काठमाडौँ – ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी)ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूसँग शेयरमा लगानी गर्ने नाममा रकम सङ्कलन गरेको खुलेआम स्वीकार गरेकी छिन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा आफैँ उपस्थित भई उनले शेयर खरिदका नाममा रकम उठाएको प्रस्टसँग स्वीकार गरेकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पिंकी र सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकाल आफैँ परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले आफूहरू ठगिएको गुनासो गरेका थिए।
प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले भने, “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू उजुरी दिन आउनु अघि नै पिंकी र मनिषा आफैँ प्रहरी परिसरमा आएका थिए। उनीहरूले पनि शेयरमा लगानी गरेको रकम डुबेको गुनासो गरेका थिए।”
पिंकी र मनिषाले आफ्नो रकम डुबेको दाबी गरे पनि औपचारिक उजुरी भने नदिएको प्रहरीले जनाएको छ। यता, पिंकीलाई रकम बुझाएका समुदायका सदस्यहरू भने रकम फिर्ता गराइदिन माग गर्दै जाहेरी लिएर प्रहरी परिसर पुगेका थिए। तर प्रहरी परिसरले “पिंकी र मनिषा पहिले नै त्यस्तै गुनासो लिएर आएका थिए, घटना पुरानो हो” भन्दै जाहेरी लिन अस्वीकार गरेको पीडितहरूले बताए।
२०७४ वैशाखदेखि रसुवा, धुन्चे–५ मा रहेको भनिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको नाममा करिब आठ वर्षअघि रसिद दिई रकम उठाएकी पिंकीले पछिल्लो समय (२०८१ वैशाख ३१ गते) इनर्जी इन्जिनियरिङ लिमिटेडको नाममा शेयर प्रमाणपत्र वितरण गरेकी थिइन्।
सो प्रमाणपत्रमा शङ्का लागेपछि सोधखोज गर्दा उनले प्रस्ट जानकारी नदिएपछि पीडितहरू उजुरी दिन पुगेका थिए। तर प्रहरीले भने, “पिंकी र मनिषा पहिले नै आएर आफूहरू उल्टै ठगिएका छौँ भनेका कारण” उजुरी लिन नमिल्ने जवाफ दिएको पीडितहरूको भनाइ छ।
पिंकीको नगद उठाउने काइदा, शेयर बिक्री गर्ने कम्पनी गायब
प्रहरीले उजुरी नलिएपछि पीडितहरू जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगे। त्यहाँ, पीडितहरूको आग्रहअनुसार तत्कालीन अध्यक्ष पिंकीलाई बोलाएर छलफल गरिएको थियो। सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेको सामु पिंकीले समुदायका सदस्यहरूसँग शेयरमा लगानी गर्ने नाममा रकम सङ्कलन गरेको स्वीकार गरेकी छिन्।
रकम उठाएको स्वीकार गरेकी पिंकीले एक साताभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएकी थिइन्। सहन्यायाधिवक्ता काफ्लेको भनाइ उद्धृत गर्दै पीडितहरूले भने, “रकम लिएको स्वीकार गर्नुभएको छ, आउँदो हप्ताभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नगरे कानुनी कारबाहीमा जान सकिने भन्नु भएको छ।”
पीडितहरूका अनुसार, २०७४ सालतिर डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी पिंकीले पार्टीसँग आबद्ध व्यक्तिको कम्पनी भनेर समुदायका सदस्यहरूलाई जलविद्युत कम्पनीको शेयर भर्न प्रेरित गरेकी थिइन्। ब्लु डायमन्ड सोसाइटीका कर्मचारीसहित समुदायका धेरै सदस्यसँग शेयरका नाममा रसिद वितरण गरी लाखौँ रुपैयाँ सङ्कलन गरेकी पिंकी अहिले रकम फिर्ता गर्न दबाबमा परेकी छन्।
पिंकीले शेयरका नाममा उठाएको लाखौं रकम हिनामिना भएको आशंका पीडितले एक वर्षअघि नै सार्वजनिक गरेका थिए। सो सम्बन्धी समाचार प्रकाशित भएपछि, अस्तित्वमै नभएको कम्पनीको नाममा नक्कली शेयर प्रमाणपत्र थमाउँदै उनले उम्कने प्रयास गरेकी थिइन्।
पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप
२०७४ सालमै विवेकशील आदर्श कम्पनीको नाममा रकम असुली गरेर रसिद दिएकी उनले समाचार सार्वजनिक भएपछि अर्को “इनर्जी इन्जिनियरिङ कम्पनी” को नाममा करिब एक वर्षअघि मात्रै शेयर प्रमाणपत्र वितरण गरेकी हुन्। तर उक्त कम्पनी समेत दर्ता–नवीकरण नभएको पत्ता लागेपछि पिंकीलाई रकम बुझाएकाहरू प्रहरीदेखि न्यायालयसम्म पुग्न बाध्य भएका हुन्।
पीडितहरूले हल्लीखल्ली गर्दै उजुरी दिन गएपछि मात्र पिंकीले आफ्नो पनि रकम डुबेको भन्दै सफाइ दिएकी हुन्। समुदायका अन्य सदस्यहरूले समेत उनले १० हजारदेखि २–३ लाख रुपैयाँसम्म उठाएको गुनासो गरेका छन्। धेरै जना अझै सार्वजनिक रूपमा उजुरी दिन पुगेका छैनन्।
शेयर प्रमाणपत्र दिइएको इनर्जी इन्जिनियरिङ लिमिटेडको ठेगाना थापाथली–११, काठमाडौं उल्लेख गरिएको छ। सो कम्पनी कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भएको र आर्थिक वर्ष २०७३/७४ मा दर्ता भएको प्रमाणपत्रमा लेखिएको छ।
डा. बाबुरामको नाम जोडिएपछि पिंकीले दिन थालिन हाइड्रोपावरको सेयर प्रमाणपत्र
एक पीडितले पिंकीलाई ११ हजार बुझाउँदा प्रमाणपत्रमा १० हजार मात्र संस्थापक शेयर भनेर लेखिएको थियो। अर्का पीडितलाई २२ हजार, अर्कोको ४४ हजार रुपैयाँ संस्थापक शेयरको प्रमाणपत्र दिइएको छ। केही महिना अघि निधन भएकी क्रिष्टिनाले समेत पिंकीलाई १ लाख रुपैयाँ बुझाएकी उनका साथीहरूले बताए।
पिंकीले रकम डुबेको थाहा पाउँदा–पाउँदै पनि दर्ता–नवीकरण नभएको कम्पनीको नाममा शेयर प्रमाणपत्र वितरण गरेको विषयमा भने कुनै स्पष्टीकरण दिएकी छैनन्।
दातृ निकायबाट प्राप्त हुने करोडौं रुपैयाँमा हालिमुहाली गर्दै आएकी पिंकीले सोझासिधा समुदायका सदस्यलाई शेयरमा लगानी गर्ने भन्दै लाखौं रुपैयाँ संकलन गरेकी थिइन्। तर, त्यसो गर्नुको वास्तविक कारण भने उनले अहिलेसम्म खुलाएकी छैनन्।
अनुसन्धानको दायरामा आउने निश्चित भएपछि उनी दलबलसहित बुधवार प्रहरी परिसर र बिहीबार सरकारी वकिलको कार्यालय पुगेकी थिइन्। त्यहाँ उनले आफैँ पनि पीडित भएको दाबी गरे तापनि रकम सङ्कलन गरेको स्वीकार गरिसकेकी हुँदा पीडितहरूले रकम फिर्ता पाउने आशा पलाएको बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.