निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल–कतार संयुक्त व्यापार परिषद्को बैठक काठमाडौँमा हुने

नेपाल–कतार संयुक्त व्यापार परिषद्को बैठक काठमाडौँमा हुने

1.9k
SHARES

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो। भेटमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी)को आगामी बैठक छिट्टै काठमाडौँमा आयोजना गर्ने सहमति भएको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिए।

उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्त्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै, यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए।

नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै, अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।

“नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ। म कतारी लगानीकर्ताहरूलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु,” उनले भने। ढकालले महासङ्घले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई जोड दिँदै, यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गरे।

उनीहरूले एआई–आधारित व्यावसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे।

“उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईँहरूको समर्थनले महासङ्घलाई आधुनिक, प्रविधि–मैत्री संस्था बनाउन अमूल्य सहयोग पुर्‍याउनेछ,” उनले भने।

भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) संयन्त्रलाई अन्तिम रूप दिई, थप प्रभावकारी बनाइने बताए।

यस्तै, नेपालसँग आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यस प्रकार भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको अध्यक्ष ढकालले जानकारी दिए।

यसैबीच, महासङ्घका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यावसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौँमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस)मा सहभागी हुन पनि आमन्त्रण गरेका छन्।

दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष “कतार केन्द्रित लगानी सत्र” आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए।

“लगानी, नवप्रवर्तन र सहकार्यमार्फत नेपाल–कतार साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ। नेपाली उत्पादन चिया, कफी, अलैँची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता नेपाली कृषि उत्पादनहरूलाई कतारको बजारमा पहुँच बढाउन ठुलो सम्भावना रहेको छ,” उनले भने।

अध्यक्ष ढकालले यी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न प्रमाणीकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङ्ग पहलमा सहकार्य गर्न प्रस्ताव गरे। भेटका अवसरमा चेम्बरका अध्यक्ष थानी सहित कतार चेम्बरका उच्च पदाधिकारी र व्यापारीहरू सहभागी थिए।

समाचार शेयर गर्नुहोस्
1.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.