"/>
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै बिथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, राजनीति र नीतिमा उत्पन्न अस्थिरतालाई अन्त्य गरी नीतिगत स्थिरता कायम गर्ने, थालेका काम पूरा गर्ने, यस कार्यकालमा हुन नसक्ने कामलाई थाती राख्ने तथा मुलुकलाई बोझ बनेका असान्दर्भिक योजना र कार्यक्रम खारेज गर्ने सङ्कल्प गरेको स्मरण गराए।
उनका अनुसार, उनी चाहन्थे संसद्को रोष्टमबाट गरेका सङ्कल्पहरूमा प्रश्न होस्, तर संसद्लाई अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ।
प्रधानमन्त्री ओलीले यस्तो कपटी बहस देशको समृद्धिका लागि नभई, केही गरौँ भन्ने युवाहरूलाई पनि भरोसा दिलाउने उद्देश्यका लागि नभएको टिप्पणी गरे। बरु, यसले उनीहरूलाई गाली, निन्दा, आरोप र भर्त्सनाका सामग्री उत्पादनमा व्यस्त बनाउने तथा समाजलाई उत्तेजनामा ल्याउने नियत राखेको बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता र आवश्यकतासम्बन्धी विषय संसदमा उठाइएको देखेनन्, संसद् झूटो कथा सिर्जना गर्ने थलो बनेको र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने स्थलमा परिणत भएको टिप्पणी गरे।
सहकारीको बचत हिनामिना गर्ने मुद्दा अदालतले हेरिरहेको सन्दर्भमा उनले, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतको आदेशमा हिरासतमा पुगेको विषयलाई ‘राजनीतिक प्रतिशोध’ भन्नेमाथि आक्रोश व्यक्त गरे। “अदालतले सबैलाई प्रतिशोध साँधेको हो त? अरूमाथि भएको कानुनी कारबाही हो?” ओलीले प्रश्न गरे।
उनले लामिछानेप्रति कुनै राजनीतिक प्रतिशोध नभएको स्पष्ट पार्दै, पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा लागेको भिड देख्दा आफूलाई दया लागेको बताए।
रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै निरन्तर संसद् बहिष्कार गर्दै आएका छन्। १२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी दिँदै करिब ५ मिनेट रास्वपा र रवि लक्षित अभिव्यक्ति दिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्ने रास्वपाका नेताहरूलाई नै आरोपित गर्दै, प्रधानमन्त्री ओलीले यस विषयलाई उचालेर ‘इमोशनल ब्ल्याकमेल’ नगर्न आग्रह गरे।
यसपछि उनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ ध्यान केन्द्रित गर्दै, बेलाबेलामा सरकार ढल्ने अभिव्यक्ति दिने माओवादीलाई प्रश्न गरे “स्थिरता कति अप्रिय लागेको हो?” उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सरकार ढल्ने नदेखेपछि सरकारमा जान रुचि छैन’ भन्ने अभिव्यक्तिलाई पनि काउन्टर गरे।
उनले क्रिकेट रङ्गशाला नबनेको भन्ने प्रचण्डको अभिव्यक्तिको पनि खण्डन गरे। “सँगै जाने भए जाउ, कुरा मिलाएर जाउँला,”प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने।
ओलीले ८४ सम्म यो सरकार ढल्दैन भन्दै, अङ्ग्रेजी साहित्यको ‘सोलोमनको न्याय’ को कथा सुनाए। कथाअनुसार, दुई महिलाले एउटै बच्चालाई आफ्नो दाबी गरेपछि सोलोमनले बच्चालाई चिरेर बाँड्ने प्रस्ताव राखे। चिरिन नदिने आमालाई साँचो आमा ठहर गर्दै सोलोमनले निर्णय गरे। यो प्रसङ्ग सुनाउँदै, ओलीले लोकतन्त्र ज्यानभन्दा प्यारो भएको र त्यसका लागि कष्ट सहन तयार रहेको बताए।
राप्रपालाई लक्षित गर्दै उनले भने, “लोकतन्त्र मन नपर्ने पनि आउन सक्छन्। हामी अरूले फलाएको खेती भान्सामा लाभ लिन पसेका होइनौँ।” विगत र वर्तमान सरकारका कामको तुलना गर्ने जिम्मा सांसदहरूलाई दिँदै, आफ्नो ध्यान काममा रहेको स्पष्ट पार्दै ग्वार्कोको ओभरपासलाई संसदमा पनि ‘फ्लाईओभर’ नै भने।
संसदमा उनले बहुविवाहको कानुनबारे पनि प्रस्ट पारे। सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागेको हल्ला मात्रै भएको, सरकारलाई यसबारे जानकारी नै नभएको उनले बताए।
रविको जेल सरुवाको विवाद
रास्वपा सभापति लामिछानेले जेलमुक्त हुन अदालतमा दिएको निवेदन अस्वीकृत भएको छ। यसअघि उनले जेल सरुवाको निवेदन दिएका थिए, जसमा रुपन्देही जिल्ला अदालतले सहमति दिएको थियो। तर, भिजिट भिसा आरोप लागेका गृहमन्त्री लेखकको निर्देशनमा लामिछानेको जेल सरुवा रोकिएको आरोप रास्वपाले लगाउँदै आएको छ।
गृहमन्त्री लेखकले लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको जवाफ दिए।
उनले लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको जवाफ दिँदै, उनलाई कैदीबन्दीले पाउने सुविधाबाट वञ्चित नगरिएको दाबी गरे। उनका अनुसार, रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित तथा सबै कैदीले पाइरहेको सुविधा दिइएको छ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले कैलाली कारागारमा गत शुक्रवार भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। कारागार प्रशासनलाई जिम्मेवार बनाउन र कैदीबन्दीलाई श्रम तथा उत्पादनमा संलग्न गराउने रणनीति कार्यान्वयन गर्न भनिएको छ।
साथै, अपराधको प्रकृति र बन्दीको सङ्ख्याअनुसार फरक ब्लकको व्यवस्था, आवश्यक भौतिक संरचना निर्माण र प्रत्येक प्रदेशमा एक नमुना कारागार स्थापना गर्न समितिले निर्देशन दिएको छ।
सांसदहरूले ‘कैलाली कारागारभित्र हतियार कसरी पुग्यो?’ भनेर प्रश्न गरेपछि, गृहमन्त्री लेखकले घटनामा हतियार नभई इट्टा–ढुङ्गा प्रयोग भएको प्रारम्भिक तथ्याङ्क रहेको जवाफ दिए। उनका अनुसार, हाल कारागारको अवस्था सामान्य छ र प्रशासनको पहुँच सहज बनेको छ।
लेखकका अनुसार, देशभर महिला बन्दीहरू कारागार क्षमताअनुसार नै भए पनि पुरुष कारागारहरूमा भने ६७ प्रतिशतसम्म बढी कैदी राखिएका छन्। पुरुष ब्लकको क्षमता १६ हजार ६२५ भए पनि २७ हजार १६८ जना राखिएका छन् अर्थात्, १०० जनाको क्षमतामा औसत १६७ जना। महिला कारागारको क्षमता २ हजार ५०१ भए पनि हाल १ हजार ५५० जना मात्र छन्।
बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कारागारमा ‘नाइके’, ‘भाइनाइके’ र ‘चौकीदार’ राख्ने कानुनी व्यवस्था विश्वका कुनै देशमा नभएको टिप्पणी गरे।
उनका अनुसार, कैलाली कारागारको घटना आकस्मिक नभई, यसअघि नै सुरक्षा र व्यवस्थापनबारे पटक–पटक प्रश्न उठिसकेको विषय हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.