देशभर चलेको जेनजीको रापले काठमाडौँमा प्रहरीको गोली लागी बागलुङ बजार स्थायी घर भएका ३८ वर्षीय सौरन किशोर श्रेष्ठले गत भाद्र २३ मा ज्यान गुमाए।
देशमा केही काम गरौँ भन्ने सोचेर नै उनले पाँच वर्ष अघि दक्षिण कोरियाको जागिर छाडेर स्वदेश फर्किएका थिए। उनै सौरनको जेनजी आन्दोलनमा प्रहरीले चलाएको गोली छातीमा लागेर मृत्यु भएको छ।
परिवारका अनुसार सोमबार दिउँसो आन्दोलन हिंसात्मक भइरहेका बेला प्रहरीले चलाएको गोली सौरनको छाती, घाँटीको भागमा लागेको थियो। घटनास्थलमै ढलेका उनलाई तत्कालै सिभिल अस्पताल लगिएको थियो। तर, अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो। राति चिकित्सकले मृत घोषणा गरेका थिए।
दाइको यस्तो खबर सुनेर बहिनी स्वस्तिका श्रेष्ठ बिहीबार काठमाडौँ आएकी छिन्। सौरन बागलुङ उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव रहेका बसन्त किशोर श्रेष्ठका एक्ला छोरा थिए।
दक्षिण कोरियामा पाँच वर्ष काम गरेर नेपाल फर्किएका सौरनले यहीँ बसेर काम गर्ने योजना बनाएका थिए। तर यहाँको अवस्थाप्रति असन्तुष्ट हुँदै उनले फेरि विदेशमा रोजगारी खोज्ने तयारी समेत थालेका थिए। तर उनको सबै सपना अपूर्ण बनेको छ। जेनजी आन्दोलनसँगै उनको सपनाको पनि अन्त्य भएको छ।
सौरनसँगै उनकी पत्नी, पाँच वर्षीय छोरा र बुवा आमा सँगै काठमाडौं बस्दै आएका थिए। केही समय पहिले आमा–बुवा अमेरिका गएको बेला उक्त घटना भएको थियो। मृतकका बुवा बसन्त पनि बिहीबार मात्र स्वदेश फर्केका छन्। अहिले सौरनको निधनसँगै पत्नी र परिवार भावविह्वल बनेको छ। उनीहरूको सहारा गुमेको छ र बच्चा टुहुरो बनेका छन्।
यो केवल एउटा घटना मात्र होइन दशकौँको मौन पीडा र अन्याय, भ्रष्टाचार विरुद्धको सामूहिक विस्फोट थियो। यसलाई यसै खेर जान नदिन परिवारले राज्यसँग सहिद वा सम्मानको माग गरेको बताएका छन्।
सौरन स्कुल–कलेज पढ्दै गरेका युवा विद्यार्थीसँगै सोमबार सडकमा निस्किएका थिए। भ्रष्टाचार, बेथिति अन्त्यको नारा लगाए। अभिव्यक्ति स्वतन्त्रता नखोस्न खबरदारी गरे। सामाजिक सञ्जालबाट दिएको दबाब सुनिरहेका थिएनन् शासकहरूले। शासकहरूले सामाजिक सञ्जाल बन्द गरेर सडकमा निम्तो दिएपछि निस्किएका थिए उनीहरू।
युवा विद्यार्थीलाई अगाडि सारेर राजनीतिक अभीष्ट पुरा गर्न ताउर–माउर गरिरहेको समूहले घुसपैठ गर्यो। जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसेर दाइ र बा पुस्ताले अशान्ति मच्चायो। जेनजी पुस्तालाई सडकमा उत्रेर प्रदर्शन गरेको अनुभव थिएन। सत्ताको विरोधमा रहेको दाइ र बा पुस्ता सघाउन आएको होला भन्ठाने।
दाइ र बा पुस्ताको अभीष्ट भ्रष्टाचार, बेथिति अन्त्यको थिएन सिधै व्यवस्था परिवर्तनकै माग थियो। कलिला जेनजी पुस्तालाई के थाहा दाइ र बा पुस्ताले बलिमा चढाउँलान भनेर। तर, दाइ र बा पुस्ताले घुसेर जेनजी पुस्तालाई बलिमै चढाए।
सोमबारको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुगिसकेको छ। सयौँ घाइतेमध्ये कतिपय उपचारपछि घर फर्किएका छन्। अझै कतिपय अस्पतालको बेडमा छटपटाइरहेका छन्। दाइ र बा पुस्ताले जेनजी पुस्तालाई पहिलो दिन प्रयोग मात्र गरेनन् मृत्यु नै गराए।
जेनजी प्रदर्शनलाई देखाएर राजनीतिक स्वार्थको रोटी सेक्नेहरूको भेष्टेड इन्ट्रेस्ट बिस्तारै खुल्दै पनि गएको छ। मङ्गलवार अवस्था तनावपूर्ण बनाउन पनि दाइ र बा पुस्ता सफल बने। अघिल्लो दिन रक्ताम्मे नबनाएको भए सायद भोलिपल्ट संवैधानिक र प्रशासनिक महत्त्वपूर्ण दस्ताबेज जल्ने थिएनन्। जेलबाट कैदी भाग्ने थिएनन्। जेलबाट भाग्दै गर्दा गोली लागेर मर्ने थिएनन्।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक घटना गराएको राजावादी समूहले जेनजीको प्रदर्शनलाई आफ्नो हतियार बनाएको प्रस्ट देखियो। सरकारको विरोध गर्ने प्रचण्ड, सहकारीको रकम ठगी गरेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका लागि जेनजीको प्रदर्शन बदला लिने उपयुक्त बाटो बन्यो। जुन भरखरैको पुस्ता जेनजीले कुनै अत्तोपत्तो नै पाउन सकेन।
फस्यांगफुस्लुङ पारामा दाइ र बा पुस्ताले देशलाई नै तहस–नहस पारे। सर्वोच्च अदालत जलाए, सिंहदरबार खरानी बनाए।
थाहा पत्तो नपाएको जेनजी पुस्तामाथि दोष थोपरेर उनीहरू अहिले पनि राजनीतिक अभीष्ट पूरा गर्ने ताउर–माउरमै छन्। जेनजी पुस्ताले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री बन्छु भनेका छैनन्। तीन दशकदेखि बा पुस्ताले देशलाई भड्खालोमा पुर्याए, अब हाम्रो चाहना अनुसार बनाउँछौ, छोडिदिनुहोस् मात्र भनेका छन्।
उनीहरूले अभिभावकको रूपमा सुशीला कार्कीलाई आमा मानेका छन्। “आमाको काखमा बढ्न चाहन्छौँ” भनेका छन् जेनजी पुस्ताले। दाइ र बा पुस्ताले गरेका राम्रो काम संविधानको रक्षा गर्दै नराम्रा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मात्रै भनेका छन् जेनजी पुस्ताले। अरू के नै पो मागेका छन् र झुलाएर अलमल्याउने काममा लागेका हुन् फेरि दाइ र बा पुस्ता?
दाइ र बा पुस्ताको जुन तौरतरिकाविरुद्ध युवाले बलिदानी दिए, अहिले फेरि त्यही परम्परा कायम गर्न खोज्नु देशका लागि अर्को दुर्भाग्य हो। कम्तीमा राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओलीले गरेको जस्तो गल्ती नगरुन्।
सौरनजस्ता युवाको सपना खरानी बनाउने शासकलाई फेरि त्यही भूमिकामा फर्काउने साहस राष्ट्रपति पौडेलले देखाउन नहुने हो। तत्काल कसैसँग मोलतोल नगरी संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नु नै राष्ट्रपति पौडेलको देशप्रतिको सच्चा र राष्ट्रभक्तिपूर्ण निर्णय हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.