नेपालमा भइरहेको Gen Z को आन्दोलनले अन्ततः के परिणाम ल्याउँछ भन्ने कुरा त भविष्यले देखाउनेछ। तर आजको दिनमा एक कुरा स्पष्ट छ, आजका युवाहरू अब चुप लाग्ने वाला छैनन्।
उनीहरूले एकदमै ठुलो प्रश्न उठाएका छन् : “यस्तो कस्तो व्यवस्था हो, जसले नेताहरूका छोराछोरीलाई विदेशमा पढ्न, महँगा गाडी चढ्न, राम्रा घरमा बस्न दिने सुविधा दिन्छ, तर लाखौँ नेपाली युवाहरू अझै पनि खान, बस्न, पढ्न र रोजगारीको लागि सङ्घर्ष गर्दैछन्?”
आजका युवाहरू डराउँदैनन्। उनीहरू आफ्नै जीवनको अनुभवबाट बोलेका छन्। यो केवल विरोध प्रदर्शन होइन, यो चेतनाको आन्दोलन हो। जहाँ मुख्य विषयहरू छन् — बराबरीको अवसर, नेताको जिम्मेवारी, र न्यायपूर्ण व्यवस्था।
कसरी जनचेतनामा परिवर्तन आउन सक्छ?
१. बराबरीको सोच बलियो बन्नेछ
जब युवाहरू सोध्न थाल्छन्, “हाम्रो भागको मौका किन हामीबाट खोसिएको छ?” तब धेरैले सोच्न थाल्छन् कि हामी कुन सिस्टममा बाँचेका छौँ। यसले समाजमा समानताको सोच बढाउँछ।
२. राजनीतिप्रति चासो बढ्नेछ
पहिले राजनीति टाढाको कुरा लाग्थ्यो। अब सबै बुझ्न थालेका छन्, यो त हाम्रो दैनिक जीवनसँग जोडिएको कुरा हो। कर त हामी तिर्छौँ, तर फाइदा नेताका आफन्तलाई?
३. नेताहरूलाई जबाफदेही बनाउने दबाब
Gen Z ले नेताहरूलाई सन्देश दिएको छ, “हामी अब चुप लाग्दैनौँ।” अब नेताहरूले सबैका लागि काम गर्नैपर्छ, नत्र उनीहरूलाई जनताको आक्रोशको सामना गर्नुपर्छ।
अब नेतृत्व परिवर्तनको सम्भावना छ
यो आन्दोलनले नेताहरूलाई सोच्न बाध्य बनाउनेछ, राजनीति आफन्तलाई फाइदा दिन होइन, जनतालाई सेवा दिन हो।
अब युवा केवल प्रश्न गर्ने हैनन्, आफैँ राजनीतिमा लागेर देखाउनेछन् कि असल नेताहरू कस्ता हुन्छन्।
उनीहरू इमानदार, पारदर्शी र सेवामुखी बन्ने सपना देखिरहेका छन्। “राजनीति गन्हाएको खेल हो” भन्ने सोचलाई तोडेर, युवा पुस्ता सफा राजनीति ल्याउन अघि बढ्दैछ।
अब उनीहरू केवल माग गर्ने हैनन्, नेतृत्व गर्न तयार छन्।
आजका युवाहरूले सामाजिक सञ्जाल, सडक, र कानुनी बाटोबाट आफ्नो आवाज उठाइरहेका छन्। यो क्रम रोकिँदैन। अब नेताहरूले जवाफ दिनैपर्छ।
समस्या नेताहरूमा मात्र होइन, प्रणालीमै छ
नेपालमा समस्या केवल नेताहरूको भ्रष्टाचारले हो भन्ने सोच अधुरो हो। प्रशासन (सरकारी कर्मचारी), अदालत र प्रहरी पनि यति नै दोषी छन्। जब फाइल अगाडि बढाउन घूस दिनुपर्छ, जब मुद्दा पैसाले जितिन्छ, जब न्यायको सट्टा पहुँचले काम गर्छ, तब थाहा हुन्छ, समस्या प्रणालीमै छ।
यदि हामी केवल नेताहरूलाई दोष दिएर रोक्यौँ भने, सुधार सम्भव छैन। पूरा प्रणाली सुधार्न जरुरी छ। सबै निकाय प्रशासन, अदालत, प्रहरी, सरकार सबैलाई जिम्मेवार बनाउनु पर्छ। जनताको आवाजले सबैलाई सुधार्न बाध्य पार्नुपर्छ।
Gen Z ले उठाएको प्रश्न केवल अहिलेको गुनासो होइन, यो भविष्यको लागि हो। जब लाखौँ युवाहरू एउटै प्रश्न गर्छन्, “हाम्रो अवसर खोस्ने अधिकार कसलाई छ?” तब व्यवस्था हल्लिन्छ।
यदि यो चेतना अझ फैलियो, र युवाहरूले आफ्नो शक्ति सही तरिकाले प्रयोग गरे, नेपालमा सफा, जबाफदेही र जनताको लागि काम गर्ने राजनीति सम्भव छ।
तर त्यो परिवर्तन नेता मात्र होइन, पूरा सिस्टम सुधारेर मात्र सम्भव हुन्छ। “प्रश्न उठाउनु नै परिवर्तनको सुरुवात हो र आजको पुस्ताले त्यो सुरु गरिसकेको छ।”
(लेखक पन्त संविधानसभा सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अभियन्ता हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.