काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको पेशी मङ्गलवारका लागि तोकिएको छ। तत्कालीन हज समितिका अध्यक्ष शमशेर मियाँले अदालतबाट म्याद बुझेकाले मङ्गलवारका लागि पेशी तोकिएको काठमाडौं जिल्ला अदालतले सरकारी वकिलको कार्यालय काठमाडौँलाई जानकारी गराएको हो।
यसअघि भदौ १८ गते जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मियाको तारिख गुज्रिए पनि थाम्ने अवधि बाँकी रहेकाले उक्त अवधि पूरा भएपछि मात्र नियमानुसार मुद्दा इजलासमा पेस गर्न आदेश दिएको थियो।
सो आदेशअनुसार मियाँले अदालतबाट म्याद बुझिसकेका छन्। म्याद गुज्रिएकै कारण गत बुधवार पेशीमा चढेको मुद्दाको सुनुवाइ स्थगित भएको थियो।
यसबीचमा मुद्दामा संलग्न सरकारी साक्षी दिलीप गौतम अदालतमा उपस्थित भएका छन्। यसअघि उपस्थित भए पनि बकपत्र पेस नगरेका उनको बकपत्र सम्पन्न भएको सरकारी वकिलको कार्यालय काठमाडौँले बताएको छ।
गौतमको बकपत्रसँगै सरकारी साक्षीहरूको बकपत्र पूरा भएको छ। नक्कली भुटानी शरणार्थी मुद्दाका सरकारी साक्षी कुन्दन देवानको भने मृत्यु भएको छ।
मियाँले पनि म्याद बुझिसकेकाले अब मुद्दा मङ्गलवार पेशीमा चढ्ने जानकारी प्राप्त भएको सरकारी वकिल कार्यालयले पहिचानलाई जानकारी दिएको छ।
नक्कली भुटानी शरणार्थी : शमशेर मियाको म्याद गुज्रेकाले सुनुवाइ स्थगित
यद्यपि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुने–नहुनेबारे भने कुनै टुङ्गो नलागेको सरकारी वकिल कार्यालयले जनाएको छ। मुद्दाको सुनुवाइ निरन्तरता पाउने वा नपाउने विषय इजलासको निर्णयमा निर्भर रहने छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित ३१ जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी मुद्दा २०८० जेठ १० गते दायर भएको हो।
गजेन्द्र बुढाथोकीले दिएको जाहेरीका आधारमा मुद्दामा तत्कालीन उपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, संविधानसभा सदस्य आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरू प्रतिवादी बनाइएका छन्।
अन्य प्रतिवादीहरूमा सन्दीप रायमाझी, केशवप्रसाद दुलाल, रामशरण केसी, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, बिनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, दीपा हुमागाईं, शमशेर मियाँ, लक्ष्मी महर्जन, निरज राई, सानु भण्डारी, नरेन्द्र केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, प्रतिक थापा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत रहेका छन्।
यससँगै, २०८१ वैशाख ९ गते दावाफुरी शेर्पाले दिएको अर्को जाहेरीका आधारमा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिवसमेत रहेका केशव दुलालसहित पाँच जनाविरुद्ध पूरक मुद्दा दायर गरिएको थियो। त्यस्तै, शरणार्थी प्रकरणमै संलग्न ठहर गरिएका बेचन झालाई भारतबाट पक्राउ गरी ल्याइएपछि २०८१ साउन २९ गते अर्को मुद्दा दायर गरिएको हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.