"/>
काठमाडौं – भृकुटीमण्डपमा १७औँ संस्करणको ‘नाडा अटो सो’ चलिरहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु प्रदर्शनी छ दिनसम्म चल्नेछ।
यस वर्षको अटो सो ‘गो फर मोर’ भन्ने नारासहित आयोजना गरिएको छ, जसमा नवीनतम प्रविधि, भविष्यमुखी मोबिलिटी, ग्राहक संलग्नता र अटो क्षेत्रमा भएका सम्पूर्ण नयाँ उपलब्धिहरू प्रदर्शनमा राखिएका छन्।
यस पटकको अटो सोको मुख्य आकर्षण भने इतिहासमै पहिलो पटक प्रदर्शनमा राखिएको फ्लाइङ कार ‘डीपल ईभीटोल’ हो। प्रधानमन्त्री केपी शर्मा ओली, एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा डीपल ईभीटोल सार्वजनिक गरे।

यो फ्लाइङ कार सीधै माथि उड्न र भुईँमै फर्केर अवतरण गर्न सक्षम छ। कम्पनीका अनुसार, यसले भविष्यको दिगो यातायातको नयाँ विकासलाई देखाउँछ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले अटो सोको उद्घाटन गर्दै नेपालमा लगानी विस्तार र उद्यमशीलताका लागि उपयुक्त वातावरण बनिरहेको बताए। प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययन, आविष्कार र नयाँ–नयाँ विकासलाई नेपालले सहज रूपमा उपभोग गर्नुपर्नेमा जोड दिए।
उनले भने, “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन। अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन।”

प्रधानमन्त्रीले सडक, विमानस्थल, ऊर्जा तथा प्रविधि जस्ता पूर्वाधार पर्याप्त रूपमा बन्दै गरेको र सरकार निजी क्षेत्रलाई चाहिएको अवस्थामा सधैँ साथ दिन तयार रहेको बताए। साथै युवालाई उत्पादनमूलक र नवप्रवर्तनका काममा लाग्न आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लागू गरेको युरो–६ मापदण्डलाई सकारात्मक भने पनि तत्काल कार्यान्वयनले समस्या निम्त्याउन सक्ने भन्दै अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न अनुमति दिन आग्रह गरे।
उनले पछिल्लो समय विद्युतीय गाडी आयात बढिरहेको र नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर तथा वातावरणमैत्री उत्पादनको सम्भावना रहेको उल्लेख गरे।
ढकालले हालै सरकारले ३० भन्दा बढी उद्योग, लगानी र व्यवसायसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बनाएको बताए। उनका अनुसार, अटो सो जस्ता मेला महोत्सवले बजार र ग्राहकलाई जोड्न र नेपालको अर्थतन्त्रमा योगदान दिन महत्त्वपूर्ण भूमिका खेल्छन्।
ढकालले थप जानकारी दिँदै पछिल्लो दुई वर्षमा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको, कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको र बैङ्कको नाफामा वृद्धि भएको बताए। उनले महासङ्घको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको र यस कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको जानकारी दिए।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करणकुमार चौधरीले अटो सो केवल प्रदर्शनी मात्र नभई प्रविधि बुझ्ने अवसर भएको बताए। उनले रोजगारीदेखि राजस्व बढाउनसम्म नाडाले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर सवारी आयातसम्बन्धी मापदण्ड व्यवसायीमैत्री बनाउन आग्रह गरे।
अटो सोमा १९ वटा चार पाङ्ग्रे, १३ लाइट कमर्सियल, पाँच दुईपांग्रे सवारी ब्रान्ड सहभागी भएका छन्। त्यस्तै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैङ्क तथा वित्तीय संस्थाका स्टल पनि राखिएका छन्।
भिन्टेज गाडीहरू पनि यस पटकको आकर्षण बनेका छन्। मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.