काठमाडौं – जेनजी आन्दोलनका क्रममा असुरक्षित भएर नेपाली सेनाको ब्यारेकमा आश्रय लिन पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।
नेकपा एमालेको युवा सङ्घले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी भएका ओलीको अनुहार, प्रधानमन्त्रीको रूपमा देखिने जस्तो उज्यालो भने थिएन। उनले कार्यकर्तालाई डरभय नभई विचलित नहुन आग्रह गर्दै आफ्नो मनमा कुनै त्रास नभएको जस्तो देखाउन खोजे।
ओलीले जेनजी आन्दोलनले अघि सारेका मागलाई जायज भएको भन्दै, “म सर्वत्र भ्रष्टाचार रोक्ने प्रयासमै थिएँ,” भन्ने टिप्पणी गरे।
सामाजिक सञ्जाल बन्द गरेर ओली नेतृत्वको सरकारले आक्रोशलाई सडकमा आउन निम्तो दिएको थियो। सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको आक्रोश सडकमा पोखिन पुगेको थियो।
त्यही आक्रोशमा बहालवाला प्रधानमन्त्री ओली भदौ २४ गते ज्यान जोगाउँदै सरकारी निवासबाट भाग्नु परेको थियो।
शनिवार सशस्त्र प्रहरीको कडा सुरक्षा घेरामा सार्वजनिक भएका ओलीले “प्रधानमन्त्रीले गोली चलाउन आदेश दिन्छ मात्र होइन, थाहा नै पाउँदैन,” भन्दै आफूलाई दोषमुक्त देखाउन खोजे।

“जेनजीको कुनै दोष थिएन, उनीहरू त फर्कौँ फर्कौँ भनी आग्रह गर्दै थिए। तर केहीलाई घेरा हालियो,” उनले भने।
भदौ २३ गतेको जेनजी प्रदर्शनपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए। तर ओली भने, “देश खरानी भएर जलेपछि मात्र राजीनामा दिएर भागे।”
ओलीले कर्मचारीतन्त्रले कुनै सहयोग नगरेको आरोप लगाए। “देशमा भएको आर्थिक विकास कथा मात्र हो, वास्तविक उपलब्धि छ,” भन्दै उनले प्रस्टीकरण दिए। साथै, पत्रकारिता फिक्सनमा चलेको दाबी गर्दै उनले सञ्चार माध्यमहरूलाई चरित्र हत्या गर्ने ‘असत्य कथा रच्ने प्रवृत्ति’ को दोष लगाए।
उनले राष्ट्रिय झन्डा बोकेको जेनजी पुस्ताले सिंहदरबारमा आगो नलगाएको जिकिर गरे। “जेनजीले आगो लगाउँदैन, यो उनीहरूको काम होइन,” भन्दै उनले आन्दोलनकारीलाई निर्दोष ठहर गरे। उनले जेनजी घरघरमा रहेको बताए।
ओलीले आफू विदेश नभाग्ने घोषणा गर्दै सरकारले गठन गरेको जाँचबुझ आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे। साथै, शान्तिपूर्ण ढङ्गले बाँच्न पाउने अधिकारको वकालत गर्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भएको बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.