निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चलचित्र ‘गुन्यो चोलो’ : सुनिल बाबुको समीक्षा

चलचित्र ‘गुन्यो चोलो’ : सुनिल बाबुको समीक्षा

2k
SHARES

गुन्यो चोलोमा गुलाबीको भूमिकामा नाजिर हुसेन देखिन्छन्। यस फिल्मले नेपालमा तेस्रोलिङ्गीहरूले भोग्नुपर्ने सङ्घर्षलाई गहिराइपूर्वक चित्रण गरेको छ। पारिवारिक अस्वीकारका कारण गाउँ–घर छोडेर सहर आउन बाध्य हुने र रोजगारीको अवसर नपाउँदा यौन–पेसा तर्फ धकेलिनु पर्ने कठोर यथार्थलाई यसले देखाएको छ।

गुलाबीको भूमिकामा नजिर हुसेनको अभिनय प्रभावशाली छ। तर मलाई सबैभन्दा मन परेको पात्र भने वरिष्ठ तेस्रोलिङ्गी हो, जसलाई हटी नटी श्रेष्ठले जीवन्त बनाएकी छन्। उनको अभिनय रमाइलो, करुणामय र स्वाभाविक छ। उनले सहरमा असहाय बनेकी गुलाबीलाई साथ दिने सशक्त पात्रको भूमिका उत्कृष्ट रूपमा प्रस्तुत गरेकी छन्।

कथावस्तु सबल छ र दर्शकलाई आकर्षित गरिरहन्छ। बीच–बीचमा रमाइला हास्यका पल भए पनि धेरै दृश्यहरू भावुक र पीडादायी छन्।

यस फिल्ममा पुरुष (वा तेस्रोलिङ्गी)माथि बलात्कार भएको देखाइएको छ, जुन कुरा समाजमा खुलेर बहस हुँदैन। भित्रभित्र धेरै घटना घट्छन्, बहस हुँदैन, र न्याय प्रायः प्राप्त हुँदैन। यो फिल्मको बलियो पक्ष हो।

यद्यपि, केही कमजोरी पनि छन् यस फिल्ममा। देवको बाल्यकालदेखि गुलाबी बन्ने यात्रामा फरक–फरक उमेरका बाल कलाकारहरू एउटै पात्रको रूपमा अनुहार मिल्दो देखिँदैन।

कलेज क्यान्टिनको दृश्यमा देव पहिलो भेटमै एउटा पुरुषप्रति अत्यधिक आकर्षित देखाइन्छ। पुरुषतर्फ आकर्षण स्वाभाविक भए पनि यसलाई पहिलो नजरमै “भुतुक्कै” देखाउँदा समलिङ्गी वा तेस्रोलिङ्गीहरू जुनसुकै पुरुषप्रति हतारिएर मोहित हुन्छन् भन्ने गलत रूढीलाई बल मिल्छ। यसले दर्शकमाझ नकारात्मक छाप पर्न सक्छ।

त्यसैगरी, आमा पात्रले छोरालाई “मेरो लागि मरेको” भन्ने दृश्य पनि अस्वाभाविक र कठोर लाग्छ। वास्तविक जीवनमा आमा प्रायः अन्तिमसम्म पनि आफ्ना सन्तानप्रति माया गर्ने पात्र हुन्छिन्। यदि फिल्ममा आमालाई दयालु तर असहाय रूपमा देखाइएको भए, सहानुभूति अझै बढ्थ्यो र कथा अझ प्रभावशाली बन्थ्यो।

अर्को कुरा, स्त्री–स्वभाव भएको केटा परिवार र समाजबाट अस्वीकार भई काठमाडौं आएर यौन–पेसा गर्नुपर्ने कथा नेपाली फिल्म र मिडियामा बारम्बार दोहोरिएको विषय हो। आगामी दिनमा फिल्मका लागि अरू विषयवस्तु पनि चयन हुनुपर्छ ।

यसो भए पनि, गुन्यो चोली नेपाली सिनेमामा दुर्लभ र महत्त्वपूर्ण फिल्म हो। यसले पूर्ण रूपमा तेस्रोलिङ्गी पात्रको कथा उठाएर सङ्घर्षलाई संवेदनशील र सकारात्मक ढङ्गले चित्रण गरेको छ। समाजका सबै तहका मानिसहरू, नीति निर्माता र विद्यार्थीहरूले तेस्रोलिङ्गीहरूको वास्तविकता बुझ्न यस फिल्म हेर्नैपर्छ। उत्कृष्ट प्रस्तुतिका लागि समुन्द्र भट्ट र सम्पूर्ण टोलीलाई हार्दिक बधाई।

तेस्रोलिंगीको जीवन सङ्घर्ष बोकेको ‘गुन्यो चोलो’, नाजिरको अभिनय अविस्मरणीय

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.