निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘गौर हत्याकाण्डमा महान्यायाधिवक्ताको रायसहित अनुसन्धान अघि बढ्ने’

‘गौर हत्याकाण्डमा महान्यायाधिवक्ताको रायसहित अनुसन्धान अघि बढ्ने’

1.8k
SHARES

काठमाडौं – करिब १९ वर्षअघि रौतहट गौरमा भएको चर्चित हत्याकाण्डको अनुसन्धान हुने भएको छ। सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै २७ जनाको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा अब औपचारिक अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको हो।

२०६३ साल चैत ७ गते रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा भएको हत्याकाण्डमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीचको झडपका क्रममा २७ जनाको ज्यान गएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका नाममा परमादेश जारी गर्दै जाहेरीमा टेकेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान प्रक्रिया सुरु हुने भएको छ। यादवविरुद्ध उजुरी परेको छ।

घटनापछि पीडित परिवारले २०६४ चैत २८ गते नै प्रहरीमा किटानी जाहेरी दिएका थिए। तर, जाहेरी दर्ता गरेर प्रहरी त्यतिबेलादेखि अहिलेसम्म निष्क्रिय रहेको पीडित पक्षको आरोप छ।

सोही क्रममा तत्कालीन सरकारले पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिप्रसाद शर्मा, अनन्तराज डुम्रे लगायतका सुरक्षा अधिकारीहरू सदस्य रहेको एक जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त आयोगले घटनालाई नियोजित भन्दै संलग्न ६४ जनालाई दोषी ठहर्‍याएको थियो। आयोगको प्रतिवेदनमा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव घटनाका योजनाकार भएको उल्लेख छ। तर, प्रहरी प्रशासनले अहिलेसम्म ठोस कारबाही अघि बढाएको थिएन।

योबीचमा ०८० जेठ २१ गते पीडित परिवारका तर्फबाट त्रिभुवन साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। १३० जनाविरुद्ध छानबिन माग गरिएको उक्त रिटमा मागअनुसार सर्वोच्चले परमादेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।

सर्वोच्चको आदेश कार्यान्वयनका लागि नेपाल प्रहरीले महान्यायाधिवक्ता कार्यालयसँग राय–परामर्श लिने जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले कानुन बमोजिम प्रक्रिया अघि बढ्ने बताए।

गौर हत्याकाण्डमा जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित तत्कालीन वामपन्थी नेताहरूमाथि पनि दोषारोपण हुँदै आएको छ। घटनामा पूर्वसभासद बबन सिंह, मधेस प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायतका नेताहरूको नाम समेत जोडिएको छ।

समाचार शेयर गर्नुहोस्
1.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.