निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फेरी ढल्यो नेपाल!!!

फेरी ढल्यो नेपाल!!!

1.8k
SHARES

नेपाली जनताले पटक पटक आन्दोलन गरे। कहिले प्रजातन्त्रका निम्ति लडे, कहिले गणतन्त्रका निम्ति तर जुन आन्दोलनबाट पनि जनताले पाउने भनेकै सास्ती, भ्रष्टाचार, बेथिति र महँगी। मेरा अग्रजहरूले सही नेतृत्व चुनेको भए या मेरो पुस्ताले एक चोक्टो मासु र एक ग्लास रक्सीमा भोट नबेचेको भए आज मेरा भाइ बहिनीहरूले अकालमा ज्यान गुमाउनु पर्ने थिएन!

यो नालायक र भ्रष्ट सरकारलाई थाहा थियो कि जेनजी सडकमा आउँदै छ। यसै नै यो रगत गर्माएको हुन्छ र दुर्घटना हुन सक्छ तर यहाँ त गर्माएको रगतमा होली खेल्न चाहे भ्रष्टहरूले र खेले पनि। यसले कसको जित भयो? आज जो सत्ता र पावरमा छ भोली तिमीहरूको सन्तानलाई जनताले यसरी नै दण्डित गरे के तिमीलाई सैय हुन्छ? हुन्न भने जनता किन मार्‍यौ?

युवाले के मागे? भ्रष्टाचारको अन्त्य हैन? अनि म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने प्रधानमन्त्रीले जनता नै मर्नु पर्ने कस्तो सुशासन ल्याउनु भयो? प्रधानमन्त्रीज्यू के नैतिकबान बनेर यो घटनाको जिम्मेवार लिँदै राजीनामा गरेर ज्यान मुद्दा कसुरमा कानुन समक्ष आत्मा समर्पण गर्नु हुन्छ कि यो काम पनि जेनजीले नै गरिदिनु पर्ने?

गोली चलाउन आदेश दिने काठमाडौँका सिडिओ देखि प्रहरीका हाकिम जसले युवामाथि गोलीको परिकल्पना गरे यी सबै समाज विरोधी हुन। गृहमन्त्री देखि आइजी यी सबले यो मृत्युको जिम्मा लिनै पर्छ।

हुन त भ्रष्टको नजरमा यी न्याय प्रेमी जनता नै दोषी हुन र यी जिनजी नै अराजक तत्त्व हुन, त्यसैले त यिनमा जनतालाई ताकि ताकि मार्न आट आउँछ। नत्र जनता मार्ने अधिकार कसलाई छ? यसको जिम्मा कसले लिने?

हे सरकार युवा मारेर राज चैँ कसलाई गर्ने? सके सम्म खाडी ठेल्यौ, केहीलाई मानव तस्कर गरेर पलायन गरायौ त केहीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्यौ अब रहेका फक्रँदै गरेकालाई नि मार्दै छौ, बा तिम्रो राम राज्य छ है।

यो दसैँ परिबार सँगै बसेर मनाउला भनेर बिहान घरबाट निस्केको सन्तान बेलुका नहुँदै राष्ट्र झन्डाको ओत लाग्दै गर्दा तिनकी आमालाई जवाफ दिने? आमाले सोध्लीन नि खोइ सन्तान भन्लिन्- भ्रष्टहरूले खाइदिए भन्दिनु? कि बाबालाई टोपी झिक भन्दिनु या तिनका दाजुलाई भिसाको काम रोक भन्दिनु? यसको उत्तर कसले दिने?

देशमा शु-शान्ति आउनु नै छ। यी जनता मार्नु अगावै तिमीहरूको घमन्डको मुखडा निकाल्दै जनताको नासो जनतालाई दिँदै पद छाडेनौ भने धेरै शासकले धर्ती नै छाडेको इतिहास नदोहोरिएला भन्न सकिन्न।

यसरी जनता मरिरहँदा दोस्रो पुस्ताका भनिएका नेताहरूचै कुन दुलोमा छन्? के यिनीहरूको आवाजमा भ्रष्टाचार गन्हाउने डरले बेलैमा दुलोमुनि पसेको हुन? यदि यो भने यसपालि युवाले पातामै पुगेर भए पनि छाडने छैनन्।

अब तयार बनौँ, देशले चाहे जसरी भ्रष्टहरूको अन्त्य हुन्छ, जनताले चाहेको व्यक्ति आफैले आफ्नो प्रधान मन्त्री छान्न पाउनु पर्छ, मानव तस्करको अन्त्य हुनु पर्छ, नेपाल पुन नेपाल दुनु पर्छ कठपुतली होइन!!!

सबैको एउटै प्रश्न- जनता मार्ने कस्तो गणतन्त्र हो यो सरकार?

(लेखक निरौला भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका अमेरिका संयोजक हुन्)

समाचार शेयर गर्नुहोस्
1.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.