समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। यही भनाइ उद्धृत गर्दै नुमा लिम्बु ‘चञ्चला’ले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारलाई स्वागत गरिन्। उनले यस सम्मेलनको उद्देश्य समसामयिक विषयमा प्रकाश पार्नुका साथै समुदाय भित्र समुदायले नै शोषण र पीडा भोग्नुपरेको वास्तविकता उजागर गर्नु भएको स्पष्ट पारिन्।
चञ्चलाले भनिन् – “हामी तेस्रोलिंगी, तेस्रो प्रकृतिका व्यक्ति हौँ। महिला, पुरुष र तेस्रोलिंगी यहाँ छन्। पुरुष या महिलामा जन्मे पनि हामीसँग महिला र पुरुष दुवै गुण र स्वभाव हुन्छ। हामी दुईलिंगीवादबाट मुक्ति चाहन्छौँ।” यसरी उनले प्रारम्भमै पत्रकारहरूको ध्यान तानिन्।
उनको भनाइमा, ब्लु डायमन्ड सोसाइटी (बीडीएस) आफ्नो मूल मिसनबाट विचलित भएपछि मिडियामा आउनुपर्ने बाध्यता सिर्जना भएको हो। बीडीएस सुरुमा समुदायको अधिकार र समावेशीकरणका लागि सक्रिय अभियन्ता थियो। तर आज यो संस्था केही व्यक्तिको व्यक्तिगत लाभका लागि मात्र प्रयोग भइरहेको उनले स्पष्ट पारिन्।
उनले प्राकृतिक लैङ्गिक पहिचानलाई स्विकार्नु सट्टा सोसाइटीले मानिसलाई महिला र पुरुषमा सीमित गर्ने काम गरिरहेको उल्लेख गरिन्। सोसाइटीकी वर्तमान अध्यक्ष उमिशा पाण्डेप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन् – “उमिशा समुदायप्रति समर्पित सदस्य हुन् तर केहीले आफ्ना निजी स्वार्थ पूरा गर्न उनलाई प्रयोग गरेका छन्।”
पत्रकार सम्मेलनमा उनले समुदायबाटै समुदाय शोषित भएको तथ्य उजागर गर्ने प्रेस विज्ञप्ति वाचन गरिन्। विज्ञप्तिमा भनिएको छ – “उमिशालाई अध्यक्षमा चयन गरिएको भए पनि बीडीएसले लामो समयसम्म यसलाई गोप्य राख्यो। संस्थाका काम, कारबाही विवरण, दातृ निकायबाट प्राप्त सहयोगबारे समेत उमिशालाई जानकारी छैन।”
विज्ञप्तिमा थप भनिएको छ कि साधारण सभाका सदस्यहरूलाई बिना स्पष्टीकरण हटाइएको छ। पहिले ६० भन्दा बढी सदस्य भए पनि अहिले सङ्ख्यालाई ३५ मा सीमित गरिएको छ। साधारण सभा र बैठकहरू गोप्य राखिएका छन् भने अडिट प्रतिवेदन, प्रगति प्रतिवेदन, कर्मचारीको तलब संरचना र दाताले दिएको फन्ड सदस्य, नागरिक समाज र मिडियासँग साझा गरिएको छैन।
संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई समेत यी विवरण नदिइएको भन्दै प्रश्न उठाइएको छ, “लुकाउनै पर्ने त्यस्तो के छ? बारम्बार माग गरिसकेका छौँ, सबै विवरण पारदर्शिताका साथ उपलब्ध गराउन भनेका छौँ।”
पत्रकार सम्मेलनमा बीडीएसलाई केही व्यक्तिको सुविधा, विलासी कार्यक्रम र निजी स्वार्थका लागि मात्र चल्ने क्लब बन्न नदिने चेतावनी दिइयो। उनीहरूले सोसाइटीलाई समुदायको अधिकार, आन्दोलन र विश्वासको प्रतीकका रूपमा पुनः स्थापित गर्ने प्रण पनि गरे।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पारदर्शिताको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित नियामक निकायमा लिखित जानकारी दिएको महिनौँ भइसकेको छ। तर कुनै सुनुवाइ नभएकाले बाध्य भएर मिडियामा आउनुपरेको उनीहरूले बताए।
उनको माग छ – तत्काल आपत्कालीन साधारण सभा बोलाउनुपर्छ, सदस्यता समावेशी ढङ्गले खुलाउनुपर्छ, लेखा परीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन, दाताले दिएको फन्ड र बैठकका निर्णय सार्वजनिक गर्नुपर्छ। साथै नेतृत्व परिवर्तन, सल्लाहकार नियुक्ति र सम्भावित रकम दुरुपयोगबारे स्वतन्त्र समीक्षा गर्नुपर्ने उनीहरूको जोड छ।
पत्रकार सम्मेलनमा सोसाइटीका कार्यक्रमहरूलाई पुनः प्राथमिकता निर्धारण गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हितमा केन्द्रित गर्नुपर्ने माग गरिएको छ। यी माग तुरुन्त कार्यान्वयन नभए कानुनी तथा नियामक निकायमा उजुरी र छानबिन गराउने चेतावनी पनि दिइएको छ।
उनीहरूले स्मरण गराए – गत साउन १४ गते धुम्बाराहीमा सोसाइटीले तत्काल साधारण सभा बोलाउने, सदस्यता खुला गर्ने, लेखा परीक्षण तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो। तर, एक महिना बित्दा पनि कुनै विवरण सार्वजनिक नगरिएको र संस्था बहाना मात्र बनाइरहेको गुनासो समेत राखियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.