काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५,००० भन्दा बढी दर्शकको आगमनले प्रदर्शनी स्थलमा दिनभरि उत्सवको माहौल छायो।
उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो।
१५,००० भन्दा बढी दर्शकको अप्रत्याशित उपस्थिति पश्चात् नाइमाको टिकट बेलुकी ७ बजे सम्म र प्रदर्शनी राति ८ बजे सम्म खुल्ने भएको छ।
उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। “गुणस्तरीय सडक पूर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रदर्शनी गरे पनि त्यसको सही सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्त्व दिएको छ,” उनले भने।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले नेपालको अर्थतन्त्रमा अटो मोबाइल उद्यमीहरूको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश पारे। वैद्यले भनिन्, “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौँ र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ। हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं।”
उनले भनिन्, “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्त्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।”

त्यस्तै मुरारकाले भने, “हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनी मात्र होइन, यो सफा, स्मार्ट र समावेशी यातायात प्रणालीतर्फको सामूहिक प्रतिविद्धताको सुरुवात हो। यो कार्यक्रम नेपालको मोबिलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो। आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईँहरूको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ।”
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.