निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लघुवित्तको कर्जा लिने सदस्यहरू करिब २७ लाख

लघुवित्तको कर्जा लिने सदस्यहरू करिब २७ लाख

डा. हरिहरदेव पन्तको स्मृति दिवसमा उत्कृष्ट उद्यमी, विद्यार्थी र पत्रकारलाई सम्मान

1.8k
SHARES

काठमाडौं – निर्धन संस्था र डा.हरिहर देव पन्त फाउन्डेसनले उत्कृष्ट लघु उद्यमी, मौद्रिक अर्थशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी तथा उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार र सम्मान गरेको छ।

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर गणेश बहादुर थापाको प्रमुख आतिथ्यमा आयोजना गरेको डा.हरिहरदेव पन्त दसौँ स्मृति दिवस कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट लघु उद्यमीहरूको प्रगतिबारे विवरण समेटिएको समृद्धिको मार्गमा, २०८२ पुस्तक विमोचन पनि गरिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै फाउन्डेसनका अध्यक्ष जनार्दन देव पन्तले वि.स. २०४० को दशकतिर ५० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेकोमा अहिले २० प्रतिशतमा झरेको तथ्याङ्क प्रस्तुत गरे। वि.स. २०४९ देखि अनवरत रूपमा निर्धन उत्थानले लक्षित वर्गलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरी नयाँ लघु उद्यम सृजना र सञ्चालनसँगै रोजगारी विस्तार, आम्दानी वृद्धि र क्षमता विकासमा योगदान पुर्‍याउँदै आएको उनले जानकारी दिए।

उनले डा.हरिहरदेव पन्तले नेपालमा सुरु गरेको अनुसन्धानात्मक कार्य आज पनि अनुकरणीय भएको उल्लेख गर्दै, हाल करिब २७ लाख सदस्यले लघुवित्त कर्जा लिइरहेको, करिब ४ खर्ब ९ अर्ब कर्जा र करिब २ खर्ब बचत परिचालन भइरहेको अवस्थालाई पन्तको प्रारम्भिक कार्यको उपलब्धिका रूपमा प्रस्तुत गरे। साथै मुलुकभित्रै सबैको भविष्य सुरक्षित र सुनिश्चित बनाउन सबै मिलेर लाग्नुपर्ने आवश्यकता रहेकोमा पनि उनले जोड दिए।

नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठले वित्तीय पहुँच र समावेशीकरणका लागि डा. पन्तको योगदान अतुलनीय रहेको स्मरण गर्दै पन्तले लाभका पद र अवसर समेत त्याग गरी वित्तीय सेवाको विकास र विस्तारमा जीवन समर्पण गरेको बताए।

नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले डा. पन्तलाई शालीन, दुर्लभ र दूरदर्शी व्यक्तित्वको रूपमा स्मरण गर्दै वित्तीय पहुँचप्रति उहाँको प्रतिबद्धता कहिल्यै नबिर्सिने बताए।

नेपाल लघुवित्त बैंकर्स सङ्घका पूर्व अध्यक्ष तथा छिमेक लघुवित्तका अध्यक्ष रामचन्द्र जोशीले डा. पन्तलाई ‘नेपालका लघुवित्तका पिता’का रूपमा व्याख्या गर्दै उहाँ लघुवित्तका अत्यधिक लाइसेन्सप्रति चिन्तित हुने, व्यवसायीकरणको विरोधी रहने र गरिबी न्यूनीकरणकै उपाय लघुवित्त हो भन्ने मान्यता राख्ने व्यक्तित्व भएको स्मरण गरे। साथै पत्रकारले बुझेर मात्र लघुवित्तबारे रिपोर्टिङ गर्नुपर्ने सुझाव पनि उनले दिए।

नेपाल लघुवित्त बैंकर्स सङ्घका पूर्व अध्यक्ष तथा एनआईसी एसिया लघुवित्तका अध्यक्ष प्रकाश राज शर्माले “डा.साब लघुवित्तका गुरु हुनुहुन्थ्यो, गरिबका मान्छे हुनुहुन्थ्यो, लघुवित्तले हालसम्म गरेको योगदान सबै डा.साबकै हो” भन्दै श्रद्धाञ्जली व्यक्त गरे।

त्यस्तै निर्धन उत्थानका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालले डा. पन्तलाई बहुआयामिक व्यक्तित्वको रूपमा स्मरण गरे भने सञ्चालक प्रा.डा.फत्त बहादुर के.सी.ले “डा.पन्त अझै हाम्रो बीचमै हुनुहुन्छ, उहाँको आदर्शलाई शिरमा राखेर अघि बढे समस्या समाधान हुन्छ” भने।

सेन्टर फर माइक्रो फाइनान्सका अध्यक्ष डा.रेवत बहादुर काकीले डा.पन्तलाई नीति, नियम, स्वअनुशासन र गल्ती स्वीकार गर्ने महान् व्यक्तित्वका रूपमा स्मरण गरे।

पूर्व गभर्नर गणेश बहादुर थापाले “१० वर्षअघि सम्म लघुवित्तमा समस्या थिएन, डा.पन्तको निधनले लघुवित्त अभिभावकविहीन बन्यो, उहाँले विपन्नको समस्या पहिचान गरेर वित्तीय सेवा दिने कार्य गर्नुभयो, यही नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हो” भने।

निर्धन उत्थानका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण पन्तले “डा.पन्त मेधावी व्यक्ति हुनुहुन्थ्यो, उहाँको व्यक्तित्व र कृतित्व व्याख्या गर्न शब्द कम पर्छ, उहाँले छाडेको लघुवित्त सेवाको नासो सबैले मिलेर जोगाउनुपर्छ” भन्दै श्रद्धाञ्जली व्यक्त गरे।

पुरस्कार र सम्मान वितरण

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर गणेश बहादुर थापाले बागमती प्रदेशकी उत्कृष्ट लघु उद्यमी मखमली कामीलाई डा.हरिहरदेव पन्त लघु उद्यमशीलता पुरस्कार र सम्मान पत्र प्रदान गरे।

त्यस्तै, शैक्षिक क्षेत्रमा योगदान गर्ने विद्यार्थीलाई सम्मान गर्ने क्रममा मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्कप्राप्त श्रीज्या काफ्लेले डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार पाइन। ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा उत्कृष्ट अङ्कप्राप्त रूक्साना अछामीलाई पनि सोही पुरस्कार प्रदान गरिएको थियो।


आर्थिक पत्रकारितामा योगदानको कदर गर्दै आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता यादव हुमागाईँलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

प्रदेशगत उत्कृष्ट लघु उद्यमी सम्मानमा डा. हरिहरदेव पन्त दसौँ स्मृति दिवसका दिन सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गा बरालले कोशी प्रदेशबाट उत्कृष्ट लघु उद्यमी भानुमति राई, राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादवले मधेस प्रदेशबाट उत्कृष्ट लघु उद्यमी रामदुलारी देवी शाह, गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले गण्डकी प्रदेशबाट उत्कृष्ट लघु उद्यमी दुल कुमारी सोमै, प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले लुम्बिनी प्रदेशबाट उत्कृष्ट लघु उद्यमी पार्वती घर्ती, भेरी गङ्गा नगरपालिकाका उप प्रमुख धनसरा बोहराले कर्णाली प्रदेशबाट उत्कृष्ट लघु उद्यमी गीता गाहा र बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट लघु उद्यमी वासुदेवी चन्दलाई डा. हरिहर देव पन्त लघु उद्यमशीलता पुरस्कार प्रदान गरेका थिए।

समाचार शेयर गर्नुहोस्
1.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.