हिजोआज काठमाडौं मात्र नभई अन्य सहरहरू पनि जात्रामय देखिन थालेका छन्। नाग पञ्चमीदेखि देशका विभिन्न ठाउँमा जात्रा–पर्व देखाउने चलन चले पनि गाउँतिर भने युवाहरूको वैदेशिक पलायनका कारण परम्परागत नाच–गान लोप हुने अवस्थामा पुगेका छन्।
विशेषगरी नेवार समुदायका लागि यी जात्रा र झाँकीहरू केवल सांस्कृतिक प्रदर्शन मात्र नभई पहिचान, संस्कार र भाइचाराको प्रतीकसमेत हुन्। करिब २६० वर्षअघि भक्तपुरबाट व्यापारिक सिलसिलामा धौलागिरि क्षेत्रतर्फ बसाइँ सरेका नेवार समुदायले आफ्नो जात्रा, संस्कार र संस्कृति पनि साथमा ल्याएको पाइन्छ।
यद्यपि, यो परम्परा कहिले सुरु भयो भन्ने ठ्याक्कै तथ्याङ्क उपलब्ध नभए पनि कुस्मा बजार, फलेवास, कार्कीनेटा, बागलुङ बजार, गलकोट, बलेवा र बेनी बजारजस्ता नेवार समुदाय बाक्लो भएका स्थानमा केही दशकअघि सम्म लाखे नाच प्रदर्शन हुने परम्परा जीवित थियो।
नेवार समुदायका नृत्यहरू प्रायः देवीदेवता, तान्त्रिक विधि, भगवानप्रतिको श्रद्धा वा प्रकृतिप्रेमसँग जोडिएका हुन्छन्। तर, लाखे नाचलाई भने दानव–राक्षसको रूपमा प्रस्तुत गरिन्छ। नेवार समुदाय जहाँ पुगेको छ, त्यहाँ आफ्नै संस्कृति पनि लिएर गएको छ र आजसम्म त्यसको प्रवर्द्धन भइरहेको छ।
हामी सानैमा लाखे नाच सुन्नासाथ बेलुकी बजारतर्फ जाने, गल्ली–गल्लीमा ‘चे लाखे, चे लाखे’ भन्दै भाग्दै हिँड्ने, साथीहरूसँग रातभर लाखेसँगै रमाइलो गर्ने संस्कार थियो। गर्मी याममा लाखेलाई नाङ्लोले धपाउने वा पानी छर्केर खेल्ने चलन अझ रमाइलो मानिन्थ्यो।
ठूल्ठूला आँखा, बाहिर निस्केका दाँत, कम्मरसम्म लट्किएको लामो लट्टा, रङ्गीचङ्गी पोसाक, डरलाग्दो मुखौटा र बाजागाजासँग ताल मिलाएर नाच्ने लाखे सबै उमेरका मानिसलाई लोभ्याउँथ्यो। कुस्मा वरपर बसोबास गर्ने नेवार समुदायले पुराना संस्कारलाई निरन्तरता दिँदै लाखे नाचलाई भूते औँसीदेखि हरितालिका तीजसम्म देखाउँदै आएका छन्।
कुस्मामा दशौँ वर्ष अघिसम्म माथिल्लो र तल्लो समूहबीच फरक खालको लाखे देखाउने प्रतिस्पर्धा हुन्थ्यो र कहिलेकाहीँ विवादसम्म पुग्थ्यो। लाखे नाचसँगै भदौरे नाच, रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा, नागा नाच, बकुल्ला नाच, हनुमान नाचजस्ता विविध कार्यक्रमहरू पनि आयोजना गरेर पुरानो पुस्ताले नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्ने प्रयास गर्थे।
अहिले भने लाखे नाच मात्र केही हदसम्म देखिन्छ। यद्यपि, विभिन्न जातीय संस्था र युवाहरूले बेलाबेलामा यस्ता पर्वलाई निरन्तरता दिने कोसिस गरिरहेका छन्।
लाखे नाचको उत्पत्तिबारे विभिन्न किंवदन्ती प्रचलित छन्। इतिहासअनुसार उपत्यकाका राजा जयस्थिती मल्लका छोरा श्रीधर्म मल्लदेवको विवाह समारोहमा भैरवनन्द नृत्यसँगै पहिलोपटक लाखे नाच प्रस्तुत भएको उल्लेख पाइन्छ।
नेवार बस्तीभित्र मात्र सीमित नरही विदेशमा नेपाललाई सांस्कृतिक परिचय दिन पनि लाखे नाच र कुमारी प्रस्तुत गरिन्छ। अहिले त अन्य जातिले पनि यो नाच अनुकरण गर्ने गरेका छन्। तर, लाखे नाचलाई आफ्नै समय र पर्वमा प्रदर्शन गर्दा मात्रै यसको वास्तविक महत्त्व झल्किन्छ भन्ने धारणा बलियो छ।
काठमाडौं उपत्यकामा विशेष गरी इन्द्रजात्रामा प्रदर्शन हुने लाखेलाई ‘मजिपात लाखे’ भनिन्छ, जसलाई तान्त्रिक विधिबाट धार्मिक अनुष्ठान पूरा गरेर मात्रै नचाइन्छ। उपत्यकाबाहिर नेवार समुदाय बाक्लो बसोबास भएका सहरहरूमा नचाइने लाखेलाई भने ‘गुणिला लाखे’ भनिन्छ। यसलाई जुनसुकै समयमा नचाउन सकिन्छ र यसका लागि तान्त्रिक विधिको आवश्यकता पर्दैन। यसमा अन्य जाति समुदायको सहभागिता पनि सम्भव हुन्छ।
पहिले–पहिले किसानहरूले धान रोपाइँ सकेर फुर्सद पाउँदा लाखे नाच देखाएर मनोरञ्जन लिने गर्थे। त्यसैले यस नाचको मुख्य उद्देश्य रमाइलो र सांस्कृतिक एकता कायम राख्नु थियो। कला, भाषा, भेषभूषा र संस्कृतिको निरन्तरता रहेसम्म यस्ता जात्रा–पर्व जीवित रहनेमा शङ्का छैन। साथै, लाखे नाचले पर्यटन प्रवर्द्धनमा पनि ठुलो योगदान पुर्याउन सक्छ।
अन्त्यमा, अहिलेको पुस्तामा लाखे नाच र यसको सांस्कृतिक महत्वबारे पर्याप्त जानकारी नभएकाले यसलाई संरक्षण गर्न प्रचार–प्रसार, भिडियो प्रदर्शन र सामाजिक सञ्जालको व्यापक उपयोग आवश्यक छ। साथै, स्थानीय तह, गुठी संस्था र सरोकारवालाको सहकार्य पनि अनिवार्य देखिन्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.