काठमाडौं – सरकारले दशैं लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अन्तिम तयारी पूरा गरिसकेको जनाएको छ।
कम्पनीले यसका लागि आवश्यक प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको भए पनि अन्तिम निर्णय आउन बाँकी रहेको कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए।
उनका अनुसार सहुलियत पसलका लागि चामल, नुन, तेल, चिनी, दाललगायतका खाद्य सामग्री पर्याप्त मौज्दात राखिसकिएको छ।
सरकारले यो वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार वटा खसिबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ। तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसिबोका तथा च्याङ्ग्रा खरिद गर्न पत्राचार गरिएको उनले बताए। यसपालि अनलाइनमार्फतै खसिबोका र च्याङ्ग्रा बुकिङ गर्न सकिने व्यवस्था मिलाइने पनि विभाग प्रमुख पौडेलले जानकारी दिए।
सार्वजनिक यातायात व्यवसायीहरूले हरेक वर्षजस्तै यस वर्ष पनि दशैं–तिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेका छन्। तर यस वर्षका लागि अन्तिम छलफल अझै हुन बाँकी रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
उनका अनुसार हाल मनसुन चलिरहेको र सडकको अवस्था प्रतिकूल भएकाले अवस्था मूल्याङ्कन गरेर मात्र अग्रिम टिकट बुकिङ खोल्ने निर्णय हुने छ।
सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउने र यातायात सहज बनाउन निर्देशन दिएको छ।
बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले सडक अवरुद्ध हुँदा नागरिकलाई ठुलो समस्या हुने भएकाले तत्काल समस्या समाधान गर्ने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
चाडपर्वमा सुकिला नोट
नेपाल राष्ट्र बैङ्कले यस वर्षको दशैं, तिहारलगायतका चाडपर्वमा पनि सुकिला नोट सटही गर्ने व्यवस्था मिलाउने भएको छ। गत वर्षझैँ यसपालि पनि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने बैङ्कले जनाएको छ।
राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित काठमाडौँ बैङ्किङ कार्यालय, राष्ट्र बैङ्कका सबै प्रदेश कार्यालय तथा बैङ्क–वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सकिने छ।
चाडपर्वका बेला पाँच, १०, २०, ५० र १०० रुपैयाँका नोटको माग बढी हुने भएकाले त्यसैलाई लक्षित गरेर नयाँ नोट उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ। यस अवधिमा बैङ्कले मैला र च्यातिएका नोट फिर्ता लिएर नयाँ नोट बजारमा पठाउनेछ।
किसानले पाएनन् भुक्तानी
दुग्ध उत्पादक किसानहरूले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा किसान र प्रहरीले केहीबेर धकेलाधकेल भएको थियो।
प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङलगायत काठमाडौं उपत्यका र आसपासका जिल्लाका किसानहरूको सहभागिता थियो। उनीहरूले ‘दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर’, ‘दूध सडकमा फाल्नुपर्ने परिस्थितिबाट किसानलाई मुक्त गर’, ‘दुग्ध विकास संस्थान किन सधैँ घाटामा ?’, ‘दुग्ध उत्पादक किसानलाई मार्न पाइँदैन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
किसानहरूको भनाइमा संस्थानले समयमा भुक्तानी नगरेका कारण उनीहरू आर्थिक सङ्कटमा परेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.