निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : टोपबहादुर डिल्लीबजार सरुवा, सागर अझै फरार

नक्कली भुटानी शरणार्थी : टोपबहादुर डिल्लीबजार सरुवा, सागर अझै फरार

फरार कैदीका कारण सुरक्षामा अतिरिक्त चुनौती

788
SHARES

काठमाडौं — जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझीसहित विभिन्न मुद्दाका ७ हजारभन्दा बढी कैदीबन्दी पुनः कारागार फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार मङ्गलवारसम्म फरारमध्ये ६ हजार ८ सय ४६ जना कैदीबन्दी तथा सुधार गृहतर्फका ३४१ जना सहित कूल ७ हजार १ सय ८७ जना प्रहरी सम्पर्कमा आएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी करिब दुई सातापछि कारागार फर्किएका हुन्। उनलाई डिल्लीबजार कारागार पठाइएको विभागले जनाएको छ।

तर सोही प्रकरणमा पुर्पक्षमै रहेका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे भने अझै प्रहरी सम्पर्कमा आएका छैनन्।

नख्खु कारागारबाट फरार भएका सोही प्रकरणका दुई अभियुक्त केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ।

सुनधारा कारागारबाट भागेका भुटानी प्रकरणका अर्का अभियुक्त सागर राई भने अझै पक्राउ परेका छैनन्। उनले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भुटानी प्रकरणको मुद्दा पुनः खोलिनुपर्ने (रिओपन) माग सार्वजनिक गरेका छन्। प्रहरीले उनलाई खोजी कार्य तीव्र पारेको जनाएको छ। केही फरार अभियुक्त भने विदेश भागेको आशङ्का समेत गरिएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा यसअघि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित दर्जनौँ नेताहरू पक्राउ परेका थिए।

सुन तस्करी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका ‘गोरे’ उपनामले परिचित मोरङ उर्लाबारीका चूडामणि उप्रेती पनि सुनधारा कारागार फर्किएको विभागले जनाएको छ।

अझै ७ हजार ३ सय बढी फरार

कारागार विभागको तथ्यांकअनुसार अझै ७ हजार ३ सय ६८ कैदीबन्दी प्रहरी सम्पर्कमा आएका छैनन्। जेनजी आन्दोलनको भदौ २३ र २४ गते दुई दिनमा मात्रै देशभरका १४ हजार ५ सय ५६ जना कैदीबन्दी फरार भएका थिए।

त्यसमध्ये नख्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरी फेरि आफैँ कारागार फर्किएका छन्। त्यस्तै, सहकारी ठगी अभियोगमा पक्राउ परेका रवि लामिछाने पनि पछि स्वेच्छाले कारागार फर्किएका छन्।

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये जबरजस्ती करणी, कर्तव्य ज्यानलगायतका गम्भीर अपराधमा दोषी ठहर भइसकेका व्यक्ति समेत रहेका कारण मुलुकभर सुरक्षा चुनौती बढेको प्रहरीको भनाइ छ। यसपटकको चाडपर्वमा समेत सुरक्षामा अतिरिक्त चुनौती देखिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले शान्ति–सुरक्षा कायम गर्ने विशेष योजनासहित प्रहरी अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार यसपटक प्रहरीले जनतासँगै प्रत्यक्ष गस्ती गर्ने छ।

घिमिरेले जेलबाट भागेका अपराधीबारे कुनै सूचना भए तुरुन्तै प्रहरीलाई खबर गर्न सबैलाई अनुरोध पनि गरे।

समाचार शेयर गर्नुहोस्
788
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.