पहिचान मिडियाले यस्ता विषयमा लेखेको थिएन, त्यसपछि मात्रै किन लेख्न थाल्यो?” भन्ने प्रश्न गरिन्।
जब मिडिया नै थिएन, तब लेख्न सक्ने कुरै भएन। तर भूमिकाले त्यो तथ्य हेर्नै चाहिनन्, न मितिको ख्याल गरिन्, बरु एकोहोरो रूपमा पहिचान मिडिया र त्यहाँ कार्यरत पत्रकारको नाम लिएर आक्रोश पोखिरहिन्।
सन् २००८ देखि निरन्तर अध्यक्ष रहेकी पिंकी गुरुङले भने पहिचान मिडियालाई आफ्नो संस्थापक अध्यक्ष सुनिल बाबु पन्तसँग सम्बन्ध बिग्रनुको कारण बताइन्। आफूलाई कहिले तेस्रोलिंगी, कहिले “जन्मँदै महिला जन्मेको हुँ” भन्नसमेत पछि नपर्ने पिंकीले पारदर्शिता खोज्दै आएका पन्तलाई “पहिचान मिडिया” को कारण सम्बन्ध बिग्रेको भनेर दोष लगाइन्।
पन्तले संस्थाका नाममा किनिएको दुई वटा गाडी थन्क्याएर राखिएकोप्रति चिन्ता व्यक्त गर्दा, पिंकीले त्यो पनि समुदायकै कारण भएको दाबी गरिन्। उनले भनिन्, “दुनियाँको आँखा लाग्छ, टायर पन्चर गरिदिन्छन्, सिसिटिभीको तार काटिदिन्छन्, यस्तो उच्छृङ्खल समुदाय हो के गर्नु!” भन्दै उनले समुदायलाई नै दोष दिन पछि परिनन्।
संस्थाभित्रको पारदर्शिता, लैङ्गिक पहिचानमा एकरूपता लगायतका विषयमा पटक–पटक छलफल गर्न पिंकी, मनिषा र भूमिकाले अस्वीकार गर्दै आएका थिए। सुरक्षाकर्मीको उपस्थितिमा पुगेका सुनिल बाबु पन्तसहितका प्रतिनिधिहरूमाथि उनीहरू आँखा छलेर दोष थोपार्ने, आरोप लगाउने र विषय घुमाउने प्रयासमै लागेका देखिन्थे।
कार्यकारी निर्देशक मनिषा ढकालले पहिचान मिडियामाथि “पीत पत्रकारिता” गरिरहेको आरोप लगाइन्। अन्य विषयमा संवाद गर्दा उनले यो सम्पूर्ण छलफलको विषय नै पहिचान मिडिया र पत्रकार माधव दुलालमाथिको आरोप रहेको भन्दै विषयान्तर गर्न खोजिन्।
मनिषाले “मैले तलब ३ लाख पाउँछु भनेर पहिचान मिडियाले लेख्यो”, भन्दै आपत्ति जनाइन्। तर, यदि ३ लाख होइन भने कति हो? त्यसको उत्तर दिन उनले चासो देखाइनन्। बरु समाचारको खण्डन गर्नमा मात्र केन्द्रित भइन्।
सुरक्षाकर्मीको उपस्थिति नभएको भए, मनिषा र भूमिका पहिचान मिडियाका पत्रकारमाथि शारीरिक आक्रमणमा उत्रने सङ्केत समेत देखिएको थियो।
उनीहरूलाई समुदायको हक–अधिकारभन्दा पनि, समुदायको नाममा हुँदै आएको रजगज अन्त्य होला कि भन्ने चिन्ताले आक्रोशित बनाएको स्पष्ट देखिन्थ्यो।
लैङ्गिक पहिचानको नाममा अवसरको खेल?
लैङ्गिक पहिचानमा अहिलेको विवाद कस्तो छ भने,छोरा जन्मेकाले महिलाको र छोरी जन्मेकाले पुरुषको नागरिकता लिन पाउनुपर्ने माग, हर्मोन थेरापी, र लिङ्ग प्रत्यारोपण जस्तो जटिल शल्यक्रिया गराउने अभियान। यही अभियान स्वयं समुदायबाटै आलोचित भइरहेको छ। तर, प्रश्न र आक्षेप भने पहिचान मिडियामाथि लगाइँदैछ।
“लिङ्ग भएकै व्यक्तिलाई महिलाको नागरिकता दिनु कति उचित हो?” यो प्रश्न पहिचान मिडियाले बारम्बार उठाउँदै आएको हो। “स्वस्थ व्यक्तिलाई जटिल शल्यक्रिया गराएर बिरामी बनाउने अभियान लैङ्गिक पहिचान प्राप्त गर्ने नाममा हो?” यो प्रश्न पनि स्वयं समुदायका सदस्यहरूबाट उठेकै कारण मिडियाले सार्वजनिक रुपमा उठान गर्दै आएको हो।
यथासम्भव तथ्यमा आधारित प्रश्नहरू राख्दा जथाभाबी हर्मोन सेवनले अकालमा मृत्यु भएका केसहरूको समाचार सम्प्रेषण गर्दा पनि पिंकी गुरुङ, मनिषा ढकाल र भूमिका श्रेष्ठले पहिचान मिडियामाथि आक्रोश पोखेका थिए। अहिले त पारदर्शिताको मामिलामा प्रश्न उठाउँदा मिडियामाथि कारबाहीको धम्की समेत दिन थालेका छन्।
लिङ्ग परिवर्तन, हर्मोन थेरापी, वा जन्मले पुरुष भए पनि महिलाको नागरिकता लिने या महिलाबाट पुरुष हुने चाहना व्यक्तिगत हक अधिकारको विषय हो,कसैले त्यसको विरोध गरेको छैन। तर, दातृ निकायबाट त्यसैका लागि भनेर अनुदान ल्याई अभियानकै रूपमा चलाउनु कति उचित हो? यतिबेला यो प्रश्न तीव्र रूपमा उठिरहेको छ।
यसै सन्दर्भमा, स्वयं लैङ्गिक पहिचानमा विकृति भोगिरहेका व्यक्तिहरूले आवाज उठाउन थालेका छन्। समावेशी मञ्च नेपालका अध्यक्ष तथा तेस्रोलिंगी नागरिकता लिएका बद्री पुनले सार्वजनिक कार्यक्रममा प्रश्न गरे,“ट्रान्स म्यान (जन्मँदा महिला) र ट्रान्स वुमन (जन्मँदा पुरुष) सँगै सुतेर गर्भवती भयो भने त्यसको सामाजिक तथा कानुनी उत्तरदायित्व कसले लिन्छ?”
उनको भनाइ थियो,“जन्मँदा महिला वा पुरुष नै भएका, तर विदेशी भाषाको ट्याग भिरेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा घुसेका नक्कलीहरूकै कारण सक्कलीहरू पीडित भइरहेका छन्।” आफूलाई पायोनियर भन्ने संस्थाहरूले यसको जवाफ दिनुपर्दैन?
भूमिका श्रेष्ठको कुरा पनि त्यत्तिकै चर्चामा छ। उनले सार्वजनिक रूपमा स्वीकार गरेकी छन्,“मैले सुरुमा पुरुषको नागरिकता लिएको थिएँ, त्यसपछि अन्यको, र लिङ्ग प्रत्यारोपण पछि महिलाको नागरिकता लिएको छु।” अर्थात्, उनीसँग तीन वटा फरक नागरिकता रहेको कुरा उनी स्वयंले बताएकी हुन्।
तर, यस्तै प्रक्रिया पहिल्यै अपनाएकी मोनिका शाही भने ब्लु डायमन्डबाट आउट भइन्। सुरुमा “अन्य”को पासपोर्ट लिएर मोनिका आउट हुने, पछि त्यही “अन्य”को प्रयोग गरेर भूमिका अवसर पाउने? यो प्रश्न पहिचान मिडियाले होइन, स्वयं मोनिका शाहीले सार्वजनिक कार्यक्रममा राखेकी थिइन्।
त्यसपछि भूमिका श्रेष्ठले लिङ्ग परिवर्तन गरेर महिलाको नागरिकता लिएपछि त्यो अवसर पनि उनैले पाइन्। तर, उनीभन्दा पहिला लिङ्ग परिवर्तन गरेका केही सदस्यहरू भने बेघर बने, सडकमा पुगे। ती सडकमा पुगेका पीडितहरूले प्रश्न गरे। र त्यही आवाजलाई पहिचान मिडियाले समाचारमा ठाउँ दियो।
अब प्रश्न उठ्छ,के पीडितहरूको आवाज नसुनी, अवसरको खातैखातले भरिएकी भूमिकाको मात्र गुणगान गाउनु पर्थ्यो मिडियाले? आज पीडितको आवाज बुलन्द गर्दा मिडियामाथि कारबाहीको धम्की आउनु,के यथार्थलाई दबाउने कुप्रयास होइन?
उनीहरू तयारीका साथ बसेका थिए, विषयलाई अन्तै मोड्ने, छलछाम गर्ने नियतसहित। त्यसैबीच पिटर पनि बोले। उनले पहिचान मिडियाले नखुलेका समुदायका व्यक्तिको नाम सार्वजनिक गरेको भन्दै आक्रोश पोखे। “आफ्नो कन्सर्न बिना फोटो प्रकाशित गरे, कारबाही गर्छौँ,” भन्ने सम्मको धम्की उनले पनि दिए।
उनले २०७२ सालको महाभूकम्पको प्रसङ्गसमेत ताने। त्यतिबेला नर्वेजियन परियोजना अन्तर्गत सञ्चालित मिडिया कार्यक्रममा संलग्न पत्रकार माधव दुलाल थिए, जसका बुबाको निधन वैशाख १२ गतेको भूकम्पमा भएको थियो।
दातृ निकायबाट ब्लु डायमन्ड सोसाइटीमार्फत प्राप्त सहयोग रकममध्ये कति वितरण भयो भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन। तर सोसाइटीकै निर्णयअनुसार, संस्थामा कार्यरत भूकम्पपीडित परिवारका सदस्यहरूलाई १ लाख रुपैयाँका दरले राहत दिने भनिएको थियो। त्यही राहत दिन उनीहरू दुलालको भत्किएको घरसम्मै पुगेका थिए। त्यसबेला पहिचान मिडियाले सार्वजनिक गरेको समाचारको लिङ्क अझै उपलब्ध छ।
तर प्रश्न उही हो, भूकम्प पीडितको नाममा प्राप्त रकम कति थियो? कति जनालाई वितरण गरियो? अहिलेसम्म यसको स्पष्ट विवरण सोसाइटीले दिएको छैन।
नेपाल सरकार र दातृ निकायहरूबाट प्राप्त अनुदान र सहयोग रकममा अनियमितता भएको आरोप लागेपछि जवाफ दिनुको सट्टा सोसाइटीको नेतृत्व पछिल्लो समय लैङ्गिक पहिचानकै विषयमा विवाद निकाल्न थालेको छ। वास्तविक पीडितको आवाज उठाउने माध्यम बनेको मिडियालाई नै आक्रमण गर्न थालेको छ।
तर पहिचान मिडिया समुदायकै सदस्यबाट प्राप्त प्रमाण, तथ्य र सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दै आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नाममा स्थापना भएको संस्थामा मात्रै खुल्ने, बाहिर नखुल्ने कस्तो पहिचान हो? सार्वजनिक मञ्चहरूमा प्रश्न उठेको यो पहिलो होइन।
समुदायको लिड अर्गनाइजेनशको लिडर मनिषा ढकाल आफैँले पुरुषको नागरिकता लिएर अरूलाई महिलाको लिन लगाउनु कति उचित हो? यो प्रश्न समुदायबाटै उठिरहेको छ। विरोधमा बोले कामबाटै निकालिदिने त्रासमा राख्न सफल छिन उनी।
सरकारले नखुलेका व्यक्तिलाई के आधारमा पहिचान दिने? कस्तो अधिकार दिने? यो प्रश्नमा मनिषा स्वयं जवाफविहीन छन्।
ब्लु डायमन्डका वर्तमान नेतृत्वले पहिचान मिडियाका कारण संस्थापक सुनिल बाबु पन्तसँग सम्बन्ध बिग्रिएको बताउँदै आए पनि, पन्तले भने त्यसको खण्डन गरे। “समलिङ्गी विवाहको अन्तरिम आदेश आइसकेपछि काठमाडौं जिल्ला अदालतमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डे विवाह दर्ता गर्न गएका थिए, त्यहीबेला सम्बन्ध टुटेको हो,” पन्तले भने, “ब्लु डायमन्डले वास्ता गरेन। म मात्रै पछि लागिरहनुपर्ने त छैन नि। इमेल, म्यासेज, फोन सबै गरियो, कुनै उत्तर आएन।”
पन्तका अनुसार, माया र सुरेन्द्र काठमाडौं जिल्ला, उच्च, हुँदै सर्वोच्च अदालतसम्म धाए। अन्ततः दोर्दी गाउँपालिकामा गएर विवाह दर्ता गरे। “हामीलाई त ब्लु डायमन्डबाट सहयोग पाइएन, अरूलाई गर्छन् भन्ने आभास नभएपछि उनीहरू आफैँले ‘मायाको पहिचान नेपाल’ खोलेका हुन्। मैले खोलेको होइन,” पन्तको भनाइ छ।
पिंकी गुरुङले संस्थाको विषयमा पहिले नै सूचना प्राप्त भएको दाबी गरिन्। तर पन्तले भने, “सूचना लिएर बस्ने, तर सल्लाह नगर्ने। मसँग सल्लाह गर्नुभएको थिएन। इमेल पठाइरहे। तर कहिल्यै जवाफ आएन। म मात्रै कति पछि लाग्नु?”
“इमेल फर्काउनु भएको हो भने प्रमाण दिनुहोस्, तर छैन। इच्छै छैन भने, म के मुख देखाएर आइरहनु?”
पन्तले हालको विवादको जड सोसाइटीको साधारण सभामा आफूलाई नबोलाएको र पारदर्शिता नहुनु भएको बताए। “बोलाउनु पर्दैन भनेर छुट पाइँदैन। सक्ने हो भने मिलेर काम गरौँ। म पदको लोभले आएको होइन। नभए, ब्याक सपोर्टमा ५० वटा सङ्घसंस्थाहरू छन्, जसले पनि काम गर्न सक्छन्। सबै काम फन्डिङमै भर पर्नुपर्छ भन्ने छैन।”
“भवन बनिसकेपछि साँचो हस्तान्तरण गरेर म हिँडेको हुँ। अहिले लाजिम्पाटको भवन बन्द भएको देख्दा, समुदायलाई नै दिइएको भए हुन्थ्यो भन्ने लाग्छ। गाडी यत्तिकै थन्किएको देख्दा पनि दुख लाग्छ। टौदहको जग्गा प्रयोगविहीन अवस्थामा देख्दा झनै पीडा हुन्छ,” पन्तले भने।
र, यो सम्पूर्ण घटनाक्रम पहिचान मिडियाको युट्युब च्यानलमा भिडियोसहित अवलोकन गर्न सकिन्छ।
ब्लु डायमन्डभित्र आन्तरिक विस्फोट : समुदायबाटै शोषण अन्त्यको माग
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.