"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एक लाख अवलोकनकर्ताको स्वागत गर्दै सम्पन्न भयो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’

एक लाख अवलोकनकर्ताको स्वागत गर्दै सम्पन्न भयो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’

2k
SHARES

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। श्रावण २१ गते सुरु भएको उक्त एक्स्पोलाई एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गरेका छन्।

सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कूटनीतिक नियोगका पदाधिकारी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको यो एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले बताइन्।


समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष वैद्यले भनिन्, “यो पछिल्ला ६ दिन एकदम अद्भुत रह्यो। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा म अत्यन्त उत्साहित छु। तपाईँहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठुलो अटो एक्स्पो बनाइदिनुभयो।”

उनले थपिन्, “एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिता, तपाईँहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोस, यी सबैले नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गरेको अनुभूति दिलाएको छ।”

एक्स्पोका प्रायोजक नेशनल इन्स्योरेन्स र एभरेस्ट बैङ्कका साथै सबै साझेदारहरूको सामूहिक योगदानले नै यो कार्यक्रम सफल भएको अध्यक्ष वैद्यले उल्लेख गरिन्।

यस अवसरमा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले भने, “एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाइका सत्रहरू सञ्चालन गरेर नाइमाले सो क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गरेको छ।” यी सत्रहरू सहभागीहरूका लागि निःशुल्क प्रवेशसहित नेपाल पुलिस क्लबमा, नेपाल र भारतका लब्ध प्रतिष्ठित विज्ञहरूको सहभागितामा सञ्चालन गरिएको थियो।

दुलालले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सरकार, सरोकारवालाहरू, दातृ निकायहरू तथा उपभोक्ताहरूको सहभागितामा आयोजना गर्ने योजना रहेको जानकारी दिए।

सवारी साधन मात्र प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठुलो एक्स्पो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय, चौथो दिन २१ हजार ५ सय, पाँचौँ दिन २२ हजार र छैटौँ दिन ७ हजार ८ सय दर्शकले अवलोकन गरेका थिए।

श्रावण २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि खुला रहेको यो एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा अवलोकनकर्ताको अप्रत्याशित भीड

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.