घनघोर वर्षा हुँदै थियो, चारैतिर हावाहुरी बतास चल्दै थियो, ठाउँ ठाउँमा चट्याङ्गको साथै कठोर प्रहारको चपेटा प्रकृतिले सहँदै थियो। मृत्यु लोकका सबै भूत–प्रेत–पिशाचहरू आफ्ना आश्रय लिने सुरक्षित ठाउँहरू नहुँदा यताउता रन्थनिएर भौँतारिँदै थिए।
मृत्यु लोकमा आफ्नो दयनीय, बिजोग सहन नसकी सबै मिलेर ब्रह्म लोकमा गए। हुनुनुनु ….. हा … हु … नुनु … नुनु… नुनु गड्याङगुडुङ…. गड्याङगुडुङ … जस्ता भयङ्कर तिनीहरूको आवाज र कर्याककुरुक कर्याककुरुक … जस्ता भयानक पदचापले ब्रह्मलोक नै डगमगायो!
ब्रह्मलोकको असन्तुलित वातावरणले ध्यानमा लीन भएका ब्रह्मजीको ध्यान भङ्ग भयो। जब ब्रह्माजीले आफ्नो अगाडि यस्तो अकल्पनीय, भयानक दृश्य देखे।
अनिष्ट, भयानक, उपद्रोको महसुस गर्दै आफ्नो ध्यानमा दखल पर्न गएको क्रोधलाई संयमित गर्दै, उनीहरूतिर सम्बोधन गरे— “हे मृत्यु लोकका बासीहरू आज अकस्मात् तिमीहरू यस ब्रह्मलोकमा आवेगका साथ आउनुको खास कारण के हो? पृथ्वी लोकको सृष्टि भएदेखि आजसम्म तिमीहरूको आगमन यस लोकमा भएको मेरो बोधार्थमा छैन। अवश्य नै तिमीहरू कुनै विपत्ति, आपदबाट ग्रसित छौ। त्यसकारण निर्धक्क, निसंकोच आफ्ना समस्याहरू भन्नू! म हरसम्भव, समाधान गर्नेछु।”
आफ्नो ध्यान भङ्ग भएता पनि आफूहरू प्रति यसरी उद्धार भावना र सहानुभूति दर्साएको हुनाले तिनीहरूले पनि निर्धक्कका साथ— “ब्रह्माजी, हामीलाई बचाउनुस् हामीलाई बचाउनुस्!” भनी एकै साथ पुकारे, गुहार माग्न थाले।”
तिनीहरूको आन्तरिक, दयनीय पुकार सुनेर ब्रह्मजीले भने— “पृथ्वी लोकमा तिमीहरू जस्ता बलवान्, मानवलाई त्राहि त्राहि बनाउन सक्नेहरू आज यो अवस्थामा कसरी भए, स–विस्तार वर्णन गर।”
ब्रह्माको सोधाइले सबै एकै स्वरमा भन्न थाले— ”पृथ्वी लोकमा मानवको विकासले गरेर हर एक मठ, मन्दिर, घाट, मसानहरूमा बिजुलीको ठुलो प्रबन्ध भए, ठुलो प्रबन्ध भए!”
उनीहरूको कुरालाई बिचैमा रोकेर ब्रह्माजीले भन्न थाले— “बिजुलीको प्रबन्ध हुनु त राम्रो नि, त्यसले गर्दा सबै ठाउँमा अन्धकार हुनबाट बचाएर उज्यालो प्रकाश झर्छ, जसले गर्दा हरेक मानव, जीव–जन्तुलाई सुविधाहरू राम्रो हुन्छ।”
ब्रह्माजीको प्रवचन सुनेर सबै एकै स्वरमा भन्न थाले— “ब्रह्माजी— जुन कुरा मानवको लागि वरदान बन्यो त्यही हाम्रो लागि अभिशाप हुन पुग्यो ब्रह्माजी, ब्रह्माजी!!!”
उनीहरूको कुरा सुनेर ब्रह्माजी तीन छक्क पर्दै सोध्न थाले— “किन अभिशाप भयो!! किन अभिशाप भयो!!!”
सबैले एकै सासमा दुःखी साथ लामो सुस्केरा हालेर आफ्ना दुःख व्यक्त गर्न थाले— “मठ–मन्दिर, घाट, मसानघाट आदि ठाउँमा उज्यालो हुँदा त्यहाँ आजकल धेरै जसो युवा पीढीहरू Drug खान,अनैतिक काम गर्न र खराब बाटोमा लागेका मानवहरू पनि त्यस्ता ठाउँमा आफ्ना डेरा गरेर जमघट गरी समय बिताउन लागे।उज्यालो हुँदा हामी अन्धकारमा बस्नेहरूलाई धेरै नै वासस्थानको समस्या भयो। यसर्थ— हे प्रभुब्रह्माजी हामीलाई मृत्यु लोकमा वासस्थानको बन्दोबस्त गर्नु पर्यो, गर्नु पर्यो।”
उनीहरूको आत्माको चित्कार, आत्माको पुकार सुनेर ……ब्रह्माजीले तत्काल आँखा बन्द गरेर ध्यानमग्न भएर पृथ्वी लोकतिर दृष्टि दिन थाले।
“पृथ्वीमा विज्ञानको चरम विकासले गर्दा जहाँ पनि विद्युत्को पहुँचले गर्दा पृथ्वी लोक नै “प्रकाश पुञ्ज”को संसार जस्तो देखे। घाट र मसानघाटहरू त भयानक र पिलीपिली लासको आगोको प्रकाश हुनुपर्ने ठाउँमा त ठुला ठुला बत्तीहरू र मानवहरू बस्न हुने ठाउँहरूका साथै मठ–मन्दिरहरू त एक से एक प्रकाशले जाज्वल्यमान भएर गोचर भए। पृथ्वीको अवस्था देखी ध्यानबाट मुक्त भएर ब्रह्मजीले भन्न थाले— “तिमीहरूको समस्या मैले आफ्नै ध्यानबाट देखेँ। यसर्थ, मेरो लागि मानवदेखि दानव र जलचर, नभचर, थलचर उभयचर र तिमीहरू सबै मृत्यु लोकका बासीहरू मेरै सन्तान हुन्। तिमीहरू सबैको कल्याण हुने काम गर्नु मेरो धर्म र कर्तव्य हो।”
“अब म तिमीहरूलाई एउटा सल्लाह र आश्वासन दिन्छु, अब उप्रान्त पृथ्वी लोकमा जन्मने मानवहरू सबैको शरीरमा तिमीहरूको बास हुनेछ, तिमीहरूलाई कसैले, तिमीहरूको त्यो ठाउँबाट हटाउन सक्दैन, यसर्थ, अबदेखि जुन जुन मनुष्य जन्मने छ, त्यसमा समाउनु प्रवेश गर्नु, आफ्नै प्रकारले त्यो मृत्यु लोक चलाउनु।”
यति भन्दै ब्रह्माजी फेरि ध्यानमा लीन भए।
ब्रह्माजीको ठुलो आश्वासनले भूत, प्रेत, पिशाचहरू सबै खुसी हुँदै मृत्यु लोकमा सदाका लागि मानवका शरीरभित्र प्रवेश गरेर आफ्ना हैकम चलाउन थाले।
सायद, केही अपवाद बाहेक बुढापाका भन्थे, यो कलीकै प्रभाव हो, आजका मानवमा दया, माया, प्रेम, आदर आदि धार्मिक, मानवीय भावना नै छैन केवल लाग्छ सबैको मनभित्र दानव विचार, सबैलाई भूत, प्रेत पिशाच जस्तै बनेर एक अर्काप्रति तर्साउने, दुःख दिने मात्र विचारले व्यापकता पाएको छ।
मेरो यो कथन, विचार राम्रो लागे धन्यवाद भन्नुस्, हैन भने सल्लाह र सुझाव दिनुहोस्।
(लेखक रीतादेवी प्रधान (जोशी) रुमाठ क्यालिफोर्निया, सानफ्रान्सीस्क निवासी हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.