काठमाडौं – कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधवार अमेरिका प्रस्थान गरेका छन्। उनीहरूले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्नेछन्।
विपिन जोशी सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा हमासद्वारा अपहरणमा परेका उनी विगत २४ महिनादेखि बेपत्ता छन्। उनको अवस्था अझै अज्ञात छ।
नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन। यसबीचमा जोशी परिवार निरन्तर अपिल र पहलमा सक्रिय छ र अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल जारी राखिरहेको छ।
यसअघि आमा–बहिनी इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुपर्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।
जोशी परिवारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीलाई भेटी विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए। त्यसपश्चात् सङ्घका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढाए।
अमेरिका बसाइमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्ने गैरआवासीय नेपाली सङ्घले जनाएको छ। क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष बिकाश उप्रेती, आइसिसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा आमा–बहिनीलाई सहयोग पुर्याउने र आवश्यक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
यसअघि एनआरएनए इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि ऐक्यबद्धता व्यक्त गरेको थियो। त्यस्तै, मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा समेत कूटनीतिक पहल तथा छलफलका लागि एनआरएनएले सहजीकरण गर्ने जनाएको छ।
यसबीचमा हमासले विपिन जोशीको बिदाइ तस्बिर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको उक्त तस्बिरले उनलाई युद्धकै परिस्थितिबाट नियन्त्रणमा लिइएको पुष्टि गरेको हो।
तर उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी बाहिर आएको छैन। जोशी परिवारले सो तस्बिरलाई विपिन जीवितै अपहरणमा परेको प्रमाणका रूपमा लिँदै निरन्तर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न अपिल गर्दै आएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.