राजकुमार सिद्धार्थको जीवनमा सबै कुरा उपलब्ध थियो—सुनका महल, सुन्दर बगैँचा, सङ्गीत, नृत्य, मित्र, परिवार, सेवक–सेविका। बाहिरी दृष्टिले जीवन पूर्ण देखिन्थ्यो, तर उनको मनमा अझै खालीपन थियो। भिडभाडमा बसेर पनि आफू अलग्गै र असम्बद्ध महसुस गर्नु—यो अनुभव नै एक्लोपन (Loneliness) हो।
महलको वैभवले बाहिरी संसारको दुःख–कष्ट लुकाउन सकेन। रोग, वृद्धावस्था र मृत्यु अनि एउटा ‘अनागरिक’ देखेपछि सिद्धार्थले बुझ्न थाले—धन, शक्ति र सुख–सुविधाले मनको पीडा मेटिँदैन। त्यसैले उनले रातारात महल, परिवार र सम्पत्ति छोडेर वनको बाटो लागे।
वनमा उनले पहिलो पटक एकान्तबास (Solitude) अनुभव गरे—जहाँ न त दरबारको कोलाहल थियो, न त राजसी आराम। त्यहाँ मौन थियो, ध्यान थियो, आत्म–अन्वेषण थियो। यही एकान्तबासले संसारको दुःख, त्यसको कारण र त्यसबाट मुक्त हुने मार्ग बुझे। यही मार्गले उनलाई बुद्ध बनायो—ज्ञान, करुणा र शान्तिले भरिपूर्ण व्यक्ति।
ज्ञान प्राप्त गरेपछि बुद्ध फेरि समाजतर्फ फर्किए। यसपटक उनी भोज वा वैभवका लागि होइन, पीडामा परेकालाई सत्यको बाटो देखाउन र करुणा बाँड्न फर्किए।
************
एकान्तबास: स्वैच्छिक दूरी र आत्म–साक्षात्कार
एकान्तबास भनेको आफूले स्वेच्छाले रोजेको, उद्देश्यपूर्ण दूरी हो।
यो भाग्नु होइन, खोज्नु हो।
यो वियोग होइन, मुक्ति हो।
**********
धार्मिक परम्परामा एकान्तबास
बौद्ध धर्म: राजमहल छोडेर श्रवण बनेर जङ्गलमा ध्यान गर्दा करुणा र ज्ञान फुल्यो।
हिन्दु धर्म: सन्न्यासीहरूले गृहत्याग गरेर कुटीमा तपस्या गरी आत्मज्ञान प्राप्त गर्छन्।
इसाई धर्म: सन्त एन्टनी वा सन्यासिहरूले मठ वा मरुभूमिमा बिताएको जीवन परमेश्वरसँगको संवादको अभ्यास हो।
तान्त्रिक परम्परा: डाकिनी, योगिनी, अजिमा, देवीहरू—यी स्वतन्त्र महिलाहरू एकान्तबासमा ध्यान, साधना र तान्त्रिक अभ्यास गर्छन्।
उनीहरू समाज र प्रकृतिसँग सम्बन्ध राखेर आफ्नो शक्ति र ज्ञान सुदृढ गर्छन्।
सूफी परम्परा: ज़िक्र र रब्बसँगको नृत्यात्मक प्रेममा मन र आत्मा केन्द्रित हुन्छ।
ताओ धर्म: प्रकृति र साधारण जीवनसँग मिलेर स्वतःस्फूर्त जीवन बिताउने अभ्यास।
एकान्तबासले मन भित्र फर्किन्छ, बाहिरी कोलाहलबाट हट्छ। त्यहाँ आत्म-परिचय, ध्यान, प्रार्थना वा चित्तशुद्धिको अवसर हुन्छ।
********
एकान्तबास बनाम एक्लोपन
एकान्तबास: स्वेच्छा, उद्देश्य, शान्ति, आत्मसम्बोधन
एक्लोपन: अनिच्छा, अभाव, पीडा, आत्म-वियोग
भिडभाडमा रहेर पनि कोहीले तपाईँलाई नबुझ्दा वा नदेख्दा अनुभव हुने शून्यता एक्लोपन हो।
तर जब एकान्तबास रोजिन्छ, यो मन, आत्मा र चेतनालाई समृद्ध गर्ने साधना हो।
जब हामी एक्लोपनमा फस्छौँ, अनिच्छा, अभाव, पीडा, आत्म-वियोग सताउँछ, त्यसपछि पुनः सम्बन्ध, करुणा र आत्मविश्वासको पुल बनाउन आवश्यक हुन्छ।
********
अनागरिक र वनवास
‘नागरिक’ शब्द नगर वा बस्तीमा बस्ने मानिसको अर्थ दिन्छ। ‘अनागरिक’ भनेको त्यो व्यक्ति हो जसले गृहस्थ जीवनले सांसारिक चक्रमा बाँध्छ भनी विश्वास गर्छ। यसैले उनीहरूले घर, परिवार र नगर छोडेर वन–जङ्गलतर्फ प्रस्थान गर्छन्।
अनागरिकहरू पूर्ण एकान्तबासमा रहन्छन्—भिक्षुजस्तै मठमा सामेल हुँदैनन्, तर आफ्नै साधना, ध्यान र आत्म–अन्वेषणमा लाग्छन्।
एकान्तबास र एक्लोपनको बाहिरी दृश्य समान देखिए पनि, भित्री अनुभव विपरीत हुन्छ।
एकान्तबास: स्वेच्छा, उद्देश्य, शान्ति, आत्मसम्बोधन
एक्लोपन: अनिच्छा, अभाव, पीडा, आत्म-वियोग
*********
जब हामी एकान्तबास रोज्छौँ, हामी आफूलाई हराउने होइन, अझ स्पष्ट पाउने यात्रामा हुन्छौँ।
सिद्धार्थको जीवनले देखाउँछ—भीड र सुविधाले होइन, मौन र आत्म–खोजले जीवनको गहिरो प्रश्नको उत्तर पाइन्छ।
साँचो एकान्तबासले आफूलाई मात्र होइन, अरूलाई पनि उज्यालो दिन सक्छ।
(यो सामग्री संविधान सभा सदस्य सुनिल बाबु पन्तको फेसबुक पोस्टबाट लिएका हौँ। )
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.