"/>
काठमाडौं – भृकुटीमण्डपमा बुधवारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको यो एक्स्पो साउन २५ गतेसम्म चल्नेछ।
एक्स्पोमा ५० भन्दा बढी ब्रान्डका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक नयाँ ३५ सवारीसाधन सार्वजनिक गरिएकाे आयोजकले जनाएको छ। नाइमाले यसलाई नेपालको इतिहासमै सबैभन्दा ठुलो अटो एक्स्पो भनेको छ। एक्स्पो अवधिभर १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।
एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको मनोबल उच्च बनाउन स्थिर नीतिको पक्षमा रहेको बताए।
‘बजेट निर्माण गर्दा निजी क्षेत्रसँग र उनीहरूको छाता सङ्गठनसँग धेरै छलफल र संवाद गर्यौँ,’उनले भने,‘यो अर्थमन्त्रीले होइन, निजी क्षेत्रले बनाएको बजेट होस् भन्ने चाहना थियो, त्यसैअनुसार बजेट बनाइएको हो।’
नीतिगत अस्थिरताले उद्योग–व्यवसायमा पर्ने प्रतिकूल असरबारे सरकार सचेत रहेको भन्दै अर्थमन्त्री पौडेलले स्थिर नीतिका आधारमा बजेट निर्माण गरिएको बताए।
‘सरकारको ध्यान निजी क्षेत्रको मनोबल कसरी उठाउने, आत्मविश्वास र रोजगारी कसरी सिर्जना गर्ने भन्ने कुरामा केन्द्रित छ,’ पौडेलले भने, ‘त्यसैले निजी क्षेत्रमैत्री र उनीहरूको मनोबल बढाउने गरी बजेट बनाएका छौँ।’

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताइन्।
सीटीईभीटीसँग सहकार्यमा नाइमाले दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको भन्दै उनले यो कार्यक्रमले नेपाली युवाका लागि समावेशी र भविष्य उन्मुख रोजगारी सुनिश्चित गर्ने विश्वास व्यक्त गरिन्। अध्यक्ष वैद्यका अनुसार अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको छ।
बुधवारको उद्घाटन सत्रमा बोल्दै उनले भनिन्, ‘यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाएको छ। यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौँ नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको छ।’
हरित प्रविधिमा आधारित सवारीसाधनको आगमनसँगै चार्जिङ पूर्वाधार, प्राविधिक तालिम र नवप्रवर्तनमा आधारित अवसरहरू सिर्जना भएको उल्लेख गर्दै वैद्यले भनिन्, ‘हामीले विद्युतीय सवारीसाधनको आयातसँगै देखिएको नयाँ अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँगकाे सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौँ।’
नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा काम गरिरहेको भन्दै उनले गुणस्तरीय सेवा, जनशक्ति विकास तथा सहरदेखि गाउँसम्म सवारीसाधन र सेवा पुर्याउने दिशामा नाइमाले थप क्रियाशीलता देखाउने बताइन्।

एक्स्पोमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था, सुरक्षा तथा आपत्कालीन सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पो–२०२५ मा प्रवेशका लागि विद्यार्थीहरूलाई रु.१०० र सर्वसाधारणका लागि रु.२०० टिकट शुल्क तोकिएको छ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो अवधिभर नेपाल पुलिस क्लबमा पाँच दिन नै सिकाइका सत्रहरू सञ्चालन गरिने बताए।
उनका अनुसार सिकाइ सत्रहरूमा विद्युतीय सवारीसाधनको प्रविधि, चार्जिङ प्रणाली, हरित ऊर्जा, सीप विकास र अटोमोबाइलसम्बन्धी ज्ञान आदानप्रदान गरिनेछ।
कार्यकारी निर्देशक दुलालले भने, “यो तहको सबैभन्दा ठुलो अटो एक्स्पो नेपालमा यसअघि भएको देखिँदैन।”
उनका अनुसार एक्स्पोको उद्देश्य केवल कारोबारमा सीमित नरही, मोबिलिटी क्षेत्रलाई चिन्न, बुझ्न र सहभागीहरूले आफूले मन परेका सवारीसाधन नजिकबाट अवलोकन गर्दै छनोट गर्न सकुन् भन्ने रहेको छ।
“हामीले कारोबारलाई धेरै प्राथमिकतामा राखेका छैनौँ,” उनले स्पष्ट पारे, “यो एक्स्पोको मूल उद्देश्य भनेकै मोबिलिटी प्रविधिबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर उपलब्ध गराउनु हो।”
दुलालले एक्स्पोले विद्युतीय तथा नवप्रवर्तनशील सवारी प्रविधिप्रतिको जनचासोलाई अझ बढाउने अपेक्षा गरिएको पनि उल्लेख गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.