काठमाडौं – नयाँ पुस्ता (जेनजी) को परिवर्तनमा सहभागी तेस्रोलिंगीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समर्थन जनाएका छन्। प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्न काठमाडौं आएका साम्पाङले तेस्रोलिंगीसँग तस्बिर खिच्दै समर्थन जनाएका हुन्।
नेपाली सेनाले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नाम सिफारिस गर्न जेनजी समूहसँग आग्रह गरिरहेको बेला जनसमर्थन बटुल्दै चाबहिल पुगेका साम्पाङले बोलाएर समर्थन जनाएको तेस्रोलिंगी अधिकारकर्मी ज्ञानु लामाले बताइन्।
भदौ २६ गते चाबहिलमा साम्पाङसँग तस्बिर खिच्न भीड जम्मा भएको थियो। त्यतिबेला पुगेकी ज्ञानुलाई साम्पाङले बोलाएर तस्बिर खिचेका थिए। ज्ञानुले हर्कलाई नमस्ते गरिन्। उनले भनिन्, “म तेस्रोलिंगी महिला हुँ, सबैलाई हेरिदिनु होला।”
हर्कले, “बहिनी आउनु, म त्यस्तो छैन, फोटो खिचौँ,” भनेर अँगालो हालेर तस्बिर खिचेको ज्ञानुले बताइन्। हर्कले “राम्रो लाग्यो” भनेपछि ज्ञानु दङ्ग परिन्। उनले आफ्नो आँखै अगाडि पञ्चायत ढलेको देखिन्, गणतन्त्रमा स्वस्फूर्त सहभागी भइन्।
शासन व्यवस्था परिवर्तनको आन्दोलनमा प्रत्यक्ष सहभागी भएकी ज्ञानुको जीवनमा भने दुखै दुखको भारी थपिँदै गएको छ। समलिङ्गी–तेस्रोलिंगीको पहिचानसहितको अधिकारका लागि सडकमा आउँदा शरीरभरि नीलडाम हुने गरी प्रहरीको कुटाइ सहनुपरेको उनले सम्झिन्।
शरीरमा लागेको नीलडाम हराए पनि परिवारको गरिबी हट्न सकेको छैन। ज्ञानु भन्छिन्, “जेनजी पुस्ताको परिवर्तनमा म एकमनले खुसी छु, तर अर्को मनले यसअघिका शासकजस्तै परिवर्तन बोलीमा मात्र सीमित हुने हो कि भनेर चिन्तित पनि छु।”
ज्ञानु सुनिल बाबु पन्तले स्थापना गरेको ब्लु डायमन्ड सोसाइटीमा कार्यरत रहँदा प्रहरीको कुटपिटमा परेकी थिइन्। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आन्दोलनमा पटक–पटक अन्याय सहनुपरेको अनुभव गरेकी छिन्।
युएसएआइडीको ८ करोड रुपैयाँ गायब बनाएको ब्लु डायमन्डले नै अन्याय गरेपछि ज्ञानु हाल ‘मायाको पहिचान नेपाल’ मा कार्यरत छिन्। संस्थापक पन्तलाई समेत ब्लु डायमन्डले सम्पूर्ण विवरण गुपचुप राखेको छ। त्यही संस्थाबाट अन्याय भोगेकी ज्ञानुलाई मेयर हर्क साम्पाङको सम्मानले ठुलो हौसला मिलेको छ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा भ्रष्टाचारीलाई पाता पर्खाउने, गरिबी अन्त्य गर्ने र समलिङ्गी–तेस्रोलिंगीलाई समान अधिकार दिने जिम्मेवारी आएको ज्ञानुले बताइन्। उनले प्रधानमन्त्री सुशीलालाई भेटेर परिवर्तनको स्वाद अबको पुस्ताले लिन पाओस् भन्ने इच्छा प्रकट गरिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपाल’ का सचिव सुरेन्द्र पाण्डेले समावेशी मन्त्रिपरिषद् गठन गर्न सुझाव दिएका छन्। पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने जोडी हुन्।
‘मिस्टर गे हेन्डसम’ उपाधि प्राप्त मनिन्द्र सिंह दनुवारले राजनीतिक दलका नेताहरूको भ्रष्टाचार र बेथितिविरुद्ध भएको परिवर्तन अब व्यवहारमा उतार्न सबै लाग्नुपर्ने बताउँछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.