“विज्ञान भैरव तन्त्रमा भगवान् शिवले पार्वतीलाई ध्यानका ११२ विधिहरू बताउनुभएको छ। ती सबै विधिहरूमा प्रमुख रूपमा उहाँले श्वासका माध्यमबाट ध्यान गर्ने तरिका वर्णन गर्नुभएको छ।
श्वास—जसलाई हामी लिन्छौँ र फ्याल्छौँ—त्यसकै माध्यमबाट कसरी ध्यान गर्ने, किन गर्ने भन्ने विषयमा विस्तृत रूपमा बताइएको छ। यस विधिमा हामी आउने र जाने श्वासलाई मात्र सजग भएर हेरिरहन्छौँ।
भगवान् बुद्धले यही विधि ध्यानको लागि विशेष रूपमा अपनाउनु भयो। त्यसैले यो विधि पछि गएर “बौद्ध विधि” को रूपमा परिचित बन्यो। बौद्ध परिभाषामा यसलाई “अनापानसति योग” भनिन्छ।
अर्थात्,”अन” भनेको श्वास भित्र तान्नु, “अपान” भनेको श्वास बाहिर फ्याँक्नु र “सति” भनेको सजगता हुनु हो।
बुद्धको आत्मबोधको मूल आधार यही थियो। बुद्धले यही सजगतामा श्वास प्रक्रिया अभ्यास गरेर निर्वाण प्राप्त गर्नु भयो। यसैले संसारले यसलाई “बौद्ध ध्यान विधि” भनेर चिन्यो।
अनापानध्यान एक अत्यन्तै सरल, तर गहिरो ध्यान विधि हो, जसमा श्वास-प्रश्वासको अवलोकन गरिन्छ। यो प्रक्रियामा श्वास-प्रश्वास जस्तो छ, त्यस्लाइ त्यस्तै केवल नियाल्ने अभ्यास हो। श्वास लिनु–फ्याँक्नुको प्रक्रिया साक्षी भएर हेर्नु, त्यसमा सजग भएर रहनु नै “आनापान” हो।
संसारका सबै धर्महरू र सबै द्रष्टाहरू कुनै न कुनै ध्यान विधिबाट नै परम लक्ष्यमा, आत्म–साक्षात्कारमा पुगेका छन्। र ती सबै ध्यान विधिहरू विज्ञान भैरव तन्त्रमा वर्णित ११२ विधिहरूमा समावेश छन्। यी मध्ये यो पहिलो विधि —बौद्ध विधिको रूपमा प्रसिद्ध छ। दुनियाँले यसलाई बौद्ध ध्यान–विधि भनेर चिन्ने कारण बुद्धले यही विधिबाट निर्वाण प्राप्त गरेका थिए। यो विधि सबैभन्दा सरल, स्पष्ट र प्रभावकारी ध्यान–मार्ग मानिन्छ।
बुद्ध भन्नु हुन्छ-“आउने–जाने श्वासको प्रति सजग बन्। जब श्वास भित्रिन्छ, तिमी त्यस्लाइ केवल हेरिरहूँ। जब श्वास बाहिरिन्छ, त्यस्लाइ पनि हेरिरहूँ। यही साधना गर, यही पर्याप्त छ।”
अतः यो अति प्राचीन र वैज्ञानिक ध्यान विधि हो, जसको दैनिक अभ्यासले आउने-जाने श्वासको अवलोकन पछि मन स्वतः शान्त हुन्छ। मानसिक तनाव हराउँदै जान्छ, मन बारम्बार भाग्ने बानी कम हुँदै ध्यान गहिरो हुन थाल्छ, सजगताको विकास हुन्छ। श्वासप्रति सजग हुँदै हामी वर्तमान क्षणमा बस्न सिक्छौँ। आन्तरिक शान्तिको अनुभव हुन्छ। कुनै बाह्य साधन चाहिँदैन, केवल आफ्नो श्वाससँग मित्रता गरेर शान्ति अनुभूति हुन्छ। निन्द्रा राम्रो लाग्छ। नियमित अभ्यासले अनिद्रा वा बेचैनी घटाउँछ। शरीरको प्रणालीहरू सन्तुलनमा रहन्छन् तथा रोग प्रतिरोधक शक्ति बलियो हुन्छ।
श्वास आउँछ सजगता आउँछ। श्वास जान्छ सजगता जान्छ। श्वास र सजगता एकसाथ चल्दछन्। निरन्तर यो विधिमा कुनै कल्पना छैन,कुनै मन्त्र छैन,धर्मग्रन्थ पढ्नुपर्दैन। केवल आफ्नो श्वासको प्रति होस चाहिन्छ।
बुद्धले यही सरल विधिद्वारा संसारको सबैभन्दा गहिरो सत्य अनुभव गर्नुभयो। निर्वाण प्राप्त गर्नु भयो। त्यसैले यो विधि आज पनि हजारौँ साधकहरूका लागि सबैभन्दा प्रभावकारी ध्यानमार्ग हो। श्वास सँगै सजगता बढाउने यही मोक्षको मार्ग हो। बुद्धले विशेष रूपमा यही ध्यान विधिको प्रयोग गर्नुभयो। त्यसैले यो विधि पछि गएर “बौद्ध विधि” भनेर चिनिन थाल्यो। बुद्धको आत्म–बोध (आत्मोपलब्धि) यही विधिको अभ्यासबाट भएको थियो।
बुद्धले बीचको अन्तराल श्वासको विरामको चर्चा गर्नु भएन। किनभने बुद्ध सामान्य, साधारण, सरल मन भएका मानिसहरूसँग बोलिरहनु भएको थियो। यदि बुद्धले तिनीहरूलाई श्वासबीचको अन्तराल, त्यो सूक्ष्म मौन क्षणको कुरा गर्न थाल्नु भएको भए ,त्यो सुनेर उनीहरूमा अन्तराल प्राप्त गर्ने इच्छा जाग्थ्यो। अनि त्यो कामना-इच्छा नै बोधको बाधा बन्न जान्थ्यो।
बुद्धले महसुस गर्नु भयो कि यदि साधकले त्यो मौन क्षणको खोज गर्न थाल्यो भने सजगता खण्डित हुन सक्छ। मन त्यसैमा अल्झन थाल्छ। त्यसैले बुद्धले सजिलो बनाएर भन्नु भयो कि केवल श्वास आउँदा–जाँदा सजग भएर हेरी रहु।
यदि हामीले अन्तराल प्राप्त गर्न चाह्यौ भने,हामी श्वासको अवलोकन गर्न छोडेर श्वासको अगाडि दौडन थाल्नेछौ। श्वास आउँछ, जान्छ, तर हामी त भविष्यको अन्तराल खोज्दै तत्कालको सजगता गुमाउँदै जान्छौ। यो सोचौँ कि “अन्तराल आउँछ” हामीलाई भविष्यतर्फ लैजान्छ। र हाम्रो होस वर्तमानमा नरहँदा ध्यान असम्भव हुन्छ।
बुद्ध भन्नु हुन्छ —”श्वास आउँछ, श्वास जान्छ, केवल हेरिरहूँ। केवल सजगतामा हेरिरहूँ। त्यही सजगता पर्याप्त छ। अन्तराल आफै प्रकट हुन्छ—जब तिमी पूर्ण रूपमा वर्तमानमा हुन्छौ।
आउने-जाने श्वासको अवलोकन पछि मन स्वतः शान्त हुन्छ। मानसिक तनाव हराउँदै जान्छ, मन बारम्बार भाग्ने बानी कम हुँदै, ध्यान गहिरो हुन थाल्छ, सजगताको विकास हुन्छ।
श्वासप्रति सजग हुँदै हामी वर्तमान क्षणमा बस्न सिक्छौँ। आन्तरिक शान्तिको अनुभव हुन्छ। कुनै बाह्य साधन चाहिँदैन, केवल आफ्नो श्वाससँग मित्रता गरेर शान्ति अनुभूति हुन्छ,निन्द्रा राम्रो लाग्छ। नियमित अभ्यासले अनिद्रा वा बेचैनी घटाउँछ। शरीरको प्रणालीहरू सन्तुलनमा रहन्छन् तथा रोग प्रतिरोधक शक्ति बलियो हुन्छ।
बुद्धले जाना-जान अन्तरालको कुरा गर्नु भएन, किनकि साधारण मानिसहरू इच्छारहित भएर सजग अभ्यासमा रहन सकुन्। त्यसैले केही भन्ने गर्छन्-“बुद्धको विधि आधी मात्र हो।” किनकि यो विधिले अन्तरालको गहिरो पक्षलाई उजागर गरेको छैन।
तर वास्तविकता के हो भने- बुद्धको विधि सरल, सुरक्षित र वास्तविक बोधमा प्रवेश गराउने ढोका हो। बाँकी आधा अनुभव अभ्यासको गहिराइबाट स्वतः प्रकट हुन्छ। अनापानसति ध्यान – पूर्णता तर्फको यात्रा हो।
जब हामी अनापानको गहिराइमा पुग्छौ, अन्तराल आफैँ प्रकट हुन्छ। यदि हामी लगातार श्वास प्रति सजगता (बोध) को अभ्यासमा लागिरह्यौ भने,एक दिन अन्जानमै हामीले त्यो अन्तराल अनुभव गर्नेछौ—जहाँ श्वास न आउँछ, न जान्छ। जति–जति हाम्रो सजगता तीव्र हुँदै जान्छ, गहिरो हुँदै जान्छ,सघन र स्पष्ट बन्दै जान्छ, जब पूरै संसार बिर्सिन्छ,र केवल श्वासको आऊ-जाऊ मात्र हाम्रो चेतनामा बाँकी रहन्छ —त्यो बेला अचानक त्यो मौन क्षण, त्यो श्वासविहीन अन्तराल प्रकट हुन्छ।
त्यो अवस्थामा जहाँ न त श्वास आउँछ, न त जान्छ, श्वासको क्रिया पूर्ण रूपमा स्थिर हुन्छ। र त्यही स्थिरतामा परम कल्याण, शान्ति, आत्मबोध प्राप्त हुन्छ।
यो एउटै विधि आज पूरै एसिया जस्तै तिब्बत, चीन, जापान, बर्मा, थाइल्यान्ड तथा श्रीलङ्का फैलिरहेको छ। यी सबै ठाउँहरूमा यही श्वास सजगताको विधिले हजारौँ मानिसहरू आज बर्तमानमा सजगतामा बस्ने अभ्यास गरिरहेका छन्।
तर दुर्भाग्य के भयो भने, यो विधि बुद्धको नामसँग जोडियो। हिन्दुहरू यसबाट आफूलाई अलग राख्ने प्रयास गर्न थाले। यो विधि “बौद्ध विधि”को रूपमा प्रसिद्ध हुन पुगेपछि, हिन्दुहरूले यसलाई अपनाएनन्।
यद्यपि भगवान् शिव नै पहिलो व्यक्ति हुन् जसले यो विधि बताउनु भयो। प्राय: बौद्ध मार्गीहरूले “विज्ञान भैरव तन्त्र”लाई बौद्ध ग्रन्थ भएको दाबी गर्नु हुन्छ। त्यसैले कतिपय हिन्दुहरूले यसलाई हिन्दु ग्रन्थ मानेनन्। तर सत्य के हो भने,ध्यान न त हिन्दु हो, न बौद्ध हो। ध्यान त मानव चेतनाको गहिरो विज्ञान हो। श्वास सजगताको यो विधि सम्पूर्ण मानवताका लागि साझा उपहार हो,जसले यो अभ्यास गर्छ,त्यसले अवश्य सत्य भेट्दछ।
धर्मको कुनै नाम हुँदैन। सजगता नै धर्मको नाम हो, मुक्ति हो। यो न हिन्दु हो, न बौद्ध हो। विधि त केवल विधिमात्र हो। यो एक मार्ग हो, एक उपयोगको उपाय हो। बुद्धले यसको प्रयोग गर्नुभयो। तर यो विधि त अस्तित्वमा पहिल्यैदेखि नै थियो। बुद्ध त यसै विधिले भगवान् बुद्ध हुनु भयो। तर विधि त बुद्धभन्दा पहिले नै थियो,त्यो सधैँ मौजुद थियो।
यसैले, आज हामीमा धेर-थोर पक्कै पनि चेतना छ। स्वयमको कल्याणको लागी यो विधिलाई प्रयोगमा ल्यायौ। यो सबै ध्यान विधिहरूमा एकदम सरल छ,अन्य विधिहरूको तुलनामा। त्यही भएर यसलाई तन्त्रका पहिलो विधिका रूपमा उल्लेख गरिएको छ।
ध्यानको मार्ग न कुनै धर्मसँग बाँधिएको हुन्छ,न कुनै जात, परम्परा वा मतसँग। विधि केवल प्रयोग गर्न मिल्ने साधन हो। जो प्रयोग गर्छ —परिणाम उसकै हुन्छ। किनकि सजगताले हामीलाई पनि बुद्ध बनाउँछ। अस्तु:
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.