निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रोकिएन गगनेको पहिरो, खुलेन कर्णाली राजमार्ग

रोकिएन गगनेको पहिरो, खुलेन कर्णाली राजमार्ग

सडकमै थन्किए स्याउ बोकेका २० ट्रक

2k
SHARES
पहिरोले तीन दिनदेखि पूर्णरूपमा अबरुद्ध भएको कालीकाेटकाे गगने खाेला । तस्बिर : मानबहादुर विश्वकर्मा/पहिचान डटकम

कालीकाेट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडक मर्मत गरी शनिवार दिउँसो सञ्चालनमा आए पनि सोही राति ९ बजे गगने खोलामा पुनः पहिरो गएपछि सडक ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार रातिको पहिरोले सयौँ सवारी साधन बीचमै रोकिएका छन्। “गगने खोलामा सधैँ पहिरो झरिरहन्छ। यसपटक ठुलो ढुङ्गासहित पहिरो खसेकाले एक्स्काभेटरले हटाउन नसकी विस्फोट गर्नुपर्ने अवस्था आएको प्रहरी प्रमुख रावतले बताए।

यसै क्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी प्रमुख डिएसपी रावतसहित सुरक्षा निकायका प्रमुखहरू विस्फोटक पदार्थ लिएर पहिरो स्थल पुगेका छन्। तर, सोमबार दिउँसो तीन पटकसम्म विस्फोट गराउँदा पनि ढुङ्गा नफुटेकाले सडक खुल्ने सम्भावना न्यून रहेको जिल्ला प्रशासन कार्यालय कालीकाेटले जानकारी दिएको छ।

वर्षा सुरु भएपछि कर्णाली राजमार्ग बारम्बार अवरुद्ध हुँदा यात्रु तथा चालकहरू सास्ती भोगिरहेका छन्। तीन दिनदेखि सयौँ मालवाहक ट्रक तथा यात्रुवाहक सवारीसाधन विभिन्न ठाउँमा अलपत्र समेत परेका छन्।

उता, कर्णाली करिडोर पनि अवरुद्ध भएको छ। फुगाड खोलामा पानीको बहाव बढेपछि आवागमन रोकिन पुगेको हो। तीन वर्षअघि बाढीले बगाएको बेलिब्रिज अझै पुनः निर्माण नभएकाले पानी बढ्ने बित्तिकै सडक अवरुद्ध हुने अवस्थाको सिर्जना भएको हो।

प्रहरीले वर्षा रोकिएसँगै पहिरो पन्छाएर बाटो छिट्टै सञ्चालनमा ल्याउने प्रयास निरन्तर भइरहेको जनाएको छ।

राजमार्ग अवरुद्धले स्याउ बोकेका दर्जनौँ ट्रक अलपत्र

तस्बिर : मानबहादुर विश्वकर्मा/पहिचान डटकम

तीन दिनसम्म पनि राजमार्ग सञ्चालनमा आउन नसकेपछि जुम्लाबाट छुटेका स्याउ बोकेका दर्जनौँ ट्रक अलपत्र परेका छन्।

सडक सञ्चालनमा नआएपछि ट्रकमा राखिएका स्याउ कुहिने त्रास बढेको छ। भदौ १३ गते सञ्चालनमा आएको सडक पुनः राति गगनेखोलमा पहिरो गएपछि पूर्णरूपमा अवरुद्ध भएको थियो।

पहिरो पन्छाउन आइतबार बिहानैदेखि एक्स्काभेटर लगाइएपनि अहिलेसम्म सडक खुलाउन सकिएको छैन।

प्रहरी चौकी नाग्मका अनुसार तीन दिनमा स्याउ बोकेका २० वटा ट्रक छुटेका छन्। ती ट्रक सडकमा पहिरो आएकाले सुर्खेत-नेपालगन्जका बजारमा पुर्‍याउन सकिएको छैन। स्याउ बाटोमै कुहिने जोखिम बढेको व्यापारीहरूले बताएका छन्।

तत्काल सडक खुलाउन सांसदको दबाब

पटकपटक अवरुद्ध हुने कर्णाली राजमार्ग तत्काल सञ्चालनमा ल्याएर जुम्ली स्याउ सहजै रूपमा बजारमा लैजाने वातावरण बनाउन जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले दबाब दिइरहेका छन्।

सांसद ज्ञानेन्द्र शाही र छिरिङ ल्हामु लामाले गगने खोलाको पहिरो हटाउन प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालय जुम्लालाई पटकपटक आग्रह गरेका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुक र फाेनमार्फ सडक खुलाउन दबाब दिएका हुन्।

जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारसम्म पुग्ने गरेको छ। किसानले यो पटक बगैँचामै प्रतिकेजी ७० रुपैयाँ मूल्य हालेका छन्। जिल्लाको ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.