निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलनको चेतावनीका बाबजुद दलहरूभित्र पुराना नेताहरूको चुरीफुरी

जेनजी आन्दोलनको चेतावनीका बाबजुद दलहरूभित्र पुराना नेताहरूको चुरीफुरी

1.3k
SHARES

काठमाडौं – जेनजी आन्दोलनको दबाबमा गठन भएको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य चयन गर्न मतदानको मिति तोकेको छ। आन्दोलनको माग अनुसार प्रतिनिधिसभा विघटन भई चुनावको मिति घोषणा भएको हो।

तर, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जेनजी आन्दोलनको प्रमुख माग आजसम्म मागमै सीमित बनेको छ। अन्तरिम सरकारले भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग गठन नगरेका कारण भ्रष्टाचारी नेताहरू नै फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्ने शङ्का व्यक्त गरिएको छ। यसरी फेरि भ्रष्टाचारी नेताहरूकै पोल्टामा शासनसत्ता पुग्ने डर पैदा भएको जेनजी आन्दोलनकी जस्मिन ओझाले बताइन्।

टेरामस्क प्रकरणमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसले नै बहुमत ल्याउने दाबी गर्न थालेका छन्। पतञ्जलि जग्गा प्रकरणमा माधवकुमार नेपालले पार्टी कब्जा गरिरहेको आरोप छ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतबाटै पार्टी चलाइरहेका छन्। गिरीबन्धु टिस्टेट प्रकरणमा मुछिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्काउन महेश बस्नेतको टिम खटाएका छन्।

नेपाली कांग्रेसमा शेरबहादुर देउवाको विकल्प खोज्ने भनिएका युवा नेताहरू असफल बनेका छन्। भदौ २४ गतेको प्रदर्शनमा ज्यान जोगाएर भागेका नेताहरू आन्दोलन शान्त बनेसँगै फेरि पुरानै भाषणबाजीमा फर्किन थालेका छन्।

पार्टीकै दोस्रो तहका नेताहरूले राजीनामा मागिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यालय पुगेर पुनः सक्रिय भएको सन्देश दिएका छन्।

जेनजी पुस्ताको नाममा घुसपैठ गरेर नेताहरू पुनः राजनीतिमा सक्रिय हुने दाउमा देखिएका छन्। तर, पुरानै अनुहारलाई पुनः सत्ताको साँचो सुम्पनु जेनजी आन्दोलनको माग नभएको ओझाले स्पष्ट पारिन्।

जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति पनि असन्तुष्टि व्यक्त गर्न थालेका छन्। मन्त्रिपरिषद् विस्तार गर्दा जेनजी पुस्ताको पनि प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएको ओझाले बताइन्।

जेनजी आन्दोलनले दलहरूलाई प्रतिस्पर्धामै रोक्ने कुनै नीति नरहेको स्पष्ट पारेको छ। पुराना दलहरूबाट पनि नयाँ भिजनसहित नयाँ अनुहार आएमा आफूहरू स्वीकार गर्न तयार रहेको उनले बताइन्।

जेनजी आन्दोलनले अब प्रतिनिधिसभापछि प्रदेशसभा विघटन गर्नुपर्ने माग उठाएको छ। नकारात्मक कुरा त्यागेर अब सकारात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको जेनजी आन्दोलनका अनुराग शाहले बताए।

जेनजी आन्दोलनले चेतावनी दिइरहेका बेला दलहरूमा भने तिनै पुराना नेताहरूको चुरीफुरी सुरु भएको छ। जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रमा विस्फोट भएको छ। अध्यक्ष प्रचण्डको राजीनामा माग भएको छ र तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरिएको छ।

पार्टीभित्र नेतृत्वप्रति असन्तुष्टि राख्दै आएका नेताहरू जेनजीको नाममा झोक फेरिरहेका छन्। विभिन्न १६ बुँदे विश्लेषण सार्वजनिक गर्दै जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य सकिएको माओवादी उपमहासचिव जनार्दन शर्माले उल्लेख गरेका छन्। युवा नेता राजन दाहालले पनि तत्काल विशेष महाधिवेशन माग गरेका छन्।

समाचार शेयर गर्नुहोस्
1.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.