कालीकोट — “दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने नाराका साथ कालीकाेटकाे रास्कोट नगरपालिकामा २६ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ।
रास्कोट नगरपालिकाको आयोजना तथा हुरेण्डक नेपाल, सादा नेपाल र किर्डाक नेपाल कालीकोटको सहजीकरण, प्लान इन्टरनेश्नल नेपालको सहयोगमा पालिकास्तरीय सरसफाइ तथा र्यालि सहित २६ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो।
रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले नेपालको संविधानमा उल्लेखित युवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानुन निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढङ्गले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बताए।
युवा सम्बन्धी अन्तर्राष्ट्रिय मुद्दाहरूमा सरकारले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो।
नगर उपप्रमुख मनिराज बरालले वैदेशिक रोजगारीका लागि जाने भन्दा बाहेक अन्य कुरामा सोच्दै नसोच्ने अवस्थामा नेपाली युवाहरूलाई कसरी माटोसँग साक्षात्कार गर्ने सो बारे सोच्न आवश्यक रहेको बताए।
साथै उपप्रमुख बरालले युवाहरूलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर तर्फ लाग्नुपर्नेमा जोड दिए। देशमै बसेर सिप सिक्ने मात्र नभई काम पनि गर्नुपर्ने उनको भनाइ थियो।

हुरेन्डेक नेपालका कार्यक्रम संयोजक पदम हमालले युवाका विषयमा सङ्घसंस्थाले मात्र नभई स्थानीय सरकारले पनि विभिन्न सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए। उनले युवालाई सकेसम्म विभिन्न सिपमूलक आयआर्जन कार्यक्रममा लगाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्लान इन्टरनेश्नलका कार्यक्रम संयोजक दिक्षा भाटले युवाहरूका लागि लक्षित गरेर स्वरोजगार बनाउनका लागि धेरै प्रकारका तालिम दिनुपर्ने र युवाहरूलाई रोजगारीतर्फ अग्रसर गराउनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताइन।
संयुक्त राष्ट्र सङ्घले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ। युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गराउन यो दिवस मनाउने गरिएको छ।
रास्कोटमा आयोजित २६ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा ३५ जनाभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.