काठमाडौं – ग्लोबल आइएमई बैङ्क लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ।
यस योजनामा ग्लोबल आइएमई बैङ्कको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन्।
यो योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्।
यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिना देखि अधिकतम २ वर्ष सम्मको लक्ष्य राख्नुपर्ने हुन्छ।
ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।
यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सक्नेछन्।
मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ। साथै ग्राहकले आफूले इच्छाएको रकम समेत ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्न सक्नेछन्।
उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ। राउण्डअप सेभिङ्ग अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्युआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन्।
यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरू रहेका छन्। यस राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरूप सक्रिय तथा निस्किृय गर्न सक्नेछन्। साथै विकल्पहरू पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन्।
नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ। उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ।
फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ। जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ।
प्रतिशत विकल्प छनौट गर्दा हरेक क्युआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ। जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको क्युआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ। उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैङ्कले उच्चतम ब्याजदर प्रदान गर्नेछ।
यस योजनाअन्तर्गत बचत गर्नको लागि बैङ्कको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत सिधै बचत गर्न सक्नेछन्। साथै उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नुहुनेछ। साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङ्गबाट सञ्चालन गर्न सकिनेछ।
आफ्नो ‘गोल बेस्ड सेभिङ्ग’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत हेर्न सक्ने सुविधा समेत रहेको छ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैङ्क, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैङ्कको रूपमा सम्मानित बैङ्क हो।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.