"/>
काठमाडौं — देशको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले लिएको छ। जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले दुईतिहाई बहुमतको सरकार ढलेपछि, राजधानीका सडकमा सेना परिचालन गरिएको हो।
भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको विरोध अचानक हिंसात्मक बन्दै गएपछि भोलिपल्टै कर्फ्यु जारी गरिएको थियो। तर, कर्फ्युबीचै आन्दोलन अराजकतातिर मोडिन पुग्यो।
सरकारी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा आगजनी र तोडफोड भयो। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, सङ्घीय संसद् भवन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपति भवन शीतल निवाससम्म जले। यस घटनाले मुलुकको शक्ति केन्द्र नै क्षतविक्षत बनेको छ।
सुरक्षाकर्मीले नियन्त्रण गर्न सक्ने स्थिति नरहेपछि राजनीतिक दलका शीर्ष नेतृत्वको ज्यान जोगाउनसमेत मुस्किल भएको छ। आन्दोलनकारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा आगो लगाउँदा उनकी पत्नी रविलक्ष्मी चित्रकारको *गम्भीर अबस्थामा उपचार भइरहेको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा भने आन्दोलनकारीको कुटपिटबाट घाइते भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास र प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेर भाग्नु परेको छ।
प्रधानमन्त्री ओलीको राजीनामासँगै देश पूर्ण रूपमा सरकारविहीन अवस्थामा पुगेको छ। नयाँ सरकार कसरी र कहिले गठन हुन्छ भन्ने विषयमा गम्भीर अन्योल छाएको छ। संसद् विघटन गर्ने वा नगर्ने, तत्कालीन मागअनुसार अर्ली इलेक्सनको घोषणा गर्ने कि नगर्ने भन्ने यथार्थतर्फ कसले ध्यान दिन्छ भन्ने कुरा अझै अनिश्चित छ।
राजनीतिक नेतृत्वको अभाव र असमर्थताले देश अस्तव्यस्त बनेको छ। राज्यका प्रमुख अङ्गहरू दिशाविहीन बन्दै गएपछि अराजक समूहहरूको गतिविधि बढ्दै गएको छ। सडकमा विरोध, तोडफोड, आगजनीजस्ता घटनाहरू भइरहेका छन्। यसले सर्वसाधारण नागरिकको जीवनयापन असुरक्षित र त्रसित बनेको छ।
नेतृत्वविहीनता र स्थिरताको कमीले मुलुकमा शान्ति सुरक्षामात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामै प्रश्न उठाएको छ। नयाँ सरकार गठन, संसद्को भविष्य र चुनावको मार्गचित्रबारे कुनै स्पष्टता नभएको कारण सर्वसाधारण झन् अनिश्चय र भयको वातावरणमा बाँच्न विवश भएका छन्।
सरकार र राजनीतिक दलका नेताहरूको दम्भ र जिद्दीपनकै कारण शान्तिपूर्ण आन्दोलनमा अनुचित फाइदा उठाउँदै केही समूहले सर्वसाधारणलाई आतङ्कित पार्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, लुटपाट र आगजनी गर्ने काममा सक्रिय भएको देखिएको छ। राति अबेरसम्म हिंसात्मक गतिविधि जारी रहँदा नेपाली सेनाले हस्तक्षेप गरी सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा सम्हालेको हो।
जेनजी आन्दोलनको नाममा घुसपैठ गरेर विभिन्न आपराधिक गतिविधि भएका छन्। कैदीलाई जेलबाट बाहिर निकाल्ने प्रयास भयो, सञ्चारमाध्यमका भवनहरूमा तोडफोड र आगजनी भयो। व्यापारिक कम्प्लेक्स, एटिएम बुथमा लुटपाट भयो। सार्वजनिक सम्पत्तिको हिसाब गर्नै नसकिने गरी क्षति भएको छ।
नेपाली सेनाले मङ्गलवार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैङ्क लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जनाएको छ। सेनाले यसलाई हालको परिस्थितिको अनुचित फाइदा उठाउने गतिविधि भएको स्पष्ट पारेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। तर, आन्दोलनको नेतृत्व कसले गरिरहेको हो भन्ने स्पष्ट हुन नसक्दा वार्ता सम्भावना अझै धुम्म भएको छ।
विभिन्न नाममा विज्ञप्तिहरू सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालमा जेनजी आन्दोलनका नाममा पोस्ट भइरहेका विज्ञप्तिहरूमा संयमता अपनाउन आग्रह गरिएको छ।
नेपालको इतिहासमै देशैभर एकैसाथ नियन्त्रणबाहिर गएको यति ठुलो आन्दोलन भएको सम्भवतः पहिलो पटक हो। पटकपटक शासन व्यवस्था ढल्दा पनि जीवितै रहेका सिंहदरबारका राणाकालीन भवनसमेत जलाइएका छन्।
जेनजी आन्दोलनको मूल मुद्दा भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र कानुनी शासनको स्थापनाका लागि थियो। तर, त्यसकै आवरणमा घुसपैठ गरेर कैदी भगाउने, लुटपाट गर्ने, आगजनी, तोडफोड, कुटपिट र सार्वजनिक सम्पत्ति नष्ट गर्ने कामले मुलुक नै घाइते भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भइरहेको हिंसात्मक घटनाबारे गहिरो दुःख प्रकट गर्दै शान्ति र स्थिरताको पक्षमा अपिल गरेका छन्।
सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै मोदीले आफू आज दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठक बसेर नेपालको पछिल्लो घटनाक्रमबारे विस्तृत छलफल गरेको जानकारी दिएका छन्।
“नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ,” मोदीले लेखेका छन्।
उनले नेपालको स्थिरता, शान्ति र समृद्धि भारतका लागि पनि अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै, नेपालका दाजुभाइ दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्र अनुरोध गरेका छन्।

आन्दोलनका मागभन्दा बढी हिंसा, अराजकता र विध्वंसले देश हारेको स्थिति बनाएको छ। देश जलिरहँदा, सर्वसाधारण त्रसित भइरहँदा प्रश्न उब्जिएको छ, देशले हार्दा को जित्यो?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.