काठमाडौं – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारबाट न्याय पाउने आशा गरेका छन्। सरकारले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्।
जेनजी आन्दोलनमा सहभागी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले तेस्रोलिङ्गीलाई हरेक क्षेत्रमा रोजगारी पाउने कानुन बनाउन नयाँ सरकारलाई सुझाव पनि दिएका छन्।
रोजगारी पाए यौन पेसामा लाग्नु पर्ने अवस्था अन्त्य हुने उनीहरूले बताए। सिंहदरबार र सर्वोच्च अदालत जलाएको देख्दा मन रोएको पनि उनीहरूले सुनाए।
तेस्रोलिङ्गी टिना राईले सिंहदरबार र सर्वोच्च अदालत जलेको देख्दा मन रोएको बताइन्। भवनसँग खासै सरोकार नभए पनि प्रहरी चौकीमा कुटिकुटी ढुङ्गा हानी लखेटिएको देख्दा झन् मन रोएको उनको भनाइ थियो। “उहाँहरूको खासमा गल्ती थिएन, तर अति नै भयो, मान्छेको भ्यालु नै भएन,” उनले भनिन्।
मायाको पहिचान नेपालको केन्द्रीय कार्यालयमा भएको छलफलमा राईले गल्ती गर्ने छानेर सजाय दिनु जायज भएको बताइन्। “गल्ती गर्ने छानेर सजाय दिनु भनेको छुट्टै कुरा हो,” उनले भनिन्।
उनले आन्दोलनका क्रममा धनीमानीको घर जलाएर पैसा लुटिएको पनि देखेको अनुभव सुनाइन्। “ब्यागमा चोरेर समेत लगेको देख्दा दुख लाग्यो, धेरै ठाउँमा पैसा लुटियो, ठुलठुला धनीमानीको घर जलाइयो, कतिले लुटेर भागे,” उनले भनिन्, “बरु सेना, पुलिस बोलाएर त्यो पैसा राज्यको ढुकुटीमा जम्मा गरेको भए अहिले कति काम लाग्थ्यो होला।”
उनले अब देश राम्रो होस् भन्ने कामना गर्दै, जे भए पनि घाटा तेस्रोलिङ्गीलाई हुँदै आएको स्मरण गराइन्। “समुदायहरू नै पछि परिरहेका छन्, धेरैजसो सेक्सवर्करमै छन्, सबैभन्दा मर्का उनीहरूलाई नै पर्ने हो,” उनले भनिन्।
अन्तरिम सरकारले तेस्रोलिङ्गीलाई हरेक क्षेत्रमा रोजगारी पाउने कानुन ल्याउनुपर्ने सुझाव टिनाले दिइन्। “नयाँ सरकारले नयाँ कानुन ल्याउँदा तेस्रोलिङ्गीलाई हरेक क्षेत्रमा रोजगारी होस्, उनीहरूले सेक्सवर्कर नै भनेर बस्नु नपरोस्,” उनले भनिन्।
तेस्रोलिङ्गी सुमन तामाङले पनि राम्रो गर्ने भन्ने आशा लागेको बताए। उनले भने, “घरमा आमाले कस्तो व्यवहार गर्नुहुन्छ? आमा भएको परिवार राम्रो हुन्छ, आमा नभएको परिवार लथालिङ्ग हुन्छ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.