निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आन्दोलनका क्रममा खोसिएका हतियार बुझाउन सेनाको अपिल

आन्दोलनका क्रममा खोसिएका हतियार बुझाउन सेनाको अपिल

1.6k
SHARES

काठमाडौं — निषेधाज्ञा र कर्फ्यु निरन्तर कायम रहेको नेपाली सेनाले जनाएको छ। देशको समग्र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा भदौ २५ गते बेलुकी ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले जनाएको छ।

तत्पश्चात् भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी हुने उल्लेख गरिएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति निकालेर परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने जानकारी गराएको हो।

विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न प्राप्त भएको सहयोगप्रति नेपाली सेनाले सबै राष्ट्रवासीप्रति कृतज्ञता प्रकट गरेको छ।

आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्य गर्न सेनाले सबैमा आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंस्रक आक्रमण र बलात्कारका प्रयासजस्ता गतिविधि गरिरहेका र गर्न सक्ने सम्भावना रहेको छ।”

नेपाली सेनाले अनधिकृत हातहतियार तथा गोलीगठ्ठा सुरक्षाकर्मीलाई बुझाउन पनि आग्रह गरेको छ। जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीबाट लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा तथा सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई तत्काल बुझाउन अनुरोध गरिएको छ।

त्यस्ता हातहतियारको दुरुपयोगले जनधनमा क्षति हुन सक्ने भएकाले यसबारे कुनै जानकारी प्राप्त भएमा तुरुन्त सुरक्षा निकायलाई खबर दिन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न सेनाले आग्रह गरेको छ।

साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न समेत अनुरोध गरिएको छ। हतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत सेनाले दिएको छ।

त्यसैगरी, विद्यमान जटिल परिस्थितिका कारण नेपालमा रहेका र उद्धार वा अन्य सहयोगको पर्खाइमा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीसँग सम्पर्क गर्न सेनाले आग्रह गरेको छ।

त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घ–संस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पनि अनुरोध गरिएको छ।

सत्ता ढल्यो, मुलुक घाइते, सुरक्षा सेनाको हातमा

समाचार शेयर गर्नुहोस्
1.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.