काठमाडौं – चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनको राति १२ बजे ललितपुरको हात्तिवनस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
क्यान्सर रोगबाट पीडित गोलेको उपचारकै क्रममा ५९ वर्षको उमेरमा निधन भएको हो। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी गोलेले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्।
उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा देउडालगायत भाषा र भाकाका गीतहरू गाएकी छन्। २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएकी उनी केही समय अघिसम्म पनि गीतसङ्गीत क्षेत्रमा व्यस्त थिइन।
उनी राष्ट्रिय सङ्गीत कर्मी संंघ केन्द्रीय कार्य समितिकी उपाध्यक्ष र नेपाल तामाङ कलाकार सङ्घकी पूर्वअध्यक्ष समेत हुन्।
उनको बौद्ध परम्परा अनुसार अन्त्येष्टि गर्ने गरिने तामाङ कलाकार सङ्घका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले जानकारी दिए।
उनका अनुसार श्रद्धाञ्जलीका लागि गोलेको पार्थिव शरीरलाई बिहान १० बजे राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको छ। उनका दुई छोरी छन्।
उनका श्रीमान् पूर्ण गुरुङको तीन वर्ष अघि निधन भएको छ। पूर्ण गायक तथा सङ्गीतकार थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.