काठमाडौं – सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य सडक मार्ग नागढुङ्गा–मुग्लिन खण्डमा चाडपर्व लक्षित विशेष कार्ययोजना ल्याउने तयारी भइरहेको छ।
दशैं, तिहार र छठ जस्ता ठुला चाडपर्वका बेला यात्रुहरूको असामान्य भीड हुने, सवारी चाप बढ्ने र सडक दुर्घटनाको जोखिम उच्च रहने भएकाले समयमै नियन्त्रण र व्यवस्थापनका उपाय अवलम्बन गर्न लागिएको हो।
यात्रुहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक डिभिजन र सम्बन्धित स्थानीय तहसँग सहकार्यमा तयारी भइरहेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए।
उनका अनुसार चाडबाडमा यात्रुलाई सहज आवागमन गर्न मिल्ने गरी विस्तृत कार्ययोजना ल्याउने तयारी गरिएको छ। हाल बाढी र पहिरोका कारण नागढुङ्गा–मलेखु–मुग्लिङ सडक अवरुद्ध भएमा तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि २४ घण्टा तयारी अवस्थामा हेभी इक्वीपमेन्ट तैनाथ गरिएको छ। साथै, दैनिक रूपमा सडक खाल्डा–खुल्डी मर्मत कार्य भइरहेको र दशैं अगावै बाटो मर्मत सक्ने लक्ष्य रहेको उनले जानकारी दिए।
गत वर्ष असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका–९, झ्याप्लेखोलामा सडक माथिबाट आएको ठुलो पहिरोमा परी तीन वटा गाडी पुरिँदा ३५ जनाको ज्यान गएको थियो। यस्ता दुर्घटनाका घटना पुनः नदोहरियोस् भन्ने उद्देश्यले विगतका पाठलाई आत्मसात् गर्दै योजनाबद्ध रूपमा काम भइरहेको पौडेलले बताए। उनका अनुसार झ्याप्ले खोला र कृष्ण भीर क्षेत्रमा हाल पहिरो नियन्त्रण तथा ‘स्लोप स्टेबलाइजेशन’ कार्य भइरहेको छ, जसका कारण त्यहाँको जोखिम क्रमशः कम हुँदै गएको छ।
त्यस्तै, महेश खोलामा खोला कटान नियन्त्रण कार्य सम्पन्न भइसकेको र टेवा पर्खाल निर्माण कार्य जारी रहेको छ। सडकमा धेरै पहिरो जाने सम्भावित स्थानको पहिचान गरेर सोही अनुसार काम अघि बढाइएको छ। चाडबाडमा यात्रुको चाप असामान्य रूपमा बढ्ने भएकाले दुर्घटना जोखिम पनि त्यत्तिकै बढ्ने सम्भावना छ। त्यसैले विभिन्न जोखिमयुक्त स्थानमा थप स्ट्यान्डबाइ उपकरणहरू राख्ने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए।
राजधानीसँग जोडिएको अर्को महत्त्वपूर्ण बिपी राजमार्ग पनि चाडबाडलाई लक्षित गरी सहज बनाउने तयारी गरिएको छ। साउन १ गतेदेखि रातिको समयमा बन्द हुँदै आएको राजमार्ग असोज १ गतेदेखि खुल्ने भएको छ।
सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विगतमा बन्द गरिएको यो राजमार्ग अब चाडपर्वका बेला राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाए। उनका अनुसार यात्रुहरूको सहज आवागमन र सम्भावित जोखिम कम गर्न आवश्यक तयारी तथा सतर्कता अपनाइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.