हाम्रो समाजले स्विकार्न नसकेको भनौँ या स्विकार्न नचाहेको एउटा निपुर्ण सत्य कथामा आधारित चलचित्र “गुन्यो चोलो -The Dress” ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समाजको सङ्घर्ष पूर्ण कथा बेथालाई स्थान दिएको छ| एउटा अब्बल कलाकार नाजिर हुसेनले निर्वाह गरेको भूमिका देव बहादुर थापा देखि गुलाबी सम्मको यात्रामा उनको एकदम दमदार प्रस्तुति देखिन्छ|
पहिचानको दोसाँधमा रही जीवन यापन गरी रहेको समुदायको एक प्रतिनिधि पात्रको रूपमा निर्देशक समुन्द्र भट्टले “देव बहादुर थापा – गुलाबी” को रूपमा प्रस्तुत गरेका छन्| नेपाली समाजमा आफ्नो आमा बुवाले आफ्नो छोरीलाई दश कर्म देखाई दिने एउटा कर्म “गुन्यो चोलो ” प्रदान गर्ने एउटा रीति रहेको छ|
यसै वस्त्रलाई प्रतिबिम्बित बनाएर चलचित्रको उत्ररार्ध देव बहादुर थापालाई गुलाबीको रूपमा उनका बुवाले छोरीको रूपमा स्वीकार गरी प्रदान गरेको “गुन्यो चोलो” लाई चलचित्रको नामकरण गरी “गुन्यो चोलो -The Dress” भनेर राखिएको सन्देशको झल्को पाउँदछौँ|
यस चलचित्रलाई लैङ्गिक दृष्टिकोणबाट हेर्ने हो भने पूर्ण रूपमा पितृसत्तात्मकताले गाँजेको देखिन्छ| कर्णेलले त्यही आडमा तीन वटी छोरीको जन्म पछि पनि छोराको आशामा अर्को सन्तान जन्माउँछन्| छोरालाई आर्मीमा भर्ती गराई कर्णेल बनाउने महत्त्वाकाङ्क्षा राखेको अनुरूप छोराको रूपमा देव बहादुर थापाको जन्म हुन्छ| छोरा जन्मेको खुसीमा सारा गाउँलेलाई भतेर पनि खुवाउन भ्याउँछन्| घरको काम काजमा सहयोग गर्ने देखि लिएर सुत्केरी स्याहारमा कुनै कसर बाँकी राख्दैनन्|
पौष्टिक आहारका लागि छ महिनासम्म गाउँ भरिका भाले कुखुराको मासु दैनिक रूपमा खुवाउने गर्छन्| जुन ती आमाले यस भन्दा अगाडी छोरीहरू जन्माउँदा त्यतिको स्याहार पाएका थिए| छोरालाई आर्मी बनाउने सपना अनुरूप सानै देखि उसको इच्छा चाहनाको ख्याल नै नराखी आर्मीको तालिम प्रदान गरी राखेको हुन्छ| तर उसको रहर भने अर्कै थियो, आर्मीको तालिम भनेको उसलाई बुवाको सपना बाहेक अरू केही थिएन| उसलाई त नाच्न गाउन, चुलो चौका गर्न मज्जा लाग्थ्यो|
यो सब व्यवहारबाट जानकार भएता पनि उसलाई हर हमेसा मर्द सरि जिउनु पर्छ भनेर उसको बुवाले प्रेरित गरी गरिरहन्थे। जुन कुरा उनलाई स्वीकार्य थिएन। उ पनि आफ्नो पहिचान देखि अन्जान, आफैसँग लडी राखेको एक सिपाही थियो| जब उ भित्रको अन्तर्द्वन्द्वबाट आफ्नो अस्तित्वको वकालत गर्न थाल्छ तब उसका बुवाले जिउँदो श्राद्ध गरी दिन्छ|
यसरी रिक्त भएको छोराको स्थान परिपूर्ति गर्न एक महिलाको उमेर अवस्था, चाहना, स्वास्थ्य स्थिति केही पनि ख्याल नराखी अर्को छोराको इच्छा अनुरूप चार सन्तान जन्माएर हुर्काएर हजुर आमा समेत भई सकेको उमेरमा छोरा जन्माई दिनु परेको अवस्था छ| यहाँ त्यस महिला पात्रलाई मौन बनाई राखेको र उसको रोदन पिडाको कुनै महत्त्व प्रदान हुँदैन|
अव हामी प्रवेश गरौँ यस चलचित्रको मुख्य विषय तर्फ| यो चलचित्रले एउटा यस्तो पात्रको कथा बोकेको छ जो जन्मँदा पुरुषको यौनाङ्ग लिएर जन्मेको हुन्छ तर आत्मा भने महिलाको लिएर आएको हुन्छ| समाजले निर्धारण गरेको भन्दा फरक व्यक्तित्वको चरित्र लिएर जन्मेको व्यक्तिले आफ्नो जीवनमा भोग्नु पर्ने अवस्थाको बारेमा बखान गर्दछ| यो यस्तो एक पहिचानको सङ्घर्षको कथा हो जसमा उ आफ्नो वास्तविक परिचयमा आउन विभिन्न चरणहरू पार गर्दै आउनु पर्दछ|
महिला बादी चिन्तक स्व. कमला भासिन भन्छिन् – “हरेक पुरुषमा महिला तत्त्व र हरेक महिलामा पुरुष तत्त्व हुन्छन् तर हाम्रो समाजले महिलालाई पुरुष भएर र पुरुषलाई महिला भएर बाँच्ने अधिकार प्रदान गर्दैन|” उनले भने जस्तै देव बहादुर थापाबाट गुलाबीको जीवन सम्म प्रवेश गर्नु भनेको निकै चुनौती पूर्ण सङ्घर्षको कथा हो| आफू को हो, के हो भन्ने अनेकौँ आफै भित्र उठेको प्रश्न देखि लिएर समाजले भिडाई दिएको छक्का, हिजडाको संज्ञा त अलग्गै छ| यहाँ चर्चा गरौँ ती चरणहरूको बारेमा |
१) अन्तर द्वन्द्व (Interpersonal Conflict)- पहिला सुरुमा उ आफै पनि आफ्नो अस्तित्वको भेउ पाउँदैनन्| समाजको सीमित परिभाषाको परिधि भन्दा फरक उनको स्वभाव र यौनिक झुकावले उ आफै पनि म को हुँ भन्ने कुराको द्वन्द्व मानस पटलमा परि राखेको हुन्छ |
२) प्रति बिम्बित अवस्था (Mirror Stage) – यस अवस्थामा उ आफैलाई ऐनामा उतारछिन र आफू र अरू बिचको फरक पनाको बारेमा आफूलाई प्रति बिम्बित गर्दछिन् र समाजको त्यो परिभाषालाई केलाउँछिन्| जे जस्तो भए पनि आफूसँग रमाउँछिन् र आफ्नो अस्तित्वको पहिचान गर्छिन्|
३) अनभिज्ञता – जागृत अवस्था (Unknown- Known) – जब उनी आफ्नो अनभिज्ञताबाट आफ्नो पहिचानको अन्तर्द्वन्द्व लडाइँबाट बाहिर आएर आफू को हुँ भन्ने कुराको जागृत अवस्थामा आउँछ तब सुरु हुन्छ समाजसँगको असली द्वन्द्व| उसको जागृत पलको पहिचान समाजको सीमित घेरामा अटाउन सक्दैन|
४) परिवर्तित अवस्था (transformation) – समाजले जति सुकै रोक तोक गरेता पनि प्रकृतिले तोकी दिएको उसको सृष्टि लुकाएर लुकाउन सकिँदैन| एक न एक दिन त परिवर्तित रूपमा आउनु नै छ| अब यहाँ अस्तित्वको प्रदर्शनी हुन्छ| जन्म जुन सुकै शरीर लिएर आएको भएता पनि लैङ्गिक अभिव्यक्ति फरक हुन र त्यहीँ अनुरूप आवरण अङ्गालिन्छ|
यसरी पहिचानको सङ्घर्ष विभिन्न चरण पार गर्दै आफ्नो अस्तित्वमा आउँदछ|
देव बहादुर थापाबाट गुलाबीसम्म आउनुको यात्रा पनि एक पुतलीको जीवन यात्रा भन्दा कम छैन| जसरी एक पुतलीको जीवन चक्र – अन्डा, लार्भा, प्युपा हुँदै एक वयस्क पुतलीको स्वरूपमा आउँदछ उ बजारको आकर्षणको केन्द्र बिन्दु हुन्छ| उसको रङ्गिन पखेटाको बखान सबैले गर्दछ र आफ्नो बसमा पारि तहस नहस समेत गरी उठ्नै नसक्ने बनाई दिन्छन् जुन बजारको मान्छेको मतलबको कुरा भएन|
पुतलीलाई सबैले आफ्नो बनाउन चाहन्छ तर स्विकार्न भने सक्दैनन्| यस चलचित्रमा समाजको अर्को कालो पाटोको उदाङ्गो रूप देख्न सकिन्छ| त्यो हो यौन बजार| म आफै यसलाई समाजको कालो पाटो किन भन्छु भने, समाजको परम्परा, रीति थिति, संस्कारको जति वकालत गर्छ त्यही व्यक्ति रङ्गिन बजारमा आफ्नो भोगको लागि न त त्यहाँ कुनै जातको कुरा गर्छ, न त धर्म नै, न त लिङ्ग माथि नै कुनै भेद देख्छन्| त्यहाँ त केवल उसलाई आफू सन्तुष्ट हुन मोलमोलाइ मात्र गर्छन्|
गुलाबी पात्रकै कुरा गर्नु पर्दा आफू अन्तर्द्वन्द्वको अवस्थामा गुज्री रहँदा डर त्रासको अवस्थामा जति सुकै आर्मीको तालिम प्राप्त गरेको भएता पनि अध्ययनको क्रममा होस्टेलमा बस्दा आफ्नै सह – पाठी द्वारा बलात्कृत हुन पुग्दछ| उनी मानसिक अवस्थाको यस्तो यसरी अचेत रूपमा पुग्दछ कि ऊ आफ्नो बचाव गर्न सक्दैन| यस्तो अवस्थाबाट गुज्रिएर ऊ आफ्नो आर्मीको छनौट प्रक्रिया छोडेर आफ्नो गाउँ पुग्दछ|
बुवा उता रिसले चुर भएर बसेका हुन्छन् भने देव बहादुर थापा आफ्नो अस्तित्वको लडाइँमा अब धेरै बेर लुकाएर बाँच्न सक्दिन भन्ने अभिव्यक्ति व्यक्त गर्दछ| उनको यो सब अवस्था सुनेर उसका आमाले बचावको लागि गरेको हो वा परिबन्धनमा परेर उसलाई जिउँदै मृत घोषित गरी दिन्छ र आफ्नो नयाँ रूपमा खुसी साथ बाँच्नु भनेर घरबाट रवाना गरी दिन्छिन्| अव सुरु हुन्छ चलचित्रको दोस्रो अध्याय|
आमाले हातमा थमाई दिएको केही रकम र सुनको मारवाडी बोकेर पुग्छ उ बिरानो काठमाडौँ सहर| आफ्नो पहिचान अभिव्यक्ति गर्ने क्रममा उसको भेट हुन्छ , आफू जस्तै फरक पहिचान बोकेको व्यक्तिसँग जसको भूमिका गरेकी छिन् हटीनट्टी (अनुपम श्रेष्ठ)ले| उनको यो भूमिका पनि कहानीको मुख्य पाटो मध्य एक हो जसले देव बहादुर थापालाई गुलाबीको रूपमा जन्म दिन्छिन् र उसको सहारा बनिदिन्छिन्|
सम्मान जनक कामको खोजीमा हिँडे पनि कहीँ कतै काम पाउँदिनन्| अधिकांश रूपमा समाजमा देखिने अवस्थाले गाँजिएको भएर पनि होला अध्ययन क्षेत्र अब्बल रहेता पनि चलचित्र त्यस सम्बन्धी कामको खोजी गरेको देखाइँदैन|
हुन त साँढे दुई घण्टाको अवधिमा सबै कुरा समेट्नु पनि सकिँदैन| यसै सिलसिलामा नृत्य, सङ्गीतमा रुचि रहेका उनलाई यसै अनुरूप काम पाउँछ| केही समयको राम्रो काम गरी रहँदा उनको एक व्यक्तिसँग झुकाव बढ्न थाल्छ, भनौँ त्यस व्यक्तिले आफ्नो फाइदाको लागि उसको उपभोग गर्दछ| यसै क्रममा उनीहरू जस्ता व्यक्तिको चिनारी भनेको पारिजात फूल जस्तै हो भनेर संज्ञा दिएको छ| जुन रातको वासनामा सबैलाई मोहित गर्दछ र बिहान उठे पछि भुईँमा फालदिन्छन|
त्यसलाई कसैले कुल्चेर जान्छ भने बिरलैले मात्र मन्दिरमा चढाउन लाग्छ| उनी शिरमा लगाउने गुलाब बन्न चाहन्थिन तर वास्तविकता त्यो पनि कुल्चिएर झार्न पुग्छिन्| यसरी जीवन बिताउने क्रममा आफ्नो पेसा पनि गुमाउन पुग्छिन् र जीविकोपार्जन गर्नको लागि रङ्गिन बजारमा आफ्नो मोलमोलाइ गर्न पुग्छिन्|
सामाजिक जीवन, आफ्नो अस्तित्वको लडाई र सम्मान पूर्वक बाँच्न पाउने मौलिक हकको पेचिलो पनबाट बाहिर आउन उसले क्रान्तिकारी भूमिका निर्वाह गर्दछ र चलचित्र एक वर्षको अन्तरालमा पुग्दछ| गुलाबीको जन्म उत्सवको तयारी गरिरहेको दृश्य सुरु हुन्छ र परिवर्तित अवस्थाको जानकारी विना कहानीमा चलाखी पूर्वक टुइस्ट ल्याई दिन्छन् र चलचित्र चरमोत्कर्ष (Climax) मा पुग्दछ|
गुलाबीको आमाको मृत्यु भएको समाचार सँगै अन्तिम अवस्था भेट्न उनी आफ्नो वास्तविक स्वरूपमा नै गाउँ पुग्छिन्| आमा गुमाएको वेदना सँगै उनले जिम्मेवारी स्वरूप काखे टुहुरो भाइ नासो रूपमा पाउँछिन्| उनी पनि आफ्नो ममता, अर्धनारेश्वर रूपमा आफ्नो भाइलाई स्याहार गर्न तल्लीन हुन पुछिन् र कहानीको अन्त्य सँगै बुवाले आमाको गुन्यो चोली उसको अस्तित्वको स्वीकारोक्ति प्रदान गर्दछ|
समाज शास्त्रीय रूपमा खण्डन गर्नु पर्दा हाम्रो समाजको संरचनाको जड एकदम साँघुरो घेरामा सीमित पारेर राखेको छ| जसमा जो कोही अटाउन सक्दैन| यसलाई फराकिलो पार्नु एकदम जरुरी देखिन्छ| सधैँ परम्परागत मूल्य मान्यताको संरक्षण गरी राख्दा भविष्यदर्शी हुनबाट रोक लाग्छ| समाज जहिले पनि साधारणबाट जटिल तर्फ नै लाग्ने हो| यो एक प्राकृतिक नियम नै हो| तर हामी भने आफ्नै मौलिक मूल्य मान्यताको यस्तो चपेटामा परेका छौँ कि यसले समाजको अन्य वास्तविक रूपलाई समेट्नै सक्दैनौ|
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अस्तित्व महाभारत कालिन समयको “शिखण्डी” पात्रको रूप देखि लिएर उमामहेश्वर (अर्ध नारेश्वर) रूपलाई शक्तिको रूपमा पुज्ने देखि लिएर, इस्लाममा “किन्नर” व्यक्तिलाई महारानीको सुरक्षाको निमित्त हरम मा तैनाथ गर्ने सम्मान जनक पेसा प्रदान भई राखेको इतिहास भएता पनि समाजको परिभाषामा भने अझै पनि समेटिन सकिएको छैन|
कानुनी रूपमा समावेश गरेता पनि सामाजिक सचेतना नभएको अवस्थामा संविधानले तोकी दिएको अस्तित्व समाजले स्विकार्ने अवस्था हुँदैन| जेन्डरको परिभाषालाई सङ्कुचित गर्नु भन्दा फराकिलो गर्नु जरुरी देखिन्छ र यो पनि बुझ्न जरुरी छ कि जेन्डर आफैमा एक बृहत् शब्दावली हो| यसको आयतन ठुलो छ| समाजले यसलाई यस्तो सीमितता राखेको छ कि त्यसलाई बुझ्न हामीले घेरा तोड्न एक दम जरुरी देखिन्छ र यसलाई पुनर्व्याख्या गर्नु जरुरी छ|
यहाँ जेन्डर सम्बन्धी केही परिभाषा समेटाऊँ Frank M. Muagil को समाजशास्त्र को शब्दकोशमा उल्लेख भए अनुसार – “Sex is the biologically determined differences men and women for e.g. visible sexual organs that distinguish men from women, whereas gender is the socially determined expectations for what it means to be male and female, it is caused by the psychological and social development of individuals with in a society”.
त्यस्तै अर्का समाजशास्त्री Okely and Roger, “Gender is socially constructed roles and responsibilities assigned to men and women in a given cultural/social and location based upon their societal/cultural structures, gender is learned behavior, non permanent that change over time. It is socially construct, independent of biology”.
यी दुवै भनाइबाट हामीले के बुझ्नु पर्छ भने लैङ्गिकताको परिभाषा भनेको समाजले निर्माण गर्ने एक भाष्य मात्र हो जुन ठाउँ , समय अनुरूप परिवर्तन हुँदै जान्छ र यसको सम्बन्ध जैविक लिङ्गसँग केही छैन| यो त आफ्नो मनोविज्ञान अनुसार सकिँदै जाने व्यवहार हो| त्यही भएर यस्तो सीमित घेरा बोकेको सामाजिक संरचनाको परिधि तोड्नु पर्दछ र समायनुक्रम अनुसार पुनर्व्याख्या गर्ने देखि लिएर लचिलो पना ल्याउनु पर्दछ| होइन भने समाजमा क्रान्ति र द्वन्द्वले कहिले खाली ठाउँ पाउँदैन|
अन्त्यमा मूलधारका सञ्चार माध्यम देखि लिएर चलचित्र निर्माणसम्म आई पुग्दा जैविक रूपमा फरक अभिमुखीकरण भएको महिलाको बारेमा र केही समलैंगिक महिलाको बारेमा मात्र स्थान दिएको जस्तो लाग्छ| लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (LGBTIQ) को सङ्घर्षको बारेमा चर्चा चली रहँदा अन्य फरक पहिचान बोकेका व्यक्तित्व जस्तै जैविक रूपमा फरक अभिमुखीकरण भएको पुरुष, समलिङ्गी पुरुष, अन्तरलिंगी, दुईलिंगी जस्ता व्यक्तिहरूको पनि अझै भविष्यमा कथाहरू समेटी श्रव्यदृश्य बनाउन सकेमा अझ बढी समाजमा जन चेतना फैलाउन मद्दत मिल्नेछ|
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.