निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘समुदायकै नेतृत्वबाट ठगी, प्रहरी प्रशासन र सरकारी वकिल कार्यालय दोषी बचाउने भूमिकामा’

‘समुदायकै नेतृत्वबाट ठगी, प्रहरी प्रशासन र सरकारी वकिल कार्यालय दोषी बचाउने भूमिकामा’

2.1k
SHARES

काठमाडौं : हाइड्रोको शेयरका लागि रकम बुझाएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पीडितहरूले प्रहरी र सरकारी वकिल कार्यालय दोषीलाई संरक्षण दिने भूमिकामा लागेको आरोप लगाएका छन्। शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पीडितलाई न्याय दिनुको सट्टा दोषीलाई उम्काउने काम भइरहेको गम्भीर आरोप लगाए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पुरानो संस्था भनेर चिनिँदै आएको ब्लु डायमन्ड सोसाइटीले आफ्नै समुदायका सदस्यलाई आर्थिक शोषण गर्दै आएको आरोप खुलेर सार्वजनिक भएको छ। अहिलेसम्म पर्दाभित्र लुकेर रहेको यस्तो ठगी घटनालाई उजागर गर्ने र ‘हामी चुप लागेर शोषण सहँदैनौँ’ भन्ने अठोटसहित पत्रकार सम्मेलनमा उपस्थित भएको पीडितहरूले बताए।

ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव ‘पिंकी’ गुरुङसँग सम्बन्धित ठगी प्रकरणप्रति समुदायभित्र गहिरो आक्रोश र आहत रहेको पीडितहरूले प्रस्ट पारे। उनीहरूको भनाइअनुसार, २०७४ सालतिर पिंकीले समुदायका ६०–७० जना सदस्यसँग “हाइड्रो पावर कम्पनीमा लगानी गर्ने” बहानामा प्रति व्यक्ति पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म रकम सोसाइटीको केन्द्रीय कार्यालयमार्फत सङ्कलन गरेकी थिइन।

हालै पिंकी गुरुङ आफैँ काठमाडौं जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित भई विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको नाममा रकम सङ्कलन गरेको स्वीकार गरेकी छन्।

तर, प्रतिबद्धता अनुसार शेयर उपलब्ध गराउनु सट्टा करिब सात वर्षपछि इनर्जी इन्जिनियरिङ प्रा.लि. नामक अर्को कम्पनीको शङ्कास्पद प्रमाणपत्र वितरण गरेर समुदायलाई झुक्क्याउने प्रयास गरेको समुदाय सुधारका अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्रीले बताए।

पीडितहरूको माग सुनाउँदै उपाध्यक्ष खत्रीले समुदायका सदस्यहरूमार्फत जम्मा गरिएको कुल रकम कति हो?, त्यो रकम कहाँ जम्मा भयो?, विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको नाममा रकम उठाएर किन इनर्जी इन्जिनियरिङ प्रा.लि.को प्रमाणपत्र वितरण गरियो?, सात वर्षसम्म रकम कहाँ राखियो?, विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी अहिले अस्तित्वमै छ कि छैन? त्यसको वैधानिक प्रमाण छ कि छैन? भनेर प्रश्न गरे।

पीडितहरूका अनुसार, समुदायका व्यक्ति जसले पिंकीलाई रकम दिएका थिए, केहीको निधन भइसकेको छ, तिनका उत्तराधिकारीलाई कसरी भुक्तानी गर्ने भन्ने स्पष्ट जवाफ दिनुपर्छ।

पिंकी गुरुङले “अब इनर्जी इन्जिनियरिङसँग सम्पर्क गरेर समस्या समाधान गर्नुपर्छ” भनेको अभिव्यक्तिप्रति पीडितहरूले कडा आपत्ति जनाए। पीडितहरूको सामूहिक आवाज छ,“हामी यो कम्पनीलाई चिन्दैनौँ, न त यस कम्पनीले हामीलाई चिन्छ। हाम्रो वित्तीय कारोबार ब्लु डायमन्ड सोसाइटीको अध्यक्षको हैसियतमा पिंकी गुरुङसँगै भएको हो।”

उनीहरूको माग छ— विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको शेयर प्रमाणपत्र उपलब्ध गराइयोस् वा सङ्कलित सम्पूर्ण रकम तुरुन्त फिर्ता गरियोस्।

यस प्रकरणमा प्रहरी प्रशासन र सरकारी वकिल कार्यालयको भूमिका पनि गम्भीर प्रश्नको विषय बनेको उनीहरूले बताए। पीडितहरूले पटक–पटक उजुरी दिए पनि ती निकायहरूले उजुरी दर्ता गर्न अस्वीकार गरेको र बरु दोषीलाई जोगाउने भूमिका खेलेको आरोप लगाए। “हामीले बाध्य भएर हुलाकमार्फत उजुरी पठाउनुपरेको छ, प्रहरी र सरकारी वकिल किन पीडितको पक्षमा उभिन सक्दैनन्?” भन्ने प्रश्न उनीहरूले गरे।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्य र समाजले वर्षौँदेखि बहिष्कृत गर्दै आएको पीडितहरूको गुनासो छ। अब आफ्नै नेतृत्व भनिएका व्यक्तिबाटै ठगिनु असह्य भएको उनीहरूको भनाइ छ। माग स्पष्ट छ, “प्रतिबद्धता अनुसारको शेयर उपलब्ध गर वा रकम फिर्ता गर। कुनै पनि बहाना स्वीकार्य छैन।”

उनीहरूले चेतावनी दिए, “यदि सात दिनभित्र हाम्रो माग सम्बोधन भएन भने हामी सर्वोच्च अदालतसहित सबै कानुनी उपाय प्रयोग गर्दै अगाडि बढ्छौँ। न्यायमा ढिलाइ गर्नु भनेको न्याय नदिनु हो। हामी छलकपट अब सहन्नौँ।”

त्यस्ता ठगी प्रकरणमा संलग्न उच्च पदस्थ व्यक्तिहरूलाई समेत खबरदारी दिँदै पीडितहरूले भने, “हामीलाई तुरुन्त न्याय दिनुहोस्।”

हाल मायाको पहिचान नेपालमा कार्यरत लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले कार्यक्रममा आफ्नो भाव व्यक्त गर्दै भनिन्, “मैले आफ्नो धरातल कहिल्यै बिर्सेकी छैन। जन्मदेखि नै समुदायसँग बाँधिएको छु। मेरो मरण पनि समुदायकै लागि हुन्छ। समुदायलाई सही बाटोमा ल्याउने हाम्रो मिसन हो।”

उनले थपिन्, “यो विषय सिडिओ कार्यालयदेखि प्रहरी प्रशासन र सरकारी वकिल कार्यालयसम्म पुर्‍याइसकेका छौँ। तर पीडितको कुरा नसुन्ने, बरु जससँग पुँजी छ, उसकै कुरा सुन्ने प्रवृत्तिले गर्दा हामी बाध्य भएर यहाँ आएका हौँ। खासमा यो हाम्रो ‘घर सल्लाह’ हो। हामीले इमेल गर्‍यौ, फोन गर्‍यौँ, म्यासेज गर्‍यौ, तर ब्लु डायमन्ड सोसाइटीको नेतृत्व— अध्यक्षदेखि बोर्ड सदस्य, कर्मचारी टिम, कार्यकारी निर्देशक मनिषा ढकाल,एचआइभी परियोजना फोकल पर्सन प्रकाश निरौला, सञ्जय शर्मा, उमेश श्रेष्ठ, पिटर राई, भूमिका श्रेष्ठ लगायतले कहिल्यै सुनुवाइ गरेनन्।”

उनले संस्थाभित्रकै विवादित गतिविधिहरू उजागर गर्दै भनिन, “कसैले गर्वका साथ तीन वटा नागरिकता लिएको कुरा गर्छन्, पुरुषको पनि, अन्यको पनि, महिलाको पनि। भूमिका अन्यको नागरिकता लिएर अष्ट्रेलिया पुगिन, महिलाको नागरिकता लिएर अमेरिका पुगेर साहसी महिलाको अवार्ड लिइन। तर हामी त महिला होइनौँ, तेस्रो प्रकृतिका हौँ। महिला जस्तो देखिन्छौँ भनेर मात्र हामीलाई महिला भन्न मिल्दैन।”

उनले भनिन, “धुम्बाराहीमा भवन बनाउन १० देखि ५० प्रतिशतसम्म रकम जम्मा गरेर वृद्धाश्रमका लागि भनेर रकम उठाइयो। लाजिम्पाटमा पनि भवन छ तर अहिले तालाबन्दी गरिएको छ। संस्थापक अध्यक्षले पटक–पटक इमेल गर्दा पनि जवाफ दिइएन। नागरिकको हैसियतले सूचनाको हक प्रयोग गर्न पाइन्छ, हाम्रो माग अझै पूरा भएको छैन।”

कार्यक्रममा सन्ध्या लामाले प्रश्न गरिन, “संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई किकआउट गर्नेहरूले अरूलाई के गर्ला? मलाई पनि कामबाट निकालियो। संस्थापकलाई बेवास्ता गर्नेहरूले अरू सदस्यलाई सम्मान गर्ने आशा कसरी गर्न सकिन्छ?”

सडकदेखि सदनसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय निरन्तर शोषणमा पर्दै आएको तथ्यलाई नजरअन्दाज गर्न नसकिने बताए पीडितहरूले।

“अधिकारको संस्था बीडीएस निजी स्वार्थको अड्डा”

“पिंकीविरुद्ध हुलाकमार्फत उजुरी, प्रहरी–वकिल कार्यालय मौन रहेको आरोप”

युएसएआइडीको ८ करोड गायब, मानव बेचबिखन र अनियमितताको आरोपमा ब्लु डायमन्डमाथि अनुगमन गर्ने प्रशासनको निर्णय, सदस्यता विवरणमा अझै आलटाल

पत्रकारलाई कारबाही गर्ने ब्लु डायमन्डको धम्की, युएसएआइडीको ८ करोड गायबको हिसाब माग्दा मिडियामाथि आक्रमण

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.