निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वोच्चको निर्णयबारे बेलायती सांसदको जवाफ : जैविक महिला भन्नेको व्याख्या, तर रूपान्तरित लिङ्ग पहिचान भएकाहरूको अधिकार यथावत्

सर्वोच्चको निर्णयबारे बेलायती सांसदको जवाफ : जैविक महिला भन्नेको व्याख्या, तर रूपान्तरित लिङ्ग पहिचान भएकाहरूको अधिकार यथावत्

2.4k
SHARES

लन्डन — बेलायतकी संसद् सदस्य एन्तोनिया बान्सले “जैविक महिला” भन्ने विषयमा बेलायती सर्वोच्च अदालतको पछिल्लो फैसलापछि लिङ्ग रूपान्तरण अधिकार र महिला सुरक्षासम्बन्धी आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गरेकी छन्।

उनले रूपान्तरित लिङ्ग पहिचान भएकाहरू (ट्रान्स समुदाय) सँग ऐक्यबद्धता जनाउँदै महिलाका अधिकारसँग जोडिएको आफ्ना अनुभव पनि साझा गरेकी हुन्।

सांसद बान्सले समलिङ्गी अधिकारकर्मी खकान कुरेशीले सोधेको प्रश्नमा जवाफ दिँदै लेखेकी छन्,“सर्वोच्च अदालतले १६ अप्रिलमा सुनाएको निर्णयमा समानता ऐन अन्तर्गत ‘लिङ्ग’ को अर्थ ‘जैविक लिङ्ग’ भन्ने स्पष्ट व्याख्या गरेको छ। यसको अर्थ, लिङ्ग रूपान्तरण प्रमाणपत्र भए पनि नभए पनि, कानुनी रूपमा व्यक्तिको जैविक लिङ्गकै आधारमा विचार गरिनेछ।”

त्यसपछि २२ अप्रिलमा महिला तथा समानता मामिलाकी मन्त्रीले संसदमा बोल्दै भनिन्,“यस निर्णयले सेवा प्रदायकहरूलाई स्पष्टता र आत्मविश्वास दिएको छ। स्वास्थ्य सेवा, जेल, खेलकुद र एउटै लिङ्गलाई लक्षित सहयोग समूहहरू जस्ता संवेदनशील स्थानहरूमा जैविक लिङ्गका आधारमा छुट्टै व्यवस्था आवश्यक छ।”

यसका लागि बेलायतको समानता तथा मानव अधिकार आयोगले चाँडै स्पष्ट दिशानिर्देश जारी गर्ने बताइएको छ।

तर मन्त्रीले जोड दिइन्,“रूपान्तरित लिङ्ग पहिचान भएका मानिसहरूलाई पनि कानुनी रूपमा सुरक्षा प्राप्त छ र उनीहरूले सम्मानसाथ, हिंसा र भेदभावबिनाको जीवन जिउन पाउनुपर्छ।”

लिङ्ग परिवर्तनलाई अहिले पनि ऐनले संरक्षित अधिकारका रूपमा मान्यता दिएको र एकल लिङ्गका स्थानहरूमा व्यवस्था गर्दा ती व्यक्तिको सम्मान खलबल्याउने काम हुनु नहुने उनको भनाइ थियो।

समानता तथा मानव अधिकार आयोगले सेवा प्रदायक, सरकारी निकाय र अन्य संस्थालाई आफ्नो कर्तव्य बुझ्न सजिलो होस् भनेर नयाँ दिशानिर्देश निर्माण गरिरहेको सांसद बान्सले जानकारी दिइन्।

“म विश्वास गर्छु, आयोगले विविध समूहको आवाज सुन्नुपर्छ र प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ,” उनले भनिन्।
त्यसपछि मात्रै मन्त्रीहरूले सार्वजनिक सेवा ऐनअनुसार सबै समानता मापदण्डको मूल्याङ्कन गरी मस्यौदालाई संसदमा छलफलका लागि लैजानुपर्छ भन्ने उनको सुझाव छ।

सांसद बान्स भन्छिन्, “रूपान्तरित लिङ्ग पहिचान भएका नागरिकका अधिकारहरू अटल छन्। उनीहरूलाई सम्मान र समान व्यवहार पाउनुपर्ने कुरा कानुनले स्पष्ट रूपमा सुनिश्चित गरेको छ।”

उनका अनुसार, रोजगारीको क्षेत्रमा उनीहरूमाथि हुने भेदभाव १५ वर्षभन्दा बढी समयदेखि गैरकानुनी भए पनि व्यवहारमा त्यो पूर्णरूपमा लागू भएको छैन।

“लेबर पार्टीले ल्याउन लागेको नयाँ श्रमिक अधिकारसम्बन्धी विधेयकले यी असमानता हटाउन सहयोग गर्नेछ,” उनले बताइन्।

त्यस्तै, समलिङ्गीहरूलाई जबरजस्ती विपरीत लिङ्गी बनाउने अभ्यास (कनभर्जन प्राक्टिस) मा पूर्ण प्रतिबन्ध लगाउने र घृणास्पद अपराधसम्बन्धी कानुनलाई सबै वर्गका लागि समान बनाउने योजनाबारे पनि उनले जानकारी दिइन्।

महिला अधिकारका लागि छुट्टै स्थान आवश्यक

बान्सले अघिल्लो पेसागत जीवनमा महिला कैदखाना र घरेलु हिंसासम्बन्धी क्षेत्रमा काम गरिसकेकी छन्। “महिला हिंसाको सिकार भएकाहरू, लुगा फेर्ने, सुत्ने वा व्यक्तिगत हेरचाह आवश्यक हुने अवस्थामा गोपनीयता र सुरक्षाको आवश्यकता हुन्छ। यस्ता संवेदनशील अवस्थाहरूमा जैविक लिङ्गका आधारमा छुट्टै सुरक्षित स्थान आवश्यक पर्छ,” उनले भनिन्।

त्यसैले उनले सर्वोच्च अदालतको निर्णयलाई “स्पष्ट र व्यवहारिक” बताउँदै समर्थन जनाइन्।

तर सांसद बान्सले चेतावनी दिइन् “यो निर्णयलाई कसैको जित वा हारको रूपमा बुझिनु हुँदैन। रूपान्तरित लिङ्ग पहिचान भएका व्यक्तिको गरिमालाई अपमान गर्ने गरी छलफल हुनु अक्षम्य हो। शौचालय प्रयोगजस्ता विषयलाई लिएर अनावश्यक बहस गरिँदैछ, जुन गलत हो।”

उनले थपिन् “बेलायतमा हामी जहाँ सकिन्छ, सबैसँग मिलेर बस्ने अभ्यास गर्छौँ। ट्रान्स व्यक्तिहरूले आफूले चाहेजस्तै जीवन बाँच्न पाउने अधिकार उनीहरूसँग छ।”

बान्स भन्छिन् “मलाई लाग्दैन, सर्वोच्च अदालतको निर्णय स्विकार्नु ‘ट्रान्स विरोधी’ हो। तर पछिल्लो समय ट्रान्स समुदायका लागि निकै कठिन बनिरहेको छ भन्ने महसुस मलाई छ।”

उनले भनिन् “अब सर्वोच्च अदालतले कानुनी व्याख्या स्पष्ट गरिसकेको छ। हामी सबै संरक्षित समुदायको अधिकार सुरक्षित राख्ने गरी आयोगको मार्ग निर्देशन अनुसार सन्तुलित समाधान खोज्नुपर्छ।”

“म सरकारलाई सही नीति बनाउन सहयोग गर्नेछु र ट्रान्स समुदायसँग गरिएका वाचा पूरा गर्न प्रतिबद्ध छु।”

समाचार शेयर गर्नुहोस्
2.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.