काठमाडौं – काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गतको यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ। यी सामग्रीहरू नेपालमै उत्पादन भएका हुन्।
आर्थिक वर्ष २०८०/८१ मै यी सामग्री खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रियागत चुनौतीका कारण ढिलाइ भई २०८१/८२ मा खरिद गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। यसले काठमाडौं उपत्यकाको व्यस्त सडकमा ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महानगरपालिकाले गरेको छ।
सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकूल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ। पहिले सडकमा राखिने कोनहरूभन्दा अहिलेका कोन ठुलो भएकाले चालकलाई अनुशासित बनाउने अपेक्षा गरिएको उनले बताए।
यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका भएकाले मोटरसाइकल चालकहरूले सहजै हटाउने प्रवृत्ति पनि निरुत्साहित हुने निधिको भनाइ छ।

उनका अनुसार, “यी कोनहरू राति पनि स्पष्ट देखिन्छन्। एक सेटमा दुई ट्राफिक कोन र एउटा दुई मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ। यसरी जम्मा १,२५० सेट खरिद भएका छन्, जसमा २५ सय कोन र १,२५० बार रहेका छन्।”
निधिले थपे, “यी सामग्रीहरू काठमाडौँका मुख्य सडक खण्डमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न प्रयोग हुनेछन्।”
ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार मानिन्छ। यस अवधारणाअनुरूप पहिलो चरणमा यी कोनहरू तीन स्थानमा प्रयोग गरिएको हो, सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड।
विशेषगरी भद्रकाली–सिंहदरबार सडक खण्डमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारी चापलाई न्यूनीकरण गर्न सकिनेछ। यसरी व्यवस्थापन गर्दा माइतीघरबाट भद्रकालीतर्फ मोडिने सवारीसाधनले लेन निर्बाध रूपमा प्रयोग गर्न पाउनेछन्। यसले दुर्घटनाको जोखिम कम गर्नुका साथै ट्राफिक जाम पनि घटाउने अपेक्षा गरिएको छ।

कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमबीचको सहकार्यमा सम्पन्न गरिएको हो।
“ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। सहकार्य नै यसको आधार हो,” निधिले भने। उनका अनुसार, यी कोनहरू ब्याचवाइज प्रयोग गरी सरसफाइ गरेर पुनः प्रयोग गर्न सकिन्छ।
सडक प्रयोगकर्तादेखि व्यवस्थापन गर्ने निकाय र ट्राफिक प्रहरीसम्म सबैको सक्रिय भूमिका र सहकार्य अनिवार्य हुने निधिको भनाइ छ। उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन “डेटा–आधारित वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधि” को प्रयोग आवश्यक रहेको पनि बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.