"/>
काठमाडौं – सर्वोच्च अदालतले विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका २०८२ जारी गरेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकबाट असोज ५ गते पारित निर्देशिका जारी भएको हो।
भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले तोडफोड र आगजनी गरेपछि नष्ट भएका मिसिल प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका जारी भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
नष्ट भएका मिसिल भन्नाले अदालतमा विचाराधीन वा फैसला भई फैसलाको पूर्ण पाठ तयार हुन बाँकी रहेका वा फैसला कार्यान्वयनको क्रममा रहेको वा अभिलेखको रूपमा रहेका मुद्दाको मिसिलमा रहेका कागजातहरू आंशिक वा पूर्ण रूपमा क्षति भएको अवस्थालाई सम्झनु पर्नेछ।
मिसिल कागजात भन्नाले अदालतमा कारबाहीका क्रममा रहेको वा फैसला भइसकेको कुनै मुद्दामा रहेको वा अभिलेख मिसिलमा रहेका कागजातलाई सम्झनु पर्छ र सो शब्दले मुद्दाका पक्षले पेस गरेको कुनै कागजलाई समेत जनाउँछ। निर्देशिकामा लेखिएको छ, मुद्दा भन्नाले देवानी, फौजदारी, रिट लगायतका सम्पूर्ण मुद्दालाई सम्झनु पर्छ र सो शब्दले अदालतमा रहेका निवेदन प्रतिवेदनसमेतलाई जनाउँछ।
जेनजी आन्दोलनको नाममा अराजक समूहले तोडफोड र आगजनी गर्दा सर्वोच्च अदालतका महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन्। जसलाई अदालतले विशेष परिस्थिति भनेको छ। विशेष परिस्थिति भन्नाले प्राकृतिक प्रकोप, आगजनी, तोडफोड र लुटपाट वा अन्य कारणबाट कुनै अदालतमा रहेको मिसिलहरू नष्ट भएको अवस्थालाई सम्झनु पर्ने निर्देशिकामा उल्लेख छ।
कारबाहीको चरणमा रहेका, फैसला भई फैसलाको पूर्ण पाठ तयार हुन बाँकी रहेका वा फैसला कार्यान्वयनको चरणमा रहेका वा फैसला कार्यान्वयनको काम समेत सम्पन्न भई अभिलेखको रूपमा रहेका गरी के कुन चरणका हुन् सो आधारमा, नष्ट भएका मिसिलहरूको विवरण तयार भए पछि सम्बन्धित अदालतको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। त्यस्तो विवरणको एक प्रति महान्यायाधिवक्ताको कार्यालय वा सम्बन्धित सरकारी वकिल कार्यालय र नेपाल वार एसोसिएसन वा एसोसिएसनको सम्बन्धित एकाइलाई पनि उपलब्ध गराउनु पर्नेछ।
नष्ट भएका मिसिल कागजातहरूको प्राप्तिका लागि समय तालिका बनाउने निर्देशिकामा भनिएको छ। अदालतले नष्ट भएका मिसिलहरूको प्राप्ति र प्रमाणीकरण गर्न लाग्ने समयावधिलाई बिचार गर्नुपर्नेछ। समय तालिका प्रकाशन गर्दा तोकिएको अवधिसम्म म्याद तारेख नगुज्रने कुरा समेत उल्लेख गर्नुपर्नेछ।
निर्देशिका अनुसार नष्ट भएका मिसिलसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन आवश्यकता अनुसार ६० दिनको समयावधि प्रदान गर्न सकिनेछ। यसका लागि सम्बन्धित मुद्दाका पक्षहरू, सरकारी वकिल कार्यालय, कानुन व्यवसायी र अन्य सम्बद्ध सरोकारवाला निकायहरूलाई अनुरोध गरी सम्बन्धित अदालतको वेबसाइट वा अन्य सञ्चारमाध्यममा सूचना प्रकाशन प्रसारण गर्नुपर्नेछ।
नष्ट भएका मिसिलसँग सम्बन्धित कागजातहरू अन्य कुनै निकाय वा व्यक्तिहरूबाट प्राप्त हुने अवस्था देखिएमा ती निकाय र व्यक्तिहरूसँग पनि सम्बन्धित कागजातहरू उपलब्ध गराउन अदालतले अनुरोध गर्न सक्ने निर्देशिकामा उल्लेख छ।
नष्ट भएका मिसिलहरू प्राप्ति गर्दा आधार मान्न सकिने स्रोतहरू निर्देशिकामा खुलाइएको छ। कुनै अदालत वा निकाय समक्ष रहेको मुद्दा सम्बन्धी कागज, अभिलेखको प्रतिलिपि, सर्वोच्च अदालत तथा अन्य सरकारी निकायका वेबसाइटमा अपलोड गरिएको फैसला तथा कागजातहरूलाई स्रोत मान्न सकिने निर्देशिकामा लेखिएको छ।
अदालतको कार्यसम्पादनको क्रममा न्यायाधीश तथा कर्मचारीसँग रहेका कागजातहरू, विभिन्न अदालतहरू, अन्य सरकारी निकायहरू र न्यायाधीश तथा इजलास अधिकृतहरुबीच विद्युतीय माध्यमबाट आदानप्रदान भएका कागजातहरू स्रोतका रूपमा रहनेछन्।
जुनसुकै स्रोतबाट प्राप्त तीन कागजातहरूको छपाइ प्रति राखी प्रतिलिपि मिसिल तयार गर्नुपर्नेछ। निर्देशिकामा मिसिल फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
कुनै सक्कल मिसिल वा कागजात कारणवश अदालत बाहेकका अन्य निकाय वा कुनै पदाधिकारी वा व्यक्तिसँग रहन गएको रहेछ भने दफा ५ बमोजिम प्रकाशित सूचनाको अवधिभित्र सो मिसिल सम्बन्धित अदालतमा फिर्ता गर्नु त्यस्तो निकाय, पदाधिकारी वा व्यक्तिको कर्तव्य हुनेछ।
मिसिल फिर्ता गरेको कुरा आवश्यकता अनुसार गोप्य राखिनेछ र यस विषयलाई कानुनी कारबाहीको विषय बनाइनेछैन, निर्देशिकामा लेखिएको छ।
प्राप्त गरेका कागजातहरूको आधिकारिकता, सान्दर्भिकता र विश्वसनीयता जस्ता पक्षहरूलाई विचार गरी मिसिल प्रमाणीकरण गरिनेछ। प्रमाणीकरण गर्दा मुद्दाका पक्षहरू, कानुन व्यवसायी, सरकारी वकिल कार्यालय वा अन्य निकायबाट प्राप्त कागजातहरू एकापसमा भिडाउने, सनाखत गराउने लगायतका आवश्यक र उपयुक्त उपाय अवलम्बन गर्न सकिने भनिएको छ।
प्रमाणीकरण भएको मिसिललाई सक्कल मिसिल सरह मानी सोही मिसिलको आधारमा मुद्दाको कारबाही, फैसला, फैसला लेखन, फैसला कार्यान्वयन र अभिलेखको व्यवस्थापन लगायतका अन्य कामहरू गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
फैसला भई फैसलाको पूर्ण पाठ तयार हुन बाँकी रहेको वा फैसला तयार भई विद्युतीय प्रणालीमा अपलोड हुन बाँकी रहेको अवस्थामा मिसिलहरू नष्ट भएको रहेछ भने निर्देशिकाबमोजिम प्रतिलिपि मिसिल खडा गरी प्रमाणीकरण भएको मिसिल कागजातको आधारमा फैसलाको पूर्ण पाठ तयार गरी प्रमाणित गर्न सकिनेछ।
नष्ट भएका मिसिलहरूको कागजात प्राप्ति र प्रमाणीकरणका विषयमा निर्देशिकामा लेखिएका कुराहरू सामान्य मार्गनिर्देशनका रूपमा रहनेछन्। निर्देशिकामा उल्लेख नभएको विषयमा इजलासबाट उपयुक्त आदेश गर्न वा सम्बन्धित अदालतबाट उपयुक्त लागेका अन्य उपायहरू अवलम्बन गर्न सकिने भनिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.