निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अतिकम विकसित मुलुकको स्तरोन्नति रोक्न सरकारलाई निजी क्षेत्रको सुझाव

अतिकम विकसित मुलुकको स्तरोन्नति रोक्न सरकारलाई निजी क्षेत्रको सुझाव

591
SHARES

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ।

महासंघले नेपाल सन २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा अहिलेको परिस्थितिमा स्तरोन्नतिको निर्णय रोक्न सरकारले संयुक्त राष्ट्र सङ्घ समक्ष आग्रह गर्नु पर्ने सुझाव पनि दिएको छ।

युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसँगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासङ्घले आमसर्वसाधारण तथा उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुन मन्त्री अनिल कुमार सिन्हासँग महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडा भन्दा कडा कारबाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराए।

अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

“देशको समुन्नतिका लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासङ्घ सरकारसँग समन्वय एवं सहकार्य गर्न तयार छ। नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्बाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ”अध्यक्ष ढकालले भने।

उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुन मन्त्री अनिल कुमार सिन्हाले ठुलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सदाशयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताए।

उनले फरक परिस्थितिमा वर्तमान सरकार गठन भए पनि आम सर्वसाधारण र व्यावसायिक सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए। मन्त्री सिन्हाले मुलुकको उद्योग व्यवसायको पुनरुत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्र माथि प्रहार हुने गरेकोले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन आवश्यक रहेको धारणा राखे। उनले पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग एवं प्रयोग गर्नुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल सन २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा अहिलेको परिस्थितिमा स्तरोन्नतिको निर्णय रोक्न सरकारले संयुक्त राष्ट्र सङ्घ समक्ष आग्रह गर्नु पर्ने सुझाव दिए।

यस्तै उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आमरुपमा कानुनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताए।

उनीहरूले युवा (जेन जी) पुस्ताको आन्दोलन र चाहना बमोजिम भ्रष्टाचारमुक्त समाज निर्माण गरी सबै तहमा सुशासनको जग बसाल्नु आजको आवश्यकता भएको उल्लेख गर्दै आम नागरिकले वर्तमान सरकारबाट त्यो अपेक्षा गरेको धारणा राखे।

समाचार शेयर गर्नुहोस्
591
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.