विजयादशमी भगवान् रामको विजयोत्सव र राक्षस-देवी युद्धमा देवीको विजयको पर्वका रूपमा मनाउने गरिन्छ। यो शक्तिपूजाको पर्व हो। यसलाई शस्त्रपूजनको पर्व रूपमा पनि मान्ने गरिन्छ।
देवी दुर्गाले महिषासुर राक्षसको वध, चण्डमुण्ड र शुम्भ-निशुम्भमाथि विजय प्राप्त गरेको खुसीयालीमा मनाउन थालिएको हो। नवरात्र (आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म)भर चलेको यो युद्धमा देवीको विजय भएपछि नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ।
विधिवत् रूपमा दशैं घटस्थापनादेखि मात्र सुरु हुने भए पनि एक महिना पहिलेदेखि चहलपहल सुरु हुन्छ। पहिलेपहिले त नेवारी समाजमा मोहनी नखा: मान्ने चलन थियो। चिउरा मासु खाने, टाढाटाढाका आफन्तसँगै बसेर मान्ने थियो।
मोहनी नखा: लागेपछि पाहुना बस्न जान नहुने भन्ने चलन पनि थियो। घरपरिवारसँग नै चुलो छुटेको भए पनि दशैंका बेलासँगै बस्नु र खानुपर्ने चलन छ। दशैंमा ऊ बेला हाम्रा घर समाजमा नै छुट्टै रौनक देखिन्थ्यो। मिठो खाने खुवाउने, राम्रो लाउने, घर आँगन, बाटोघाटो, गाऊ टोल सफा सुग्घर राख्ने जस्ता कार्य यही दशैंमा गरिन्थ्यो।
रातो माटोले लिपेका घर होस् या कमेरोले पोतेको घर होस् छुट्टै सफा र एकरूपता देखिन्थ्यो। टाढा भिर पखेरामा राति नै उठेर रातो माटो,कमेरो लिन जानेको भिड देखिन्थ्यो जसका कारण दशैं आउन लागेको सङ्केत प्रस्ट थाहा हुने गर्थ्यो।
उ बेला दशैं केबल दशैमा मात्र सीमित थिएन, वर्ष भरिको भाइचारा, उत्साह र उमङ्गको समिश्रण थियो।
अझ भन्नु पर्दा स्कुलमा समेत सबै जना विद्यार्थीहरू मिलेर लिप पोत गर्ने, रङ्ग लगाउने गरेको हिजो जस्तो लाग्छ। त्यो बेला पढ्ने बेला खुला चौरमा पिङ खेल्दै अलग्गै अनुभव हुने गर्दथ्यो र त्यसबखत ठूलाठूला घर नभएकाले खुला चौरमा गएर चङ्गा उडाउने र कसको चङ्गा कहाँसम्म पुग्यो भनेर हेर्ने गरिन्थ्यो। त्यसले छुट्टै मज्जा र चाडपर्व आएको आभास दिने गर्थ्यो।
यस्तो महान् चाड दशैं आउने स्कुल बिदा दिने हुँदा होमवर्कसमेत धेरै शिक्षकले दिने गर्थे। तर छिटो छिटो होमवर्क सकेर खेल्न जाने, डुल्ने भन्ने मनमा कौतुहलता लागेर होला मन नै फुरुङ्ग हुने गर्दथ्यो। तर आजकलको दसैँ सीमित घर र इन्टरनेटको जमानाले गर्दा त्यो खालको रमाइलोपन कताकता कम भएको महसुस हुने गर्दछ। अझै दशैं नाममा मात्र सीमित देखिन्छ।
गाउँका ती पाखा पँधेरा, पखेरा कन्दराहरू, कोट र भन्ज्याङका देउरालीमा त्यो बेला रेडियो नेपालमा गुन्जिने मालश्री धुन टाढाटाढाबाट बजेको सुन्दा नै दशैं आएको थाहा हुन्थ्यो। गाउँ पूरा रमाइलो नै लाग्थ्यो।
बजार सब सुनसान। यसले नै दर्साउने गर्थ्यो- गाउँमा दशैं आयो। लाहुरेहरू छुट्टी मनाउन आफ्नो घर आउँदा होस् या सहरमा व्यवसाय गर्ने र पढ्ने विद्यार्थी गाउँ आउँदा नै किन नहोस्। उ बेला दशैं केबल दशैमा मात्र सीमित थिएन, वर्ष भरिको भाइचारा, उत्साह र उमङ्गको समिश्रण थियो।
गाउँ नै गाउँको देशमा गाउँलाई राज्यले सधैँ उपेक्षा गरेको भन्ने गुनासो भइरहँदा हामी नेपाली मात्रको एउटा मौलिक चाड दशैंले कहिल्यै उपेक्षा गर्न सक्दैन। बजारभन्दा कयौँ गुणा बढी आनन्द गाउँमा त्यो बेला हुने गर्थ्यो। समय र आधुनिकीकरणसँगै आजकल यस्ता चाडपर्वको मौलिकता लोप भएकोमा दुःख लाग्दछ।
दशैंको सांस्कृतिक पक्ष पनि छ। बलि दिने, घरमा रहेका धातु फलाम पूजा गर्ने, हिन्दु संस्कृतिमा वीरताको पूजक अनि शौर्यको उपासक पनि रहेकाले हर्षोल्लास तरिकाले मान्ने गरिन्छ। मान्यजनको आशीर्वाद लिने टीकाजमरा थाप्न टाढासम्म पुगेर राती एक्लै बसी कति पैसा उठ्यो भनेर गन्ने गर्दा मन अति खुसी हुने गर्थ्यो।
जसले धेरै दिन्छ उसकोमा अर्को दशैंमा टीका लगाउन जाने खालको परिपाटी नै बस्थ्यो। नयाँ कपडा लगाएर आफ्ना वरिपरि साथीसंगी भेट्ने र दशैंमा राम्रो फिल्म लगाउँछ भनेर हेर्न जाने गरिन्थ्यो। आजकल यो सब हराइसकेको छ।
दशैंलाई राष्ट्रिय चाड पनि भन्ने गरिन्छ। हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दसौँ दिन बिहान मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेपछि यो क्रमले पूर्णिमासम्म निरन्तरता पाउँछ। कतिपय स्थानमा दशमीका दिन मात्र टीकाप्रसाद ग्रहण गर्ने चलन पनि छ।
सामाजिक, सांस्कृतिक, धार्मिक चाडपर्व भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुताको प्रतीक हो भन्दा फरक पर्दैन। त्यसैले आपसी रिस-घमन्ड त्यागी परम्परा र संस्कृतिले सिकाएका राम्रा कुरालाई ग्रहण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै महान् चाडको उल्लासमा सहभागी भइरहन सकौँ। दशैंको शुभकामना।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.