आजको राजनीतिक द्विविधाको मूल समस्या के हो भने—जेन–जीलाई अझै स्पष्ट भएको छैन कि उनीहरूले यो सफल भ्रष्टाचार विरोधी विद्रोहपछि देशलाई पुनः निर्माण गर्ने पूर्ण म्यान्डेट पाइसकेका छन्।
यो सामान्य आन्दोलन होइन, जसमा माइतीघरमा जिन्दाबाद–मुर्दावादका नारामात्र गुन्जिन्छन् र अन्ततः वार्ताको टेबलमा पुगेर सेनासँग सम्झौता हुन्छ। यो त्यस्तो आन्दोलन हो, जसले राज्यसत्तालाई नै आत्मसमर्पण गराएको छ।
आज सिंहदरबार खरानीमा हराइसकेको छ, सरकार नाम मात्रको शब्द बनेको छ। राष्ट्रपति कार्यालय खरानीमा परिणत भएको छ, राष्ट्रपति त लुकेका छन्।
प्रतिनिधिसभा छैन, राष्ट्रियसभा छैन। जनप्रतिनिधि भनेर बाहिर निस्कने साहस कसैमा छैन। सर्वोच्च अदालतको ढाँचा भत्किसकेको छ, मिसिलहरू हराएका छन्, सर्वरहरू नष्ट भइसकेका छन्।
स्थानीय तहका भवन जलिसके, निर्वाचित सदस्यहरू भूमिगत छन्। ठुला भनिएका नेताहरू आफ्नै ज्यान जोगाउन मोबाइल बन्द गरेर अँध्यारोमा लुकेका छन्। सेनाले माइकिङ गर्दै वार्ताको आह्वान गरिरहेको छ, तर वार्ता गर्ने राज्य नै हराइसकेको छ।
देश अब शून्य अवस्थामा छ। संविधान निष्क्रिय कागजमा सीमित छ। यो वस्तुतः ‘कू’ हो—तर यसपटक सेनाले होइन, जेन–जीले गरेको। त्यसैले आन्दोलन सुन्दर होस् वा कुरूप, प्रिय होस् वा अप्रिय, यथार्थ एउटै छ: जेन–जी आन्दोलन सफल भएको छ।
र, सफल आन्दोलनसँग सधैँ संविधान फेरबदल गर्ने, शासन पुनः निर्माण गर्ने म्यान्डेट हुन्छ।
क्रान्तिले चुनावभन्दा ठुलो म्यान्डेट दिन्छ
माओवादीको दशकौँ लामो युद्ध संविधान बन्नु भन्दा अघि नै संसद् पुनःस्थापना गरेर टुङ्गिएको थियो। संविधानले रोकेन, राजनीतिक सहमतिले बाटो खोल्यो। किनभने सफल आन्दोलन वा युद्धले चुनावभन्दा ठुलो वैधता ल्याउँछ।
आज जेन–जी आन्दोलनसँग त्यो भन्दा ठुलो वैधता छ—किनभने यो हिंसात्मक युद्ध होइन, सिङ्गो राष्ट्र उठेको विद्रोह हो। यस विद्रोहले सम्पूर्ण शासन संरचना ढालिसकेको छ। त्यसैले अहिले संविधानको धारा–उपधारामा अड्किनु जनताको विजयमाथि गद्दारी गर्नु बराबर हुन्छ।
यदि संविधानले रोक्छ भने, त्यसैलाई संशोधन, खारेज वा निष्क्रिय पार्ने अधिकार यही आन्दोलनसँग छ। यही नै वास्तविकता हो।
अब के गर्ने?
जेन–जीलाई अहिले सबैभन्दा ठुलो खतरा भनेको भ्रामक सल्लाह हो—जसले भन्छ: “पुरानो संविधान पालना गरेर मात्र नयाँ सरकार बनाउन सकिन्छ।”
यो ठ्याक्कै गलत हो।
विद्रोहले पुरानो संविधान पालना गर्नुपर्ने होइन, बरु नयाँ संविधानको बाटो खोल्ने हो।
त्यसैले आन्दोलनकारीहरूले ढिलो नगरी :
१, आफ्नै नेतृत्व छान्नुपर्छ,
२, अन्तरिम सरकार गठन गर्नुपर्छ,
३, अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट सन्देश दिनुपर्छ—यो शून्य देश होइन, नयाँ नेपालको प्रारम्भ हो।
यसका लागि पुराना राष्ट्रपति, पुराना प्रधानमन्त्री, पुराना संसद् वा दलहरूबाट अनुमोदन खोजिरहनुपर्ने छैन। उनीहरू त जनतासामु पराजित भइसके।
अन्तिम शब्द
देशभरका जनताले जेन–जीको विद्रोहलाई साथ दिएका छन्। त्यसैले यो आन्दोलन अल्पकालीन भावनात्मक विस्फोट होइन—यो ऐतिहासिक मोड हो।
अब भ्रममा नपरीकन, जेन–जीले आफैँ जिम्मेवारी लिनुपर्छ—सरकार बनाउन, शासन चलाउन, संविधान फेरबदल गर्न। सबै म्यान्डेट यही आन्दोलनसँग छ।
यसले ल्याएको नयाँ इतिहासलाई कमजोर बनाउन खोज्ने दलालहरू, पुराना दलका असफल नेताहरू र ‘संविधानमै बाँधिनुपर्छ’ भन्ने आवाजलाई जनताले नकारिसकेका छन्।
जेन–जी, अघि बढ। यो क्षणलाई नछोड।
यो तिम्रो नेतृत्वमा जन्मिएको नयाँ नेपाल हो।
(लेखक सुनिल बाबु पन्त संविधान सभा सदस्य हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.