निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संसदमा भिजिट भिसा प्रकरणको तारोमा लेखक र लामिछाने

संसदमा भिजिट भिसा प्रकरणको तारोमा लेखक र लामिछाने

509
SHARES

काठमाडौं – भिजिट भिसा प्रकरणमा भएको सङ्गठित अनियमितता र करोडौँको लेनदेन प्रकरण संसद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैको केन्द्रमा छ।

अध्यागमन विभागका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईको डायरीबाट करोडौँ रकमको भिजिट भिसा सेटिङको प्रमाण फेला परेको समाचार बाहिरिएको छ। भट्टराईलाई अख्तियारले निगरानीमा राखी अनुसन्धान गर्दै गर्दा गृह मन्त्रालयले सरुवा गरिदिएपछि आयोगले उनलाई तत्कालै कार्यालयबाटै पक्राउ गरेको थियो।

सहसचिव भट्टराईलाई अध्यागमन विभागको जिम्मेवारी दिने निर्णय गृहमन्त्री रमेश लेखककै निर्देशनमा भएको भन्दै गृह प्रशासनको भूमिकामाथि प्रश्न उठिरहेको छ।

संसदमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विरोध जनाइरहेका छन्।

अनुसन्धानमै रहेका भट्टराईमाथि अख्तियारले पटक–पटक पत्र पठाउँदा पनि गृह मन्त्रालयले कुनै चासो नदिएको, विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी एकै दिन फिर्ता गरिएको र मुद्दा खेपिसकेका अधिकृत विमल पौडेललाई गृहमन्त्रीको सचिवालयमा राखिएको विषयमा विपक्षी दलहरूले गम्भीर प्रश्न उठाएका छन्।

भिजिट भिसा प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि विपक्षी दुई दलले जेठ १३ गतेदेखिको विरोध अझै अन्त्य गरेका छैनन्।

अख्तियारले पनि भिजिट भिसा प्रकरणको छानबिन गरिरहेको बताएको छ। तर, निष्कर्षमा नपुगेकाले अहिले केही भन्न नसकिने अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए।

बुधवारको प्रतिनिधिसभा बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले बैठक बहिष्कार गरे।

संसद् अवरोध गर्दै आएका रास्वपा सांसदहरूलाई लक्षित गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, रास्वपा कै सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको कार्यकालमै भिजिट भिसामा सबैभन्दा बढी मानिस पठाइएको भन्दै नैतिकताको प्रश्न उठाए।

शर्माले गृहमन्त्री लेखकलाई समेत आक्षेप लगाउँदै सहकारी ठगी प्रकरणका अभियुक्त जीवी राई अझै पक्राउ नपर्नुको कारण स्पष्ट पार्न माग गरे।

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले व्यङ्ग्यात्मक शैलीमा रास्वपा र राप्रपाको संसद् अवरोधप्रति असन्तुष्टि जनाए। रास्वपाले उठाएको प्रश्नमा कुनै तथ्य नभएको उनले बताए।

तर, रास्वपाका प्रवक्ता मनिष झाले भने, कुलिङ पिरियड प्रकरणमा सभापति रामहरि खतिवडाको जिम्मेवारी देखिएको भन्दै नैतिकताको प्रश्न उठाए। उनले सोधे, “नाम लेखिएको छैन भन्दैमा उम्कन पाइन्छ?”

राप्रपाका सांसद रोशन कार्कीले सत्तापक्षको आलोचना गर्दै गृहमन्त्री लेखकसँग भिजिट भिसा प्रकरणमा जवाफ माग गरिन्।

संसदमा सत्ता र प्रतिपक्ष दलबीच यो दोहोरी पहिलो भने होइन। गत जेठ १३ गतेदेखि निरन्तर रूपमा सांसदहरू आरोप–प्रत्यारोपमा उत्रिरहेका छन्।

भिजिट भिसा प्रकरणमा अख्तियारले सहसचिव भट्टराईसहित पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताएको छ। आयोग स्रोतका अनुसार अब अध्यागमनका थप कर्मचारीहरू र गृह मन्त्रालयसँगको सम्बन्धबारे दोस्रो चरणको विस्तृत अनुसन्धानमा जुट्ने तयारी भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
509
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.