काठमाडौं — शान्तिपूर्ण भनिएको जेनजी पुस्ताको आन्दोलन रणमैदान बनेको छ। सुरक्षा निकायलाई आन्दोलन रोक्न हम्मेहम्मे परेपछि काठमाडौँसहित देशका विभिन्न ठाउँमा कर्फ्यु र निषेधित क्षेत्र घोषणा गरिएको छ।
भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा २० जनाको मृत्यु भएको छ। काठमाडौँमा १८ जना र सुनसरीमा दुई जना गरी २० जनाको ज्यान गएको हो।
काठमाडौँको ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। मृत्यु हुनेमा काठमाडौँ वनस्थलीका २६ वर्षीय इश्वत बहादुर अधिकारी, कीर्तिपुरका ४२ वर्षीय बुद्धि बहादुर तामाङ र बाँकेका २१ वर्षीय शुलभराज श्रेष्ठ रहेका छन्।
प्रदर्शनका क्रममा ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाई, २८ वर्षीय गौरव जोशी र २४ वर्षीय सौरभ कटुवालको पनि मृत्यु भएको छ। अन्य दुई जनाको सनाखत हुन सकेको छैन। प्रदर्शनमा ३८ जना प्रहरी घाइते भएका छन्। तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।
सुनसरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जानकारी दिएका छन्। मृतकहरूको सनाखत हुन नसकेको उनको भनाइ छ।
नेपाल सरकार र नेपाल प्रहरी भने घटनाबारे मौन बसेका छन्। छानबिनपछि मात्रै सत्यतथ्य थाहा हुने प्रहरी प्रवक्ता घिमिरेले बताए।
प्रहरी अधिकारीहरूले रबरको गोली प्रहार गरेको दाबी गरे पनि चिकित्सकहरूले घाइतेहरूलाई लागेको गोलीमा धातु भेटिएको पुष्टि गरेका छन्।
काठमाडौँ उपत्यकाबाट मात्रै ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ। काठमाडौँको ट्रमा सेन्टरमा भने तनाव भएको छ। प्रदर्शनकारीहरूले अस्पतालमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले बानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय शीतल निवास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको छ। दिउँसो बानेश्वरमा मात्रै लागू गरिएको कर्फ्यु प्रदर्शन उग्र बन्दै गएपछि तत्कालै अन्य क्षेत्रमा पनि थप गरिएको हो।
कर्फ्यु आदेश जारी गरेका प्रमुख जिल्ला अधिकारी छवि रिजालले साँझ आफ्नो तस्बिर नै वेबसाइटबाट हटाएका छन्। सुनसरीको इटहरी उपमहानगर, कास्कीको पोखरा, रुपन्देहीको भैरहवा र बुटवलका चार किल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ।
ललितपुर प्रशासनले युएन हाउस, नयाँ मन्त्री निवास र नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय वरिपरि सभा, जुलुस, भेला र धर्ना निषेध गरेको छ।
अस्पताल भरिभराउ
जेनजी प्रदर्शनमा घाइते भएकाहरूले काठमाडौंका अस्पतालहरू भरिएका छन्, बेड नपुगेपछि भुईँमै राखेर उपचार भइरहेको छ। उपकरण र चिकित्सक अभावमा धेरैलाई नर्सहरूले नै उपचार गरिरहेका छन्।
नयाँ बानेश्वरस्थित निजामती सेवा अस्पताल (सिभिल) मा घाइतेहरूको चाप बढेपछि थप ४ चिकित्सक खटाइएको छ। स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालबाट ६ जना स्वास्थ्यकर्मी सिभिलमा पठाएको छ।
देशभर २५६ जना घाइते उपचाररत छन्। सबैभन्दा बढी १ सय जना सिभिल अस्पतालमा छन्। ट्रमा सेन्टरमा ४९ जना, वीर अस्पतालमा ६ जना, एभरेस्टमा ३४, पाटनमा ४, केएमसीमा ३१, त्रिवि शिक्षण अस्पतालमा १८, नर्भिकमा ३, गण्डकी मेडिकल कलेजमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र झापाको दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
ट्रमा सेन्टरमा मृतक र घाइतेका आफन्तमाथि प्रहरीले लाठी प्रहार गरेको, सिभिल अस्पतालभित्रै धरपकड गरिएको घटनाले तनाव थपिएको छ। स्वास्थ्य मन्त्रालयले रगत अभाव हुन सक्ने भन्दै १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रमुख स्थानहरूमा तोडफोड र आक्रमण
पहिलो दिन नै सङ्घीय संसददेखि प्रधानमन्त्रीको गृह जिल्ला झापा र विभिन्न दलका कार्यालयहरू जेनजीको निशाना बने। झापामा प्रधानमन्त्री ओलीको निवासमा ढुंगामुढा भयो, सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगजनी, रुपन्देहीमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा ठुलो क्षति पुगेको छ।
बुटवलमा एमाले प्रदेश कार्यालय घेराउ, कांग्रेस सभापति रामकृष्ण खाँणको कार्यालय परिसरमा रहेका सवारीसाधनमा तोडफोड, भैरहवामा दिनभर प्रदर्शन भएको छ।
कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि शान्तिपूर्ण र्याली, गण्डकीमा आगजनी प्रयास, विराटनगरमा मालपोत कार्यालयभित्र नाराबाजी, धरान उपमहानगर कार्यालय प्रवेश, चितवन र हेटौडामा प्रदर्शन भएका छन्।
काभ्रेको बनेपा चारदोबाटोमा भएको प्रदर्शनले एक घण्टा अरनिको राजमार्ग अवरुद्ध भएको छ। ‘गोली हान्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाब दे’जस्ता नाराले सडक गुन्जिएको छ।
मिडियामाथि आक्रमण,पत्रकार घाइते
शान्तिपूर्ण भनिएको प्रदर्शनमा थाहा मिडियामाथि आक्रमण भएको छ। काठमाडौँको माइतीघरमण्डलास्थित थाहा खबरको कार्यालयमा ढुङ्गा प्रहार भएको हो। काठमाडौँको बानेश्वर सडकमा प्रदर्शन गरेर फर्कने क्रममा पौने ५ बजे ढुङ्गा प्रहार भएको छ।
ढुङ्गा प्रहारबाट भवनको झ्यालका सिसाहरू फुटेका छन्। उक्त समूहले बबरमहल–माइतीघर सडकको पारीबाट निरन्तर अन्धाधुन्ध ढुङ्गा हान्दा थाहा रेडियो र थाहा खबरको कार्यालयका सिसा फुटेको हो। केहीछिन पछि बानेश्वरबाट प्रहरी टोली आएपछि ढुङ्गा हान्नेहरू भागेका थाहा मिडियाले जनाएको छ।
बिहान बानेश्वर चोकमा रहेको थाहा सञ्चार नेटवर्कको अर्को भवनमा पनि ढुङ्गा प्रहार भएको थियो। निर्वाधरुपमा सूचना प्रवाहमा सक्रिय रहेको थाहा खबरको कार्यालयमा ढुङ्गा प्रहार भएकामा थाहा मिडिया ग्रुपले निन्दा र भर्त्सना गरेको छ।
जेनजी समूहले बानेश्वरमा गरेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुङ्गाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की,स्वतन्त्र पत्रकार शम्भु दंगाल र कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ लगायत पत्रकारहरू प्रहरीले चलाएको गोली लागि गम्भीर घाइते भएका छन्। उनीहरूको पाटन लगायतका अस्पतालमा उपचार भइरहेको छ।
घुसपैठ भएकै कारण हिंसा फैलिएको दाबी
जेनजी आन्दोलनले आफ्नो शान्तिपूर्ण आन्दोलनमा बाहिरिया घुसपैठ भएकै कारण हिंसा फैलिएको दाबी गरेको छ। आन्दोलनले विज्ञप्ति जारी गरेर संसद् भवन घेर्ने वा आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ।
विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण राख्ने तयारी भइरहेका बेला तोडफोड र संसद् भवनभित्रै प्रवेशको प्रयासले आन्दोलनलाई गलत मोडमा पुर्याएको लेखिएको छ। युवा आन्दोलनलाई राजनीतिक दलहरूले जस लिन खोजेको आरोप पनि जेनजी आन्दोलनले लगाएको छ।
दुर्गा प्रसाईँदेखि रास्वपाका नेतासम्मले आन्दोलनलाई आफ्नो नाममा जोड्न खोजेको, जेलमा रहेका रवि लामिछानेले समेत पत्रमार्फत हस्तक्षेप गर्न खोजेको अभियन्ताहरूको भनाइ छ।
संसद् भवनको पर्खालमाथि चढ्ने समूहलाई व्यवस्थापन गर्न गृह प्रशासन असफल भएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका छन्।
शान्तिपूर्ण आन्दोलनमा दमन बन्द गर्न माग गर्दै जेनजी आन्दोलनले सरकारको तत्काल राजीनामा पनि माग गरेको छ। आन्दोलनले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा दमन बन्द गर, हत्यारा सरकार राजीनामा दे, हाम्रो आन्दोलन जारी छ भनिएको छ।
भ्रष्टाचारको अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आह्वान गरिएको आजको प्रदर्शनमा सरकारले अनावश्यक बल प्रयोग गरेर निहत्था युवा र विद्यार्थीको हत्या गरेको आरोप लगाइएको छ।
माइतीघरबाट नयाँ बानेश्वरसम्म शान्तिपूर्ण ढङ्गले पुगेको प्रदर्शनलाई प्रहरीले गोली प्रहार गरी उत्तेजक बनाएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
जेनजी आन्दोलनले सरकारको कदमलाई अधिनायकवादी भनेको छ। आन्दोलनले देश युवाको भविष्य हो भन्दै भ्रष्ट र हत्या गर्ने सरकारले भविष्य कब्जा गर्न नपाउने चेतावनी दिएको छ।
शाहदत प्राप्त साथीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै जेनजी आन्दोलनले आन्दोलन निरन्तर रहने घोषणा गरेको छ। आन्दोलन सुरुमा शान्तिपूर्ण भए पनि रणनीतिक घुसपैठकै कारण हिंसात्मक बनेको अभियन्ताहरूको दाबी छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.