अमेरिका – अमेरिकाको ह्यारिस्बर्ग, पेन्सिलभेनियास्थित हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचआरसी) ले नेपालमा शान्ति एवं समृद्धिको कामना गरेको छ। शनिवार नयाँ पुस्ता (जेनजी) को आन्दोलनमा निधन भएकाहरूको स्मरण गर्दै शान्ति, सुव्यवस्था कायम हुनुपर्ने बताएको छ।
ओएचआरसीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। ओएचआरसीले जेनजी पुस्तालाई पनि सहभागी गराएर कार्यक्रम गरेको, सञ्चालक सि.एम. निरौलाले जानकारी दिए।
कार्यक्रममा प्रकृति पोखरेल र आयुस्मा रिजालले जुनसुकै देशमा भए पनि जेनजीको कुरा सुनिनुपर्ने बताए। जेनजीलाई नजरअन्दाज नगर्न खबरदारी गरे। डा. तुलाराम न्यौपाने, रोहित दाहाल, टि.बि. गुरुङ, दीपक विश्वकर्माले नेपालमा शान्तिको कामना गरे।

कार्यक्रम सञ्चालकको तर्फबाट सि.एम. निरौलाले नेपाल भत्केको, टुटेको बताए। नेपालमा अब विकासको आवश्यकता रहेको औँल्याए। शान्ति एवं समृद्धिको कामना गरे। “हामीले जे जति सकिन्छ, जसरी सकिन्छ सहयोग गर्नु पर्छ,” निरौलाले भने।
ओएचआरसीका अनुसार हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन गैरनाफा मूलक धार्मिक एवं सांस्कृतिक संस्था हो। धार्मिक गतिविधिका साथै नेपाली भाषा संरक्षणका निम्ति कक्षाहरू सञ्चालन गर्दै आएको छ।
विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू हुँदै आएको बताएको छ। भर्खरै निर्माण भएको शिवालय र बिष्णुपादुका मन्दिर अमेरिकामा इतिहास बनेर रहेको दाबी ओएचआरसीले गरेको छ। कार्यक्रम अभि न्यौपानेले समापन गरेका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.