निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भक्ति र त्यागकी अद्वितीय प्रतीक-अक्का महादेवी

भक्ति र त्यागकी अद्वितीय प्रतीक-अक्का महादेवी

1.6k
SHARES

अक्का महादेवी दक्षिण भारतकी प्रसिद्ध शिवभक्त कवयित्री हुन्। उनको जन्म सन् ११३० मा कर्नाटकको शिवमोग्गा जिल्लाको शिकारीपूर गाउँमा भएको थियो। उनका पिता निर्मल शेट्टी र माता सुमति दुवैजना शिवभक्त थिए। दश वर्षको उमेरमै महादेवीले शिवमन्त्रको दीक्षा लिएकी थिइन्।

सानैदेखि उनले शिवभक्तिमा आधारित पदहरू रचेर गाउने गर्थिन्। महादेवीको भगवान् शिवप्रतिमाधुर्य भक्ति थियो। शिवभक्तिमा आधारित अनेक वचन–पदहरूको रचना गरिन्। उनका वचन-काव्यलाई कन्नड साहित्यमा ठूलो योगदान मानिन्छ। उनले ४३० वचन (पद)हरूको रचना गरेकी थिइन्। अक्का महादेवीले आफ्ना कवितामा भगवान् शिवशङ्करको अत्यन्त जीवन्त चित्रण गरेकी छिन्। उनी भन्छिन्-“मेरो शरीर मात्र स्त्री शरीर हो; तर मेरो मन र आत्मा सबै शिवकै हुन्।“

शिवभक्तिमा तल्लीन रहँदै जब महादेवी युवावस्थामा पुगिन, उनका अनुपम सौन्दर्यले जो कोहीलाई पनि मोहित पार्थ्यो। त्यही समयमा जब उनी एक दिन नदीकिनारमा शिवको पूजा गरिरहेकी थिइन्, त्यहाँको राजाकौ शिकको नजर उनीमाथि पर्‍यो। महादेवीको असिम सौन्दर्यले मोहित भई राजाले उनीसँग विवाह गर्ने इच्छा प्रकट गरे। तर महादेवीले विवाहलाई अस्वीकार गरिन्। उनले स्पष्ट भनिन्-“मेरा पति त केवल शिव हुन्।“ उनले राजालाई भनिन् कि उनले आफ्नो पति केवल चेन्नमल्लिकार्जुन (भगवान् शिव) लाई मात्र मानेकी छिन्।

उनी भगवान् शिवलाई“चेन्नमल्लिकार्जुन”,अर्थात्“सुन्दर चमेली फूलजस्तो उज्यालो र सुन्दर प्रभु”भनेर सम्बोधन गर्थिन्।

तर राजाले आफ्नो परिवारमार्फत दबाब सिर्जना गरी अन्ततः महादेवीलाई विवाह गर्न बाध्य बनाए। सांसारिक जीवनमा अक्का महादेवीले राजासँग विवाह त गर्नुपर्‍यो, तर उनी पत्नी धर्म निभाउन तयार भइनन्। राजा कौशिकलाई लागेको थियो कि विवाहपछि महादेवी आफ्नो हट त्याग्नेछिन्। त्यसैले उनले विभिन्न तरिकाले आफ्नो प्रेम प्रकट गर्न खोजे। तर महादेवी आफ्नो अडानमा दृढ रहिन्।

महादेवीको यो अडानले राजा त्रसित र क्रोधित भए। उनले भने-“यस्ता पत्नीलाई राखेर के उपयोग?”त्यसपछि यस विषयको अन्तिम निर्णयका लागि राजाले उनलाई दरबारको विशाल सभामा उभ्याए।

सभामा सबैको अगाडि महादेवीले खुलेर भनिन्-“मेरा पति महादेव नै हुन्।” यो सुनेर राजाको क्रोध अझ बढी भड्कियो र उनले भने-“यदि तिम्रो विवाह अरूसँग भइसकेको हो भने, यहाँ के गरिरहेकी छ्यौ? तुरुन्तै यहाँबाट जाऊ।“

राजाले जब अक्का महादेवीलाई दरबारबाट जाऊ भने, महादेवी शान्त भावले त्यहाँबाट निस्कन लागिन्। यो देखेर राजालाई आफ्नो अपमान भएको अनुभव भयो। क्रोधित हुँदै उनले गर्जेर भने-“महादेवी! तिमीले शरीरमा लगाएका सबै वस्त्र र गहनाहरू मेरा हुन्। यी सबै लिएर तिमी कहाँ जान्छ्यौ? यी सबै यहीँ छोडेर मात्र जान सक्छ्यौ।

भरिएको राजसभामा अठार वर्षकी युवती अक्का महादेवीले कुनै हिचकिचाहट बिना आफ्ना सबै गहना र वस्त्र उतारेर त्यहाँ छोडिन् र नाङ्गै राजदरबारबाट बाहिर निस्किइन्।

सांसारिक जीवनमा उनले एक राजासँग विवाह गर्नुपरे पनि, आफ्नो शिवभक्तिको लागि दरबारभित्रै वस्त्र, गहना र राजमहलसम्म त्याग गरिन्। शिवभक्तिप्रति अटल रहेर अक्का महादेवीको त्यो समयको नारी–साहस अद्वितीय मान्नुपर्छ।

राजमहल छोडेपछि महादेवी तत्कालीन दक्षिण भारतका प्रख्यात शैव सन्तहरूको आश्रयस्थल कल्याण भन्ने स्थानमा गइन् र सत्सङ्गमा रहिन्। यसले उनको शिवप्रतिको भक्ति अझ प्रगाढ बनायो। त्यहाँ उनी अनुभव मण्डपमा सहभागी भइन्, जहाँ भक्ति, दर्शन र समाज सुधार जस्ता विषयमा खुला बहस हुन्थ्यो।

महादेवी दिनहुँ त्यहाँका सभामा निर्भीक भएर आफ्ना विचार प्रस्तुत गर्थिन्। उनका धार्मिक, दार्शनिक, तात्त्विक, सामाजिक र लैङ्गिक विचारले सबैको मन छुन्थ्यो। उनका काव्य र वचनहरूले ती ज्ञानी सन्तहरूलाई पनि चकित बनाउँथ्यो।

उनी एक शैव-भक्तिनी, दार्शनिक र समाज सुधारकको रूपमा प्रसिद्ध भइन्। समाजले उनलाई सम्मान स्वरूप“अक्का”उपाधि दिएको थियो, जसको अर्थ हो-दिदी ।

अक्का महादेवीले आफ्नो बाँकी जीवन साध्वीको रूपमा मन्दिर र गुफामा बिताइन्। उनी आजीवन शिवभक्तिमा लीन भइन् र सम्पूर्ण जगत् शिवमय देखिन्। हरेक कण, झारपात, रुख, पानी ढुङ्गा र हावामा उनले परम शिवलाई अनुभव गरिन्।

अक्का महादेवीको जीवन साहस, नारी स्वतन्त्रता, लैङ्गिक समानता र गहिरो साधनाको प्रतीक हो। उनी समाजमा अवहेलित र प्रताडित नारीहरूको आदर्श बनिन्। समान अधिकार, पुरुष वर्चस्वको विरोध, साहस, स्वतन्त्रता र स्पष्ट अडान देखाएको उनको जीवन युगौँसम्म समाजका लागि प्रेरणा स्रोत हुनेछ।

उनले शिव साधनाका लागि राजमहलको सुख त्यागिन् र समाजलाई चुनौती दिँदै प्रत्येक व्यक्तिलाई आत्मान्वेषण र ईश्वरत्वको अधिकार छ भन्ने देखाइन्। उनी क्रान्तिकारी, समाज सुधारक, महान् भक्त र कवयित्री थिइन्। उनलाई कन्नडकी मीरा पनि भनिन्छ। सन् ११६० मा उनी श्रीशैलममा भगवान् शिवसँग एकाकार भइन्।

अक्का महादेवी भन्थिन्-“स्त्री र पुरुषबीच प्राकृतिक रूपमा हुने शरीरगत भिन्नता बाहेक अरू सबै समान छन्। स्त्री र पुरुषले समान धार्मिक मात्र होइन, साहित्यिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकार पनि पाउनुपर्छ।“

उनी भन्थिन्-“ज्ञान सूर्यजस्तै हो, भक्ती सूर्यकिरण जस्तै। सूर्यबिना किरण हुँदैन, किरणबिना सूर्य हुँदैन। त्यसरी ज्ञानबिना भक्ति र भक्तिबिना ज्ञान कसरी हुन सक्छ…?”

यसबाट महादेवीले देखाउँछिन् कि साँचो ज्ञान र भक्ति एकअर्कासँग अविभाज्य छन्।

सम्पूर्ण जीवन यात्रामा उनले पशु-पक्षी र वृक्षवल्लीहरूसँग संवाद गर्दै बिताइन्। प्रकृतिमै प्रकट भएको परम शिवसँग उनको सम्बन्ध दिनहुँ गाढा हुँदै गएर अन्ततः उनी एकाकार भइन्। यही कारणले सम्पूर्ण प्रकृतिबाट प्राप्त ईश्वरीय अनुभूतिको दिव्य स्वर आज पनि उनका वचनहरूमा स्पष्ट सुनिन्छ। महादेवीले प्रकृतिका प्रत्येक तत्त्वमा परम शिवको उपस्थिति देखाउँछिन्।

कृष्णभक्त कवयित्री मीराबाईले जस्तै, जसले कृष्णलाई आफ्नो प्राणप्रेम मानेकी थिइन्, महादेवीले पनि भगवान् शिवप्रति त्यस्तै अनुपम प्रेम व्यक्त गरेकी थिइन्। उनको वैवाहिक जीवन पनि कतै–कतै मीराबाईकै जीवनसँग मिल्दोजुल्दो पाइन्छ।

शिवकी प्रेम दीवानी अक्का महादेवीले समाजका सबै नियम र बन्धनहरू तोडेकी थिइन्। उनले आफ्नी आमाले समाजमा फर्किन गरेको आग्रहको उत्तरमा कवितामा स्पष्ट भनेकी छन्- “समाजका नियम र सांसारिक बन्धनभन्दा शिवप्रेम नै मेरो जीवनको साँचो ध्येय हो।“

महादेवीका कवितामा स्वतन्त्रता, समानता, बन्धुत्व र न्यायका विचार प्रकट भएका छन्। यसले उनलाई मानव मुक्ति र आध्यात्मिक आकाशमा स्वतन्त्रतापूर्वक विहार गर्ने क्षमता प्रदान गर्‍यो।

अत:अक्का महादेवी एक महान् कवयित्री र परम शिवभक्त थिइन। उनको जीवनले हामीलाई भगवानप्रति सच्चा श्रद्धा र भक्ति गर्न तथा न्याय र सत्यप्रति सधैँ अडिग रहन सधैँ प्रेरणा दिन्छ।

यो पनि : बुद्धत्व प्राप्तिको सहज मार्ग हो – श्वासमा सजग रहने अनापानसति

समाचार शेयर गर्नुहोस्
1.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.