काठमाडौं – कथाको सुरुवात देवबहादुर थापाबाट हुन्छ—जन्मिँदा छोरा। तीन छोरीपछि जन्मिएका देवबहादुर परिवारका कान्छा सन्तान हुन्। परिवारले उनलाई भविष्यमा लाहुरे पल्टनमा पठाउने सपना बोकेको छ।
बुबाको वर्षौँदेखिको यही चाहना पूरा गर्ने जिम्मेवारी सानो उमेरदेखि नै उनको काँधमा थोपारिएको छ। बाल्यकालदेखि नै बिहान–साँझ अभ्यास, दौडधुपको जीवन देवबहादुरका लागि कर्मजस्तै बन्छ।
तर पुरुष शरीरमा महिलाको आत्मा बोकेका देवबहादुर आफ्नै इच्छाअनुसार हुर्कन चाहन्छन्। दिदीहरूको कपडा लगाउने, नङमा पालिस लगाउने, नाच्ने—यी कुरामा रमाउँछन् उनी। उनको हाउभाउले परिवार सन्तुष्ट हुँदैन। समाजले पनि उनको स्वभाव र हाउभाउलाई स्विकार्न सक्दैन। परिवारको ‘कर्णेल’ बनाउने सपना र उनको व्यक्तिगत पहिचानबीचको सङ्घर्ष नै फिल्मको मुख्य धुरी हो।
समुन्द्र भट्टले निर्देशन गरेको गुन्यो चोलो यही वास्तविकता बोकेर अघि बढ्छ। फिल्मले तेस्रोलिंगीको पीडा, परिवारको अस्वीकार, समाजको विभेद, रोजगारीको अवसर अभावदेखि रात्रिकालीन यौन व्यवसायमा धकेलिनुपर्ने अवस्था सबैलाई प्रस्टसँग देखाएको छ। निर्देशकले शहर–गाउँ दुवै परिवेशलाई समान रूपमा चित्रण गर्दै समाजको दृष्टिकोण उजागर गरेका छन्।
मुख्य भूमिकामा नाजिर हुसेन छन्, जसले “देवबहादुर/गुलाबी” पात्रलाई अद्वितीय रूपमा जीवन्त बनाएका छन्। साथै संचिता लुइँटेल, राजकुमार घोष, शिशिर राणा, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ (हटीनटी) लगायतका कलाकारले सहयोगी भूमिका निर्वाह गरेका छन्। सम्पूर्ण फिल्म भने नाजिरकै काँधमा टेकेको स्पष्ट देखिन्छ।
फिल्ममा देखाइएझैँ, देवबहादुर बाल्यकालदेखि महिलाको भूमिका निर्वाह गर्न रुचाउँछन्। बुबा त्यसलाई सहन सक्दैनन्, डोरीले बाँधेर कुटपिटसम्म गर्छन्। पछि उनलाई पोखरा पठाइन्छ—पढाइसँगै तालिमका लागि। तर उनको अन्तरआत्मा पुरुषको जीवन जिउन मान्दैन। “म भित्रको म लुकाएर बस्न सक्दिन,” भन्ने संवादमै उनको सङ्घर्षको गहिराइ खुल्छ।
तेस्रोलिंगीको लिङ्ग नै हुँदैन भन्ने समाजमा फैलिएको भ्रमलाई चलचित्रले चिरफार गरेको छ। पोखरामा रुम पार्टनरसँग हल्का मायालु क्षण बाँडेपछि उनमाथि “छक्का, हिजडा“ जस्ता अपमानजनक गालीको वर्षा हुन्छ। त्यही मातेका युवाहरूले उनीमाथि बलात्कार गर्न खोज्छन्, र उनीहरूमध्ये कसैले आश्चर्यचकित हुँदै भन्छ– “उसको त रैछ नि।” यही दृश्यले देखाउँछ—उनी शारीरिक रूपमा छोरा भए पनि आत्मा मात्र महिला थियो।
त्यसपछि भाग्दै घर पुगेका उनलाई आफ्नै बाबुले बाँधेर मार्न खोज्छन्। बाबु निदाएको बेला आमाले चुपचाप बाँधेको डोरी फुकालिदिन्छिन् र अन्तिम पटक कपाल सुमसुम्याउँदै भन्छिन्– “अब कहिल्यै फर्केर नआउनु।” त्यो क्षण दर्शकको मन एकाएक कटक्क चिर्ने गरी प्रस्तुत हुन्छ।
यही घाउ बोकेर देशबहादुरले गाउँ छोड्छन्। र, गुलाबी वस्त्र ओढेर शहर पस्छन्। त्यहीँ पुगेर उनी आफूजस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरूसँग भेट्छन् र आफ्नै पहिचानलाई खुलेर आत्मसात् गर्न थालेको कथा अगाडि बढ्छ।
घरबाट निकालिएपछि उनी शहर पुग्छन्। त्यहाँ भेटिन्छन् हटीनटी, जसले उनलाई “गुलाबी” भनेर नयाँ परिचय दिन्छन्। तर समाजले अझै काम दिने ठाउँ दिँदैन। रोजगारीका सम्भावनाहरू बन्द हुँदा उनी डान्सबारमा पुग्छन्, जहाँ उत्कृष्ट नृत्य प्रस्तुत गरेर केही आम्दानी गर्न थाल्छन्। तर स्थायित्व हुँदैन।
फिल्मले गुलाबीको सङ्घर्षलाई अझ गहिरो रूपमा उतारेको छ—काम नपाउने अवस्था, बार बन्द भएपछि बाध्यताले रात्रिकालीन यौन व्यवसायतिर धकेलिनु, प्रहरीले पक्रेर जेलमा थुनिनु र कुटपिट सहनु। यी सबै दृश्यले देखाउँछन् कि तेस्रोलिंगीलाई समाजले केवल अस्वीकार मात्र गर्दैन, बारम्बार अपमान र हिंसाको बाटो देखाउँछ। बाहिरी चोटभन्दा भित्री मनको घाउ अझ गहिरो हुन्छ, जुन संवादहरूले दर्शकलाई भित्रभित्रै हल्लाइदिन्छ।
जन्मदिनको अवसरमा आमालाई फोन गर्दा पनि घर फर्कन अनुमति पाउँदैनन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको आमा बनेर बसेकी हटिनटीले गुलाबीको जन्मदिन मनाइदिन्छिन्।
जब आमाको मृत्यु हुन्छ, गुलाबी पीडासहित गाउँ फर्किन्छन्। बुबा केही बोल्दैनन्, तर अन्त्यमा आमाको सम्झना स्वरूप गुन्यो चोलो दिन्छन्—फिल्म सकिन्छ। यस अन्तिम दृश्यले एउटा गहिरो प्रतीक दिन्छ—अन्ततः परिवारले ढिलो भए पनि सन्तानलाई आफ्नै वास्तविक रूपमै स्विकार्नुपर्ने सत्य।
नाजिर हुसेनको अभिनय स्मरणीय छ। उनको अनुहारको भाव, संवाद र शारीरिक हाउभाउले तेस्रोलिंगीको अन्तर्द्वन्द्वलाई जीवन्त बनाएको छ। “तेस्रोलिंगीलाई भगवानको दुई रूपको सन्तान मान्नुपर्छ, हेप्नु हुँदैन” भन्ने सन्देश चलचित्रभरि गुन्जिएको छ। अनुपम श्रेष्ठ, संचिता लुइँटेल, विशाल पहाडी र सुशील सिटौलाले पनि आफ्नो भूमिकाबाट कथालाई गहिराइ दिन सफल भएका छन्।
फिल्मले दर्शकलाई लगातार भावुक बनाइराख्छ। आमाबाट अलग हुनुपरेको पीडा, बुबाबाट अस्वीकार, रोजगारी नपाउने अवस्था—यी दृश्यमा हलभरि आँसु रोक्न सकिँदैन। हलमा फिल्म हेरेका अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दर्शक आफूले भोगेका वास्तविकता पर्दामा देख्दा आँसु झार्न बाध्य भए।
चलचित्रले स्पष्ट देखाएको छ—तेस्रोलिंगी सन्तानलाई परिवारले अस्वीकार गर्दा उनीहरू अझ ठुलो सङ्कटतिर धकेलिन्छन्। रोजगारी, सम्मान र अवसर नपाउँदा उनीहरू बाध्यताले नचाहिएको बाटोतर्फ जानुपर्छ। समाज भने अझै उनीहरूलाई दोष दिन्छ। यही विडम्बना फिल्ममा बारम्बार देखाइएको छ।
“भगवानलाई दुई रूपमा पूजा गर्छौँ तर वास्तविक जीवनमा दुई रूप भएका मान्छेलाई अस्वीकार गर्छौँ”—फिल्मले समाजको यही विरोधाभासलाई प्रहार गरेको छ।
समग्रमा गुन्यो चोलो केवल चलचित्र मात्र होइन, सामाजिक हस्तक्षेपको माध्यम हो। यो चलचित्रले तेस्रोलिंगीलाई ‘भिन्न’ भनेर हेर्ने दृष्टिकोणलाई चुनौती दिन्छ र परिवार तथा समाजलाई स्वीकृतिको पाठ सिकाउँछ।
गुन्यो चोलो कथावस्तुको दृष्टिले नेपाली समाजका लागि साहसिक र जरुरी फिल्म हो। तेस्रोलिंगीको वास्तविक जीवन–सङ्घर्षलाई पहिलो पटक यति प्रस्ट र पीडादायी तरिकाले पर्दामा उतार्न सफल भएको यो चलचित्र हरेकले कम्तीमा एकपटक हेर्नै पर्ने कृतिमा पर्छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको वास्तविक कथामा आधारित चलचित्र ‘गुन्यु चोलो’ देशभरका हलहरूमा प्रदर्शन भैरहेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.