निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गत वर्षभन्दा उच्च आर्थिक वृद्धि, मुद्रास्फीति ४.०६ प्रतिशतमा सीमित

गत वर्षभन्दा उच्च आर्थिक वृद्धि, मुद्रास्फीति ४.०६ प्रतिशतमा सीमित

2k
SHARES

काठमाडौं — नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो दर ३.६७ प्रतिशतमा सीमित थियो।

राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष मुद्रास्फीति ५.४४ प्रतिशत थियो।

तथ्यांकअनुसार शोधनान्तर स्थितिमा पनि सुधार देखिएको छ। चालु आवमा शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष यो ५०२ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो।

त्यस्तै, आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो।

विप्रेषण आप्रवाह पनि उल्लेख्य मात्रामा बढेको देखिन्छ। नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले विप्रेषण बढेको छ। २०८२ असार महिनामात्रै १८९ अर्ब ११ करोड रुपैयाँको विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम ११७ अर्ब ७८ करोड रुपैयाँ थियो।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यसले १४.५ प्रतिशत वृद्धिदर देखाएको थियो।

त्यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८७४ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यो आय १५७१ अर्ब २४ करोड थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्या पनि बढेको छ। समीक्षा वर्षमा ५ लाख ५ हजार ९५७ ले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ३३ हजार ३०९ ले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष नयाँ श्रम स्वीकृति लिने सङ्ख्या ४ लाख ६० हजार १०२ र पुनः श्रम स्वीकृति लिने सङ्ख्या २ लाख ८१ हजार १९५ थियो।

राष्ट्र बैङ्कका अनुसार कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ। यो सञ्चिति १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने उल्लेख छ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २६७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। २०८१ असार मसान्तमा यो सञ्चिति २०४१ अर्ब १० करोड रुपैयाँमा सीमित थियो।

अमेरिकी डलरमा हेर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको कुल सञ्चिति २७.७ प्रतिशतले बढेर २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३०.६ प्रतिशतले बढेर २४१४ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा यो १८४८ अर्ब ५५ करोड थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ३६.६ प्रतिशतले बढेर २६३ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा यो १९२ अर्ब ५५ करोड थियो।

२०८२ असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ भने बैङ्क तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेर ५४ खर्ब ९८ अर्ब पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले ३२९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ भने २४३ अर्ब ९१ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ। यस अवधिमा ८६ अर्ब ८ करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १.४ प्रतिशत बराबर हो।

यसै अवधिमा सरकारले १२५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

२०८२ असार मसान्तसम्ममा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २६६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यसमध्ये बाह्य ऋण १४०१ अर्ब ४२ करोड र आन्तरिक ऋण १२६८ अर्ब २२ करोड रहेको छ।

राष्ट्र बैङ्कका अनुसार, चालु आर्थिक वर्षमा कुल सार्वजनिक ऋण जिडिपीको ४३.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो अनुपात ४२.७१ प्रतिशतमा थियो।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.