काठमाडौं – बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ। लामो समयदेखि प्रयास भैरहे पनि बालबालिकाको ज्यानै लिने यस रोगको उन्मूलन हुन सकेको थिएन।
केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो।
विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले रुबेला उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बधाई ज्ञापन गरेको छ।
सङ्गठनका दक्षिण–पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र मन्त्री पौडेललाई यो महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धि भन्दै बधाई व्यक्त गरिएको छ।
मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै यस कार्यमा सक्रिय सबै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरूलाई धन्यवाद दिएका छन्। ‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो,’ उनले भनेका छन्।
मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन्।
‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले अन्त्यमा भनेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.