मानव सभ्यतामा धर्म, दर्शन र परम्पराहरूलाई प्रायः आत्म-शुद्धि, ज्ञान र मुक्तिको मार्गका रूपमा व्याख्या गरिन्छ। तर, यीमध्ये धेरै अभ्यासले मुक्तिको सट्टा नियन्त्रण र दमनलाई संस्थागत बनाउँदै आएका छन्।
विशेषगरी, महिलाको शरीर र यौनिकतालाई ‘खतरा’, ‘प्रलोभन’ वा ‘अशुद्धता’ ठहर गर्दै पितृसत्ताले आफ्ना संरचनाहरूलाई मजबुत बनाउन छद्म-विज्ञान, धार्मिक व्याख्या र संस्कारहरूको प्रयोग गरेको छ। यस लेखमा पूर्वीय दर्शनका तीन प्रमुख परम्पराहरू—श्रमण, ब्राह्मण र तन्त्र—तथा अन्य प्रमुख धर्महरूमा पितृसत्ताले कसरी काम गर्छ भन्नेबारे आलोचनात्मक विश्लेषण गरिनेछ।
१. श्रमण परम्परा: आत्म-शुद्धि र पुरुष–केन्द्रित संन्यास
श्रमण परम्पराको मूल आधार गृहस्थ जीवन त्यागेर वनमा गएर चित्त–शुद्धि, समभाव र शान्तिको खोज गर्नु हो। ईसा पूर्व छैठौँ शताब्दीतिरै जैन, आजीविक, चार्वाक र बौद्ध दर्शनले यसलाई अघि बढाएका थिए। सन्न्यासी, योगी र भिक्षुहरूलाई समाजमा उच्च दर्जा दिइन्थ्यो, उनीहरू राजासम्मका सल्लाहकार हुन्थे, र समाजलाई मार्गदर्शन गर्ने गुरु हुन्थे, (philosophers)।
तर, यी आदर्श पात्र प्रायः पुरुष नै थिए। महिलाको संन्यास कठिन बनाइयो। बौद्ध धर्ममा बुद्धले सुरुमा महिलालाई भिक्षुणी बनाउन हिचकिचाएका थिए, पछि मात्र अठोट गरे (Vinaya Pitaka, Cullavagga X)। तर भिक्षुणीहरूलाई आठ गुरुधम्म अर्थात् पुरुष भिक्षुहरूको अधीनमा राख्ने कठोर नियम लगाइयो।
स्त्री शरीरलाई ‘वासनाको स्रोत’ र पुरुष तपस्वीहरूको विचलनको कारणको रूपमा चित्रण गरियो (Shaw, Buddhist Goddesses of India, 2006)। यसरी श्रमण परम्परा आत्म-शुद्धिको खोज भए पनि पितृसत्तालाई नै बलियो बनाउने अभ्यास बन्यो।
२. ब्राह्मण परम्परा: कर्मकाण्ड र सामाजिक नियन्त्रण
ब्राह्मण परम्पराको आधार वेद, ब्रह्म र कर्मकाण्ड हो। जन्मदेखि मृत्युपछि स्वर्गसम्मका सबै संस्कारहरू ब्राह्मण पुजारीहरूले निर्देशन गर्थे। देवता, ग्रह, हवन, पूजा र दानलाई केन्द्रमा राखिने यो प्रणालीले राजासम्मलाई प्रभावित गर्थ्यो।
तर दर्शन र समाज सञ्चालनको मूल विचार भने श्रमण परम्पराले नै दिन्थ्यो, ब्राह्मणहरूले त्यसलाई अनुष्ठानिक रूप दिइदिएका थिए।
मनुस्मृतिजस्ता ग्रन्थहरूले महिलालाई “सधैँ पर पुरुषप्रति आकर्षित हुने/इच्छुक हुने” भने (Manusmriti 2.213)। विधवाहरूलाई सती बन्नुपर्ने बाध्यता, पर्दा प्रथा, र रजस्वलामा महिलालाई अशुद्ध ठहराइने प्रथाजस्ता अभ्यासहरूले महिलाको शरीर र जीवन नियन्त्रण गरे। छद्म-विज्ञानको सहाराले मासिक धर्मलाई फोहोर, विकृति वा ‘ग्रहदोष’सँग जोडियो।
यसरी ब्राह्मण परम्पराले पितृसत्तात्मक नियन्त्रणलाई धर्मकै ‘सत्य’ मा रूपान्तरण गर्यो, जसले गर्दा सामाजिक भेदभावलाई धर्मकै आधारमा जायज ठहराइयो।
३. तन्त्र परम्परा: मातृसत्तात्मक विकल्प
श्रमण र ब्राह्मण परम्पराको विपरीत, तन्त्र परम्पराले मातृसत्तात्मक दृष्टिकोणलाई प्रोत्साहन दियो। यहाँ स्त्री, देवी वा शक्ति नै आदर्श पात्र हुन्। शरीरलाई अपवित्र नभई मन्दिर मानियो, र यौनिकतालाई पाप होइन, आध्यात्मिक ऊर्जा र मुक्तिको साधनका रूपमा व्याख्या गरियो।
तन्त्रले जात, लिङ्ग वा यौनिकताको आधारमा भेदभाव नगरी सबैलाई मोक्ष सम्भव मान्यो। यस परम्परामा अनुभवलाई ज्ञानको मुख्य स्रोत मानियो। तर समयसँगै ब्राह्मण र श्रमण परम्पराले तन्त्रलाई ‘अशुद्ध’ र ‘गुप्त’ भनी हेपे, राज्य र समाजले यसलाई दमन गर्यो (White, Kiss of the Yogini, 2003)। परिणामस्वरूप तन्त्रको मातृसत्तात्मक दृष्टिकोण हराउँदै गयो र पितृसत्ता अझ गहिरो गरी समाजमा गडी बस्यो।
४. अन्य धर्म–परम्परामा पितृसत्ता र छद्म–विज्ञान
इस्लाम: महिलाको शरीरलाई पुरुषको उत्तेजनाको स्रोत ठहर गर्दै, हिजाब वा पर्दा, महिला शरीर नियन्त्रण गर्ने अभ्यास बने (Ahmed, Women and Gender in Islam, 1992)।
ख्रिस्टियन धर्म: (बाइबलको उत्पत्ति (Genesis) को पुस्तक अनुसार, एभ (Eve) पृथ्वीमा परमेश्वरले सृष्टि गर्नुभएको पहिलो स्त्री हुन्। उनलाई आदम (Adam) को करङबाट बनाइएको थियो। उनलाई ‘हब्बा’ पनि भनिन्छ) जेनेसिसमा एभलाई मूल पापको कारण देखाइयो—”महिलाले पुरुषलाई प्रलोभनमा पारिन्” भन्ने मिथक (Ruether, Sexism and God-Talk, 1983)।
जैन धर्म: कतिपय परम्परामा महिला शरीरमा मोक्ष सम्भव छैन भन्ने भनाइ पाइन्छ (Jaini, Gender and Salvation: Jaina Debates on the Spiritual Liberation of Women, 1991)।
यी सबै उदाहरणहरूले देखाउँछन् कि छद्म–विज्ञान र धार्मिक व्याख्याले महिलाको स्वतन्त्रतालाई अस्वीकार गर्दै पितृसत्ताको शक्ति मजबुत बनायो।
बलात्कारको वास्तविक कारण: जैविक होइन, सामाजिक
पुरुष जन्मजात बलात्कारी होइनन्। बलात्कार जैविक वा स्वाभाविक व्यवहार होइन, बरु सांस्कृतिक, सामाजिक र धार्मिक संरचनाले सिर्जना गरेको हिंसा हो। पितृसत्ताले आफ्नो संरचना जोगाउन पुरुषलाई यस्तो रूपमा चित्रण गर्छ:
“पुरुष वासनाका दास हुन्, उनीहरूले आफैलाई नियन्त्रण गर्न सक्दैनन्।”
“महिलाको शरीरले पुरुषलाई उत्तेजित गर्छ, त्यसैले महिलाले आफूलाई ढाक्नुपर्छ।”
“यदि पुरुषले हिंसा गरे भने, त्यो उनको दोष होइन, महिलाको उपस्थितिको कारण हो।”
यसरी पुरुषलाई “प्राकृतिक रूपमा असंयमी/अनियन्त्रित” देखाएर बलात्कारको जिम्मेवारी महिलामाथि सारिन्छ। यो नै victim blaming हो। पितृसत्ताले सिर्जना गरेको यही मिथकले पुरुषलाई आफ्ना खराब व्यवहारहरूको जिम्मेवारी लिनबाट पन्छिन मद्दत गर्छ र महिलामाथि हुने हिंसालाई सामान्यीकरण गर्छ।
निष्कर्ष
श्रमण, ब्राह्मण र (some what) तन्त्र परम्पराहरू भिन्न–भिन्न मार्ग भए पनि अन्ततः पितृसत्ताले तिनीहरूलाई आफ्नो हितमा प्रयोग गर्यो। महिलाको शरीरलाई ‘प्रलोभन’, ‘पाप’, ‘अशुद्धता’ को रूपमा प्रस्तुत गरियो। विज्ञान र धर्मकै आवरणमा यी विचारहरूलाई ‘सत्य’ को रूपमा स्थापित गरियो।
साँचो मुक्ति भनेको यी परम्परागत व्याख्याहरूलाई पुनः आलोचनात्मक दृष्टिले पढ्नु, महिलाको स्वतन्त्रता र यौनिकतालाई सम्मान गर्नु, र छद्म–विज्ञानका नाममा थोपरिएका पितृसत्तात्मक संरचनालाई अस्वीकार गर्नु हो। समाधान पुरुषलाई “सुधार्ने” मात्र होइन, बरु पितृसत्तात्मक संरचना नै उखेल्ने हो।
(लेखक सुनिल बाबु पन्त संविधान सभा सदस्य हुन)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.